शेखरले लालबाबुसँग लिए अघिल्लो चुनावको बदला, भारी मतान्तरसहित संसदमा ‘इन्ट्री’



बिजमाण्डू
२०७९ मंसिर ९ गते ०९:२३ | Nov 25, 2022


शेखरले लालबाबुसँग लिए अघिल्लो चुनावको बदला, भारी मतान्तरसहित संसदमा ‘इन्ट्री’


विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला भारी मतान्तरका साथ प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन्। नेकपा (एमाले)का लालबाबु पडितलाई १२ हजार २८६ मतले पछि पार्दै कोइराला मोरङको क्षेत्र नम्बर ६ बाट चुनिएका हुन्।

Tata
Global Ime

यसअघि २०७४ को निर्वाचनमा उनै लालबाबुले कोइरालालाई ६७५ मतले जितेका थिए। निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार डा कोइरालाले ३५ हजार २१८ मत प्राप्त गर्दा लालबाबुले २२ हजार ९३२ मत पाए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधानले ९ हजार ५७१ र राप्रपाका गोपाल क्षेत्रीले ८ हजार ८२९ मत ल्याएका छन्।

राजनीतिक परिवारमा जन्मिएका कोइराला विद्यार्थी कालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय थिए। विद्यार्थी कालमा पञ्चायती सरकारले उनलाई धेरै पटक पक्राउ गरेको थियो। पछि उनले चिकित्सालाई मुख्य पेसा बनाए। उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ कार्यकालसम्म उपकुलपति भए।

धरानबाट अवकाश ग्रहण गरेपछि उनी २०५८ सालदेखि फेरि सक्रिय राजनीतिमा आए। उनले माओवादीसित वार्ता, शान्तिसम्झौता र १२ बुँदे समझदारीका लागि निर्णायक भूमिका गरेका थिए।

कात्तिक ३० गते मोरङको सुन्दर हरैँचामा आयोजित चुनावी सभामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहलले शेखरको प्रशंसा गर्दै भनेका थिए, ‘डा कोइरालाले गिरिजाबाबुको दाहिने हात बनेर शान्ति सम्झौता र १२ बुँदे समझदारी निर्माण गर्न योगदान गर्नुभयो। उहाँको सुझबुझपूर्ण योगदान र समर्पण नभएको भए शान्तिप्रक्रियाले त्यति छिटै र त्यस रूपमा मूर्त रूप पाउँथ्यो कि पाउँदैनथ्यो भन्ने कुरामा शङ्का छ।’

कोइराला २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा सोही निर्वाचन क्षेत्रमा तत्कालीन मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारसित पराजित भएका थिए। लगत्तै सोही क्षेत्रमा २०६५ सालमा भएको उपनिर्वाचनमा उनी विजयी भए। दोस्रो संविधानसभा २०७० मा उनले तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारलाई पराजित गरे। तर, २०७४ मा भने एमालेका पण्डितसित हार्नुपर्‍यो।