भारतदेखि नेपालसम्म इलेक्ट्रिक कारमा १८ दिनमा ६ हजार किलोमिटर यात्रा, लक्ष्य २५ हजार किमि



२०७९ मंसिर १ गते १७:२० | Nov 17, 2022


भारतदेखि नेपालसम्म इलेक्ट्रिक कारमा १८ दिनमा ६ हजार किलोमिटर यात्रा, लक्ष्य २५ हजार किमि


काठमाडौं। इभीमा यात्राबारे तपाइँलाई के लाग्छ ? कति किलोमिटरसम्म बाधारहित यात्रा गर्न सक्नुहोला ? नयाँ प्रविधिको गाडी, बाटोमा चार्जिङ प्वाइन्ट भेटिन्छ/भेटिन्न। चार्ज सकिएर अलपत्र पो परिने हो की ! यस्ता सोचाइ स्वाभाविक हो। इभी प्रयोगकर्तालाई उत्साह जगाउने एउटा खबर छ।

Tata
Global Ime

दुई भारतीय युवा इभीमा २५ हजार किलोमिटर यात्राको लक्ष्य लिएर पुनेबाट गत कात्तिक १४ गते निस्केका थिए। उनीहरु नेपाल आइपुगे। शनिबार केही घन्टा अघि मात्रै सिक्किम पुगेका छन्। सामाजिक सञ्जालमा उनीहरु आफ्नो यात्रा बारे बताइरहेका छन्।

डिजल-पेट्रोल इन्जिनका गाडीलाई मात्रै पत्याउनेको भीडमा उनीहरुको इभी यात्राको कथा रमाइलो छ। लामो दुरीको यात्रा कस्तो रह्यो भन्नेमा उनीहरु काठमाडौं आइपुग्दा अनुभव साटेका थिए। 

इभी ग्रुपले बनाएका दुई साथी आशिष र प्रफुल्ल। जीवनका नियमित उतारचढावलाई छाडेर छुट्टै केही गर्ने चाहना। नयाँ ठाउँ, नयाँ मानिससँग आफूलाई एक्स्प्लोर गर्ने इच्छा। त्यसमा पनि नयाँ प्रविधिलाई अँगाल्ने, त्यो चुनौती स्वीकार गर्ने शक्ति भएका साथीहरुको फरक देश र फरक भूगोलमा यात्रा गर्ने योजना।

यात्राको साधन विश्वले भर्खरै अपनाइरहेको नयाँ प्रविधिको विद्युतीय सवारी। इभीमा २५ हजार किलोमिटर यात्राको योजनामा निस्किएका  उनीहरु नेपाल आइपुगेका छन्। काठमाडौंबाट बाहिर गए चार्ज गर्न समस्या परेर इभीले अप्ठ्यारो पर्छ की भन्ने दुविधा उपत्यकाका सवारी प्रयोगकर्तालाई छ। तर दुई यात्रीको अनुभवले भने निराश पार्दैन।

यात्राको सिलसिलामा दुई यात्रीले आफ्ना केही अनुभव साटेका छन्। उनीहरुको बुझाइमा विद्युतीय गाडी प्रयोगका लागि वातावरण सहज बनिरहेको छ।

हाम्रो वातावरण दिनानुदिन प्रदूषित हुँदै गइरहेको छ। हाम्रा सहरहरूमा हावाको गुणस्तर दिनानुदिन घट्दै गएको छ जसले मानिसहरू र हामी बस्ने वातावरणलाई असर गर्छ। हामीले कार्बन-निर्भर यातायात प्रणालीबाट सफा र स्मार्ट गतिशीलता प्रणालीमा परिवर्तन गर्ने समय आएको छ।

इभीले सफा गतिशीलताका लागि हाम्रो आवश्यकताहरू पूरा गर्न सक्छ र एकै समयमा स्वच्छ हावा र कम ध्वनि प्रदूषणसहित धेरै सार्वजनिक स्वास्थ्य लाभहरू प्रदान गर्दछ। यसैले उनीहरु मानिसहरुलाई यस बारेमा चेतना जगाउन यात्रा थालेको बताउँछन्।

