काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको विरोधका आधारमा नीति परिवर्तन नगर्ने जनाउ दिएका छन्।
आर्थिक पत्रकार समाज (सेजन) को २६औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले आवश्यक कदम चालेको र त्यसले नतिजासमेत दिएको बताए।
उनले बजारमा चालु पुँजी कर्जा, ब्याज दर लगायतका विषयलाई उचालेर विरोध भएपनि टसमस नहुने संकेत गरे।
उनले अटो व्यवसायीको उदाहरण प्रस्तुत गर्दै अर्थतन्त्र एउटा अप्ठेरो परिस्थितिमा गएका बेला आयात रोक्नेलगायतका काम भएको बताउँदै भने- त्यो रोकेर त ठीक भएको रहे छ। आज ब्याज बढ्थ्यो। गाडी बिक्दैन थियो। अझ ठूलो संकट पर्ने थियो तपाइँहरुलाई।
उनले ५५ बर्ष लगाएर राष्ट्र बैंकले जम्मा गरेको विदेशी मुद्रा एक वर्षमा दुई खर्ब बढिले घटेको उदाहरण दिँदै अर्थतन्त्र सुधारका लागि एक वर्षमा सरकार र राष्ट्र बैंकले गरेको कामका कारण अवस्था सहज बनेको बताए।
उनले तथ्यांकका आधारमा अर्थतन्त्रमा सुधार देखिएको बताउँदै माग घटेर आर्थिक गतिविधि कम भएको बताए।
'यहाँ विरोध पनि भइरहेको छ। त्यसमा छलफल गर्न सकिन्छ' उनले भने, 'अहिले ब्याजका बारेमा कुरा भइरहेको छ। के अब ब्याज तोक्ने गरी अगाडि बढौं भन्नु भएको हो? त्यो हो भने पनि हामी छलफल गर्न तयार छौं।'