आन्तरिक राजस्व विभागको महानिर्देशक बने दीर्घ मैनाली, यस्तो छ उनको ट्रयाक रेकर्ड



बिजमाण्डू
२०७९ मंसिर १३ गते १७:२३ | Nov 29, 2022


आन्तरिक राजस्व विभागको महानिर्देशक बने दीर्घ मैनाली, यस्तो छ उनको ट्रयाक रेकर्ड


काठमाडौं। आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घ मैनाली गएका छन्। अर्थमन्त्रालयले मैनालीलाई विभागको महानिर्देशक बनाएर पठाएको हो।

Tata
Global Ime

मन्त्रालयले विभागका महानिर्देशक रितेश शाक्यलाई अर्थमन्त्रालय तानेर मैनालीलाई त्यहाँ पठाएको हो। मैनालीले सोमबार पत्र बुझेका छन्। निर्वाचन अघिनै मैनालीलाई विभागको महानिर्देशक बनाउन निर्वाचन आयोगसँग मन्त्रालयले सहमति मागेको थियो।

 तर आयोगले सहमति नदिँदा रोकिएको थियो। मैनाली राजस्वका अब्बल क्याडर हुन। उनी नक्कली भ्याट बिलको छानविनको टोलीमा समेत थिए। नक्कली भ्याट बिल प्रकरणलाई मिहिन ढंगले अनुसन्धान गर्न रामेश्वर खनालले सहसचिव लक्ष्मण अर्यालको नेतृत्वमा बनाएको टोलीमा उपसचिवको रुपमा मैनाली, कुलप्रसाद चुडाल र गोविन्द सुवेदी अनुसन्धानमा खटिएका थिए।

राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ठूलठूला फाइल उनलेनै खोलेका थिए। उनी ठूला करदाता कार्यालयमा रहँदा पनि धेरै बहुराष्ट्रिय कम्पनीलाई कर तिराएका थिए। अहिले पनि कर प्रशासनमा ठूलो समस्या छ। भ्याट असुलीमा ठूलो समस्या देखिएको छ। कर प्रशासन र उद्योगीबीचको विवादले बक्यौता २ खर्ब रुपैयाँ पुगेको छ। यो कठिन अवस्थामा मैनालीले विभागको बागडोर सम्हाल्न पुगेका छन्।