
काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले सेयरधनीलाई दिने लाभांश अघिल्लोपटकका तुलनामा घट्ने भएको छ। लगानीकर्तालाई गत वर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
अघिल्लोपटक बैंकले १३.६८ प्रतिशत लाभांश दिएको थियो। बैंक संचालक समितिको मंसिर २ गते भएको ४३५ औँ बैंठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
लाभांशमध्ये बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको ९ प्रतिशतले हुने २९ करोड ५५ लाख बराबरको नगद लाभांश वितरण गर्ने छ भने ३ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो।
बैंकले सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गर्ने छ।
अघिल्लो आर्थिक वर्ष अर्थात २०७७/७८ मा बैंकले १३ प्रतिशत बोनस सेयर तथा ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।