ट्‍वीटरमा नयाँ प्रयोगकर्ता आगमन दर हालसम्मकै उच्चः मस्क, एक सातामा दिनकै २० लाख



बिजमाण्डू
२०७९ मंसिर ११ गते १४:१० | Nov 27, 2022


ट्‍वीटरमा नयाँ प्रयोगकर्ता आगमन दर हालसम्मकै उच्चः मस्क, एक सातामा दिनकै २० लाख


Tata
Global Ime

ट्‍वीटरका कार्यकारी इलन मस्कले नयाँ प्रयोगकर्ता साइन-अप ‍अहिलेसम्मकै उच्च रहेको दाबी गरेका छन्। 

हाल उक्त सामाजिक सञ्जाल प्लेटफर्ममा प्रमाणीकरण र घृणायुक्त अभिव्यक्तिको चिन्ताका कारण विज्ञापनदाता र प्रयोगकर्ताहरूको ठूलो संख्यामा अन्य प्लेटफर्महरूमा पलायन भइरहेका छन्। यसैबीच मस्कले उक्त अभिव्यक्ति दिएका हुन्।

जनरल मोटर्स, मोन्डेलेज इन्टरनेशनल, फक्सवागन एजी जस्ता ठूला कम्पनीहरूले ट्‍वीटरमा विज्ञापन रोकेका छन्। मस्कले नागरिक अधिकार समूहहरूको गठबन्धनलाई दोष दिँदै ट्‍वीटरले विज्ञापनदाता रीट्रीटबाट ‘राजस्वमा ठूलो गिरावट’ अनुभव गरिरहेको बताएका छन्। 

विज्ञापनदाताहरू पलायनसँग संघर्ष गरिरहेको ट्‍वीटरको साइनअप भने नोभेम्बर १६ सम्ममा पछिल्लो एक सातामा प्रति दिन औसत २० लाख भन्दा बढी रहेको मस्कले दाबी गरेका छन्। यो गतवर्ष सन् २०२१ को सोही हप्ताको तुलनामा ६६ प्रतिशतले बढी रहेको मस्कले शनिबार ट्‍वीट गर्दै जानकारी दिएका छन्।

सोही ट्वीटमार्फत उनले प्रयोगकर्ता सक्रिय मिनेटहरू पनि हालसम्मकै उच्चमा रहेको बताएका छन्। प्रयोगकर्ताहरू उक्त प्लेटफर्ममा नोभेम्बर १५ सम्ममा पछिल्लो सात दिनमा प्रतिदिन लगभग आठ अर्ब मिनेटका लागि सक्रिय छन्। यो गत वर्षको सोही हप्ताको तुलनामा ३० प्रतिशतले बढी हो।

साथै, गत वर्षको अक्टोबरको तुलनामा नोभेम्बर १३ मा घृणायुक्त अभिव्यक्तिको पनि प्रतिरूपण घटेको छ।

मस्क रकेट कम्पनी स्पेस एक्स, ब्रेन-चिप स्टार्टअप न्युरालिंक र बोरिङ कम्पनीको टनेलिङ फर्म समेतका सञ्चालक हुन्। उनले ट्‍वीटर खरिद गरेर एक्स नामको ‘एभ्रिथिङ एप’ निर्माण गर्ने आफ्नो महत्त्वाकांक्षालाई गति दिने बताएका छन्।

मस्कको ‘ट्‍वीटर २.० द एभ्रिथिङ एप’मा इन्क्रिप्टेड डाइरेक्ट मेसेज (डीएम), लङफर्म ट्वीट्स र भुक्तानी जस्ता सुविधाहरू हुनेछन्।