आयल निगमलाई एक लिटर पेट्रोल बेच्दा १३ रुपैयाँ नाफा, मासिक नाफा १ अर्ब १२ करोड पुग्यो



२०७९ मंसिर १५ गते १६:४६ | Dec 1, 2022


आयल निगमलाई एक लिटर पेट्रोल बेच्दा १३ रुपैयाँ नाफा, मासिक नाफा १ अर्ब १२ करोड पुग्यो


काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाल आयल निगमलाई पेट्रोल एक लिटरमै १३ रुपैयाँ नाफा हुने भएको छ। इन्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको नाफा लिटरमै १३ रुपैयाँ पुगेको हो।

Tata
Global Ime

नाफा भए पनि निगमले मूल्य घटबढका बारेमा कुनै निर्णय गरेको छैन। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटिरहेको छ। तर, त्यस अनुसार मूल्य घटाउन निगमले आनाकानी गरिरहेको छ। निगमले दुई वर्षको अवधिमा नोक्सानी ५० अर्ब माथि रहेको भन्दै मूल्य घटाउन नचाहेको हो। 

निगमले आइओसीको बक्यौता नै ३० अर्बको हाराहारीमा रहेको र सरकार तथा वाणिज्य बैंकसँग लिएको ऋण ११ अर्ब रहेको भन्दै मूल्य घटाएको छैन। आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलाई डिजल प्रतिलिटरमा लगभग एक रुपैयाँ नाफा हुने भएको छ। नयाँ मूल्य अनुसार निगमलाई मासिक १ अर्ब १२ करोड नाफा हुने देखिन्छ।

तर यो पटक एलपीजी ग्यासको मूल्य भने बढेर आएको छ। जाडोका कारण अन्तर्राष्ट्रिय बजारमै ग्यासको माग उच्च हुने भएकाले मूल्य बढेको हो। नयाँ मूल्य अनुसार निगमलाई एक सिलिण्डर ग्यासमा २ सय ७२ रुपैयाँ नोक्सानी छ। निगमका निर्देशक वीरेन्द्र गोइतले नयाँ मूल्य अनुसार निगमलाई मासिक १ अर्ब १२ करोड नाफा हुने बताए।

'यो पटक निगम राम्रै नाफामा गएको छ। डिजलमा धेरै पछि नाफा भएको छ,' गोइतले बिजमाण्डूलाई भने, 'तर यो पटक ग्यासमा मूल्य बढेर आएकाले कम नाफा हुने प्रक्षेपण निगमको छ।'

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आईओसीले निगमलाई २०२२ डिसेम्बर १ मा नयाँ मूल्य पठाएको हो। कच्चा तेलको मूल्य पछिल्लो १५ दिनमा प्रति ब्यारल १२ डलरसम्म ओरालो लागेको थियो। यसअघि नोभेम्बर १५ देखि डिसेम्बरसम्म निगमलाई २५ करोड घाटा भएको जनाइएको छ। यो १५ दिनदेखि नेपालमा इन्धनको खपत फेरि बढ्न थालेको छ। तर, गत वर्षको तुलनामा यो वर्ष हाल इन्धनको खपत साढे ७ प्रतिशतले घटेको थियो।

अहिले पेट्रोल प्रतिलिटर १८१ र डिजल १७८ रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मट्टितेल प्रतिलिटर १७८, हवाई इन्धन प्रतिलिटर १९० र ग्यास प्रतिसिलिन्डर १८०० रुपैयाँ छ।