ठुलो आवाज निकाल्ने २९ वटा बाइक ट्राफिक प्रहरीको  नियन्त्रणमा, १२ वटालाई १० हजार जरीवाना



बिजमाण्डू
२०७९ मंसिर ११ गते १९:०६ | Nov 27, 2022


ठुलो आवाज निकाल्ने २९ वटा बाइक ट्राफिक प्रहरीको  नियन्त्रणमा, १२ वटालाई १० हजार जरीवाना


काठमाडौं। ठुलो आवाज निकाल्ने  २९ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि वातावरण विभाग पठाएको छ।

Tata
Global Ime

आइतबार ट्राफिक प्रहरीले ठुलो आवाज निकालेर ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई कारबाहीका लागि पठाएको हो। जसमध्ये १२ वटा मोटरसाइकललाई  विभागले नगद १० हजार रुपैयाँ जरिवाना गराएको छ।

वातावरण विभागद्वारा परीक्षण गर्दा मापदण्ड भन्दाबढी आवाज निकालेको पाइएकाले जरीवाना गरिएको हो। १७ वटा मोटरसाइकलको सम्बन्धमा विभागबाट आवश्यक अनुसन्धान भइरहेको छ ट्राफिक प्रहरीले जनाएको छ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट उपत्यकाका विभिन्न स्थानमा गरिएको बिशेष चेकिङको क्रममा ठुलो आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो। ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले  नचलाउन  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे।

त्यस्तै आइतबार भएको स्कुल बस चेकिङमा  १८ जना स्कुल बसका चालक पनि कारबाहीमा परेका छन्। बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना चालक सहित १८ जनालाई  कारवाही गरिएको छ।

इपिएस  कलेज मीनभवनको बा २ ख २६३६ नम्बरको बसका चालक विकास तामाङलाई मापसेको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको छ। मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरिएको छ।

 सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गते देखी स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गर्दै आएको छ।