काठमाडौं। केही दिन अघि ७० प्रतिशत लाभांश घोषणा गरेको हिमालयन डिष्टिलरीको सेयर किनबेच बुधबार पनि उच्च भएको छ। कम्पनीले लाभांश वितरणका लागि तोकेको बुक क्लोज मिति नजिकिदै जाँदा किनबेच पनि बढ्दै गएको हो।
कम्पनीले पुस २० गतेका लागि बुक क्लोज मिति तोकेको छ। पुस १९ गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन्। त्यसैले पनि यो कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको हो। कम्पनीको ४ करोड ७९ लाखमाथिको सेयर किनबेच भएको हो।
लाभांश वितरण गर्न बाँकी रहेको नबिल बैंकको पनि ४ करोड माथिको सेयर किनबेच भएको छ। बजारमा बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई बम्पर लाभांश घोषणा गर्ने हल्लाका कारण पनि यस कम्पनीमा लगानीकर्ताको आकर्षण छ।
धितोपत्र बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रतिफलको घोषणा गरिसकेका छन्। केही कम्पनीहरुले लाभांश घोषणा गर्न बाँकी रहेपनि सेयर बजारमा भने लाभांशको रौनक देखिँदैन।
यस्तै केही दिन अघि केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षालाई पनि लगानीकर्ताले नकारात्मक रुपमा लिँदा बजार सकारात्मक हुन नसकेको जानकारहरुले बताएका छन्।
आज नेप्से परिसूचक ३.५१ अंकले घट्दा परिसूचक १९४९.८५ बिन्दुमा झरेको छ। मंगलबार २.९८ अंकले बढेको बजार बुधबार घटेको हो।
यस्तै आज कारोबार रकम पनि ८४ करोडमा खुम्चिएको छ। मंगलबार ९५ करोडको सेयर किनबेच भएको थियो।


