धादिङको आँखुखोलामा २० मेगावाटको हाइड्रोपावर बन्ने, उत्पादन अनुमतिका लागि आवेदन 



बिजमाण्डू
२०७९ मंसिर ९ गते ११:१० | Nov 25, 2022


धादिङको आँखुखोलामा २० मेगावाटको हाइड्रोपावर बन्ने, उत्पादन अनुमतिका लागि आवेदन 


काठमाडौं। धादिङको आँखुखोलामा पहिचान भएको २० मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ। गणेश हिमाल हाइड्रोपावर प्रालिले आयोजना निर्माणको प्रक्रिया अघि बढाउन लागेको हो।

Tata
Global Ime

उत्पादन अनुमतिपत्रका लागि कम्पनीले विद्युत विकास विभाग समक्ष आवेदन दिएको छ। विभागले शुक्रबार सूचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ। 

प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार भइसकेको छ। प्रतिवेदन अनुसार आयोजना धादिङको खनियाँबास गाउँपालिका-४, गंगा जमुना गाउँपालिका-३ र ४, नेत्रावती डबजोड गाउँपालिका-१ भएर बग्ने आँखु खोलामा निर्माण हुनेछ। आयोजनाका मुख्य संरचनाहरु खोलाको दायाँ किनारमा रहनेछन्। 

यो नदी प्रवाहमा आधारित आयोजना  हो। यसको डिजाइन बहाव २७.७३ घनमिटर  प्रतिसेकेण्ड र कुल हेड  ९१ मिटर रहनेछ। वार्षिक सरदर १२२.१६ गिगावाट आवर उत्पादन हुनेछ।

विद्युत उत्पादनका लागि आँखु खोलाको पानी फर्काएर बनाइने बाँधको लम्बाई ४९ मिटर हुनेछ। सतही विद्युतगृह रहनेछ। विद्युत उत्पादनपछि ३८० मिटरको टेलरेस क्यानबाट पानीलाई पुन: आँखु खोलामा फर्काइनेछ। 

उत्पादित ऊर्जालाई ५ किमि प्रसारणलाइनबाट विद्युत प्राधिकरणको प्रस्तावित लपाङ सवस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ।

२०८३ चैतमा विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ।