काठमाडौं। बाह्य क्षेत्रमा आएको सुधारले सेयर बजारमा सकारात्मक सुधार देखिएको छ। सुस्ताएको अर्थतन्त्र निर्वाचनले भाइब्रेण्ट बनाउने प्रक्षेपणबीच शोधनान्तर बचतमा गएको तथ्यांक सार्वजनिक भएको भोलिपल्छ सेयर बजारमा उत्साह पुन: फर्किएको हो।
एकातिर रेमिटेन्स बढ्ने र अर्कोतिर आयात घटेका कारण १४ महिनापछि शोधनान्तर बचतमा गएको छ। विदेशी मुद्राको सञ्चितिमा पनि सुधार आएर एक वर्षपछिको उच्च छ। सञ्चिति ९.६ महिनाको वस्तु र ८.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ।
राष्ट्र बैंकले आर्थिक अवस्था सुधारउन्मुख रहेको तथ्यांक बुधबार सार्वजनिक गरेको थियो। बुधबार १३ अंकको वृद्धिलाई पछ्याउँदै बिहीबार पनि सेयर बजार फराकिलो अंकले उक्लिएको छ। आज पनि २५.५७ अंकले बजार बढेको छ।
विदेशी मुद्राको सञ्चितिमा आएको उत्साहजनक सुधार तथा शोधनान्तर स्थिति बचतमा पुगेको तथ्यांकसँगै बैंकिङ तरलतामा पनि सुधारका संकेत देखिन थालेका छन्। विकास बैंक र फाइनान्सले ब्याज दर नै घटाएका छन्। यसले वाणिज्य बैंकहरुलाई पनि दबाब दिने छ।
अर्कोतिर व्यवसायीको टाउको दुखाइ बनेको चालु पुँजी कर्जासम्बन्धि व्यवस्थामा केही नरम हुने संकेत राष्ट्र बैंकले गरेको छ। जारी भइसकेको निर्देशनमा पनि पहिलो पटक राष्ट्र बैंकले सुझाव माग्दै संशोधनको संकेत गरेको हो।
समष्टीगत माग घटेर अर्थतन्त्र 'सुस्त' हुँदा शोधनान्तरमा सुधार देखिएको हो। अहिले पनि चार वस्तुको आयातमा कडाइ छ। ब्याज दर उच्च नै छ। यसबीच अर्थतन्त्रमा सुधारका संकेत मात्र देखिएका छैनन् निर्वाचन लगत्तै राजनीतिक मुद्दा आर्थिकतिर फर्किने छ। यसले पनि लगानीकर्ताको मनोबललाई प्रभावित गरेको छ।
ब्याजदर उच्च रहे पनि चुनावी कारणले भएका खर्चका कारण तरलतामा सुधार देखिन थालेको छ। आर्थिक गतिविधिलाई टेवा दिने गरी तरलता उपलब्ध हुने संकेत सबै पक्षले गरेको छ। सीडी रेसियो साँघुरिएको छ। र, बैंकहरुले राष्ट्र बैंकबाट लिने गरेको स्थायी तरलता सुविधा (एलएलएफ) मा पनि कमी आएको छ। यसले लगानीयोग्य रकमको उपलब्धता बढेर गएको संकेत गरेको छ।
अर्थतन्त्रका सूचक प्रगतिशील हुने र तरलता बढ्दा कर्जा सहज हुने प्रक्षेपणले लगानीको मनोविज्ञानलाई सोझै प्रभाव पार्छ। इन्भेष्टमेन्ट मेन्टालिटी विकास हुनु लगानीको विकल्प खोज्दै सेयर बजारमा पनि पैसा भित्रिनु हो।
सेयर परिसूचकसहित वृद्धि भएको कारोबारले पैसा सेयर बजारमा भित्रिन थालेको स्पष्ट देखाउँछ। साथै सेयरहरुको मूल्य बढ्दा समग्र पुँजीकरण पनि बढेको छ। बजारमा आपूर्तिभन्दा मागको अनुपात बढ्दो देखिन्छ।
'समग्र अर्थतन्त्रमा सुधार आउने संकेतकै कारण बजार उकालो लागेको' अधिकांश लगानीकर्ताको विश्लेषण छ। बजारमा १ अर्ब ७१ करोड रुपैयाँको सेयर कारोबार भएको छ। निर्वाचनअघिको आज अन्तिम कारोबार हो। अब बजार एकै पटक मंगलबार मात्र खुल्ने छ।


