
काठमाडौं। जगदुल्ला-'ए' जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) ठेक्का इआरएमसी श्रेष्ठ ग्रीड जेभीले पाएको छ।
जगदुल्ला हाइड्रोपावर लिमिटेडले गत भदौ पहिलो साता आशयपत्रमार्फत निकालेको बोलपत्र आवेदन दिएकामध्येबाट उक्त जेभी छनोट भएको हो। कम्पनीको प्राविधिक प्रस्तावमा सीआइएस डीइसी जेभी, एचसीई सिल्ट एफबीसी जेभी, आइटीईओसीई आरआइएमसी सितारा जेभी, पिनेट इएससी श्रेया जेभी, राजदेवी जीइओसी जेभी, सीपीएल टीएमएस जेभी, उदय प्यारागन सिग्नेचर जेभी पनि छनोट भएका थिए।
यी सात कम्पनीमध्ये सबैभन्दा कम कबोल गर्ने इआरएमसी श्रेष्ठ ग्रीड जेभी छनोट भएको हो। कम्पनीले ८२ लाख १८ हजार रुपैयाँमा कबोल गरेको छ। करिब एक वर्षमा इआइए रिपोर्ट तयार पार्नुपर्नेछ।
यो आयोजनामा १०६ मेगावाटको अर्ध-जलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानीको प्रयोग हुनेछ। यो पनि अर्ध-जलाशययुक्त क्यासकेड आयोजना हो। क्यासकेड भएकाले हेडवर्क्स निर्माण गरिरहनुपर्दैन। सोही कारण लागत समेत कम हुनेछ।
जगदुल्ला- 'ए' ८२.३ मेगावाट क्षमताको आयोजना हो। जुन डोल्पाको जगदुल्ला नदीमा प्रस्ताव गरिएको छ।
सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार यो आयोजनाका लागि करिब ७ किमी सुरुङमार्ग निर्माण गर्नुपर्छ। आयोजनाको विद्युतगृह त्रिवेणी भन्ने ठाउँमा हुनेछ। एक वर्षमा सबै खालका अध्ययन सकेर ४ वर्षमा विद्युत उत्पादनको लक्ष्य छ।