विद्युतीय कारका सौखिन आशिष अरोरा प्रयोगकर्ताहरु खोजेर सूचना र जानकारी आदानप्रदान गर्न इभी ग्रप संचालन गर्छन्। यो ग्रुपमा नेपाली इभी प्रेमीहरुको पनि सहभागिता छ। त्यही ग्रुपमा हैदरावादका प्रफुल्ल कोल्हेलाई आशिषले भेटेका थिए।

विद्युतीय सवारीमा लामो दुरीको यात्रा गर्न पनि हाल काहालीलाग्दो समय छ। मानौं हामी पोखरा जानु पर्‍यो भने पनि अझै इभीमा भन्दा इन्धन सवारीमा ढुक्क महसुस गरिन्छ। तर २५ हजार किलोमिटर यात्रा इभीमा नै भन्ने सुन्दा अनौठो सुनिन्छ।

मानिसहरुको पनि आ- आफ्नै सपनाहरु हुन्छन्। यस्तै छुटै सपना भएका आशिष र प्रफुल्लले इभीलाई प्रवर्द्धन गर्न यो यात्रा सुरु गरेका हुन्। यात्रामा भारतदेखि नेपाल हुँदै भुटानबाट फेरि भारत फर्किने योजना छ। त्यही अनुरुप सुरु भएको यात्रामा उनीहरु १८ औं दिनमा नेपाल आइपुगेका हुन। भारतबाट यहाँसम्म आइपुग्दा उनीहरुले लगभग ६ हजार किलोमिटर दुरी पार गरिसकेका छन्।

मानिसहरु प्राय ६ हजार किलोमिटर ६ महिनाको समयमा पनि पार गर्न सक्दैनन। उनीहरुले यो १८ दिनमा पुरा गरेका छन्, त्यो पनि टाटाको एसयुभी नेक्सन इभी म्याक्समा। टाटाको यो गाडी नेपाल आइसकेको छैन। कम्पनीले यो लामो दुरीका लागि भनेर तयार पारेको मोडल हो।

हाल मानिसहरु सेडानभन्दा एसयुभी सेगमेन्टका गाडीहरु खरिद गर्न आकर्षित भइरहेका छन्। यसमा पनि मानिसहरुको विभिन्न सेलेक्टिभ फिचर्सहरुका आधारमा गाडी खरिद गर्ने गरिन्छ।

यात्रामा रहेका आशिष अरोरा भन्छन,'मानिसहरुको जीवन पृथ्वीमा रहेको हावासँग बाँचेको हुन्छ। त्यसका लागि हावा स्वच्छ राख्नु मानिसको दायित्व हो। यसका लागि एउटा सानो हिस्सा ट्रान्स्पोर्टेसनको योगदान छ। त्यसैले इभी अपनाउनु भनेको खर्च मात्र कम गर्नु नभइ जीवन केही समय धेरै बाँच्नु पनि हो।'

उनले यसै अवधारणाका साथ दुई वर्षदेखि इभी चलाइरहेका छन्। यसले उनको खर्च मात्र होइन, दैनिकी नै परिवर्तन गरेको बताउँछन्। उनले इभी किन्दा भारतमा पूर्वाधार हालको जसरी निर्माण भएका थिएनन्। उनीहरुले यो यात्रा गर्दा इभीका लागि आवश्यक पूर्वाधार कमी भएको महसुस नभएको बताउँछन्।

'हामीले ६ हजार किलोमिटर यात्रा गर्दा कतै पनि त्यस्तो महसुस भएन की चार्जिङ स्टेसन नहुँदा समस्या होला,' आशिषले भने, 'तर चार्जिङ स्टेसनका लागि आवश्यक एप भने एकै खालको पाइएन। त्यसमा केही समस्याहरु थिए। तर त्यो इभी प्रयोगकर्ताको लागि ठूलो समस्या थिएन।'

यस्तै प्रफुल्ल कोल्हे यस यात्राका अर्का सहयात्री हुन। उनीहरु दुवै जना पालैपालो ड्राइभ गर्छन्। यसले पनि उनीहरुलाई यो यात्रा सहज बनाएको छ। उनले विद्युतीय सवारी प्रति आम मानिसको चासो र कम्पनी तथा सरकारले चार्जिङ स्टेसनको निर्माणमा प्रथामिकता दिएकोमा खुशी व्यक्त गरे। 'जुन अहिले इभीमा यात्रा गर्ने मानिसको मुख्य चासोको विषय पनि हो,' उनी भन्छन्, 'यही कुराले इभीमा यात्रा गर्न सामान्य बनाइरहेको छ।'

यो यात्रा पनि यसैमा आधारित रहेर योजना बनाइएको छ। उनीहरु आफू यात्रा गर्ने रुटहरुमा चार्जिङ स्टेसनको उपलब्धता तथा अन्य कुराहरु नोट गर्दै यात्राको लागि रुट म्याप तयार पारेको बताउँछन्।

यसमा पनि केही गरी यात्राका कम्रमा गाडी कतै फस्दा समेत केही समस्या नहुने उनीहरु बताउँछन्। 'किनभने हाल यस्तो समस्याका बेला कम्पनीहरु आफै जिम्मेवार भएर गाडीको हेरचाह गर्दछ। त्यसैले पनि यात्रा गर्न ढुक्का भएका हौं,' उनीहरुले भने।

इभीका लागि इकोसिस्टमको विकास देखियो

प्रफुल्लले यात्राका क्रममा देखेका टाटाको इभि इकोसिस्टम राम्रो भएको विश्वास गरेका छन्। 'मैले सुनेको मात्र थिए तर यो कुरा साँच्चिकै सत्य रहेछ,' उनले भने, 'टाटाले यस्तै प्रवृत्तिको इकिसिस्टमको विकास गरेकाले हाल भारत र नेपालमा टाटा इभिका लागि लिडिङ बन्न सफल भएको छ। यो सबै टाटा मोटर्सले उत्कृष्ट इभि इकोसिस्टम सिर्जना गर्न देखाएको प्रतिबद्धताको प्रतीक हो।'

उनीहरुको यो यात्रा गर्नुको प्रमुख लक्ष्य भारत, नेपाल र भुटानभित्र इभीको लागि कस्तो इकोसिस्टम तयारी भइरहेका छन् र हाम्रो जस्तो मिल्दोजुल्दो भूगोलमा इभि प्रतिको नराम्रो मिथलाई बदल्नु थियो।

उनीहरुले हाल सिद्धार्थनगर हुदै काठमाडौं, लहान र जनकपुरसम्म इभीमा यात्रा गरेका थिए। यो यात्रामा उनीहरुले कुनै किसिमको कठिनाई भोग्नु नपरेको बताउँछन्। सिप्रदीले निर्माण गरेको चार्जिङ स्टेसनबाट उनीहरु खुसी थिए। उनीहरुले भारतमा भन्दा नेपालमा इभी चलाउन वा यसमा यात्रा गर्न सहज वातावरण भएको बताए। 'इभीका लागि भारतको भन्दा राम्रो इकोसिस्टम नेपालमा तयार भएको देखियो,' आशिषले भने।

तर उनीहरुले नारायणघाट सडकमा भने धेरै सास्ती भोग्नु परेको अनुभव बताए। 'सडकका कारण भएको समस्यालाई हामीले इभीले दिएको समस्या भन्न मिल्दैन,' दुवैले भने, 'यसले रेन्जमा केही कमी आएको उनीहरु स्वीकार गर्छन्। इभिमा यात्रा गर्न पनि सडकको अवस्थाले धेरै फरक पार्ने रहेछ।'

उनीहरुले यो यात्रालाई सामान्य यात्राका रुपमा लिएका छन्। उनीहरुले यो यात्रामा हरेक पलको आनन्द लिइरहेको बताए। उनीहरु अब नेपालबाट भुटान जाने योजनामा छन्। त्यसपछि उनीहरुले पुनः भारत फर्किने रुट सेट गरेका छन्।