नेप्से परिसूचक लयमा फर्किएपनि खुम्चियो कारोबार, प्रतिफल दिनसक्ने कम्पनीमा आकर्षण



बिजमाण्डू
२०७९ मंसिर ८ गते १५:२२ | Nov 24, 2022


नेप्से परिसूचक लयमा फर्किएपनि खुम्चियो कारोबार, प्रतिफल दिनसक्ने कम्पनीमा आकर्षण


काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावपछि विहीबार पहिलो पटक नेप्से परिसूचक लयमा फर्किएको छ। निर्वाचनपछि सेयर बजार खुले लगत्तै मंगलबार र बुधबार करिब १५ अंकले घटेको बजार आज लयमा फर्किएको हो।

Tata
Global Ime

विहीबार १९२२.७२ बिन्दुबाट सुरु भएको बजार १९३३.५५ बिन्दु माथि आएर बन्द भएको हो। साताको अन्तिम कारोबार दिन विहीबार नेप्से परिसूचक दोहोरो अंकले अर्थात ११.५६ अंकले बढ्दै हरियाली भएर बन्द भएको छ।

तर निर्वाचनपछि परिसूचक लयमा फर्किएपनि कारोबार रकम भने खुम्चिएको छ। विहीबार दिनभर २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा ९२ करोड बराबरको कारोबार भएको हो। कारोबार पछिल्लो चार कारोबार दिन यताकै सर्वाधिक कम हो।

अघिल्लो दिन अर्थात बुधबार नेप्से परिसूचक ७.७१ प्रतिशतले घटेपनि १ अर्ब २ करोड माथिको सेयर कारोबार भएको हो। लाभांश घोषणा गरेका तथा लाभांश घोषणा गर्न बाँकी रहेका विभिन्न क्षेत्रका कम्पनीका सेयरमा खरीदकर्ताको आकर्षण देखिएको छ। जसकारण १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको शाइन रेसुङा डेभलपमेन्ट बैंकको कारोबार उच्च भएको छ।

विहीबार कम्पनीको ७ करोड ६२ लाख बढीको सेयर किनबेच भएको हो। यस्तै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न बाँकी रहेको सेयर बजारको ब्लूचिप मानिने हिमालयन डिष्ट्रिलरीको पनी ६ करोड माथिको सेयर किनबेच भएको हो।