नेपाललाई हवाई सुरक्षा सूचीबाट हटाउन सहयोग गर्ने इयुको आश्वासन, सुरक्षा सम्परीक्षण आउँदो मेमा



२०७९ मंसिर १५ गते २१:०६ | Dec 1, 2022


काठमाडौं। हवाई सुरक्षा सूचीमा राखेर जोखिमपूर्ण भन्दै नेपाली वायुसेवालाई युरोपियन युनियनले युरोप उडानमा रोक लगाएको १२ वर्ष भयो। अब इयुले उक्त सूचीबाट नाम हटाएर हवाई सेवा सुरु गराउन पूर्णरूपमा सहयोग गर्ने आश्वासन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Tata
Global Ime

हालसम्म हवाई सुरक्षा सूचीमा परेका मुलुकलाई आफ्ना सदस्य राष्ट्रमा व्यवसायिक उडान खुला गर्नका लागि इयुले सहयोगको प्रतिबद्धता गरेको प्राधिकरणले जनाएको हो। यसअघि इयुले सम्बद्ध मुलुकहरुको हवाई सुरक्षाको अवस्था जाँच गर्ने भएको छ।

यसका लागि इयुको विज्ञ टोलीहरुले प्रक्रिया अघि बढाएका छन्। 'युरोपियन एभिएसन सेफ्टी एजेन्सीले सुरक्षा सम्परीक्षण गरिसकेको छ। आउँदो मेमा इयुका प्रतिनिधिहरु पुनः अडिटका लागि नेपाल आउने जानकारी आएको छ,' प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, 'वृहत् अध्ययनपछि नेपाल सुरक्षा सूचीबाट मुक्त हुने आशा लिएका छौं।,'

गत नोभेम्बर १०-११ मा ब्रसेल्सस्थित केन्द्रीय कार्यालयमा इयुले हवाई सुरक्षा सूचीमा परेका वायुसेवा कम्पनीको नाम अद्यावधिकका लागि अध्ययनसहित छलफल गरेको थियो। त्यसमा नेपालका बारे पनि कुरा उठेको छ।

नेपालमा हवाई सेवा व्यवस्थापनका लागि नागरिक उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गरी कामको प्रकृति छुट्याउनुपर्ने सुझाव इयुको थियो। त्यसअनुसार सरकारले तयारी पनि गरेको थियो। शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेपछि पर्यटन मन्त्री र प्राधिकरणका अधिकारीहरुको बोली फेरियो। सेवा प्रदायक र नियमनकारी निकायका रूपमा बिभाजन गर्नुको साटो दुवै काम राम्ररी गरे पु्ग्ने निष्कर्ष आएको उनीहरुको भनाइ छ।

इयुका अधिकारीहरुले पनि त्यसको प्रतिवाद गरेका छैनन्। कार्यमूलक रुपमा छुट्टाछुट्टै सेवा दिँदै आएको विषयमा इयु स्थलगत निरीक्षणका लागि नेपाल आउने जानकारी गराएको प्राधिकरणले जनाएको छ। हाल नियमनकारी र सेवा प्रदायक अन्तर्गत काम गर्दै आएका कर्मचारीलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा सरुवा नगराउने प्रणाली लागू भइसकेको छ।

यसको कार्यान्वयन कति दिगो हुने सम्भावना छ भन्ने विषयमा आधार परीक्षण गर्न इयुको प्राविधिक टोली नेपाल आउन लागेको प्राधिकरणले जनाएको छ।

नेपालको उड्डयन सुरक्षा अडिटका लागि युरोपियन युनियनले गत अक्टोबर ६-८ मा  प्रारम्भिक अवलोकन अन्तर्गत विकट गन्तव्यतर्फ उडान गर्दै आएका तारा र समिट एयरको अध्ययन निरीक्षण गरेको थियो। एसएसओ (स्टेट सेफ्टी ओभरसाइट) अन्तर्गतको प्रतिवेदन सकारात्मक आएको प्राधिकरणले जनाएको छ।

आइकाओको अडिटमा मुलुकको उड्डयन सुरक्षा दर ७० प्रतिशत पुगिसकेको छ।

हवाई सुरक्षा अडिटमार्फत इयुले विधान, संस्था, एयर वर्दिनेस, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउण्ड एड्स, एक्सिडेन्ट इन्भेस्टिगेसन लगायत आठ क्षेत्रमा अध्ययन गर्दै आएको जनाइएको छ।

सन् २०१० र २०१२ का बीच नेपालमा भएका पाँच हवाई दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएका थिए। उक्त घटनाका आधारमा युरोपेली युनियनको टोली प्राधिकरणसँग निरन्तर संवाद र सम्पर्क गर्दै आएको छ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने भन्दै भैरहवा र पोखरामा विमानस्थल तयार भएका छन्। यी विमानस्थललाई बिजनेस दिलाउन पनि सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुको ध्यानाकर्षण नगरी नहुने स्थिति छ। त्यसैले इयुका अधिकारीहरुसँग निरन्तर संवादमा रहेको प्राधिकरणले जनाएको छ।

सुरक्षा सूचीका कारण छैन इयु मुलुकसँग सिधा उडान

इयुको हवाई सुरक्षा सूचीमा परेपछि नेपालमा १२ वर्षयता टर्किस एयरलाइन्सबाहेक अरु मुलुकको वायुसेवाले सिधा उडान राखेका छैनन्। युरोपेली मुलुकहरु नेपालबाट आउजाउमा सिधा उडान छैन।

युरोपियन युनियन अन्तर्गतका देशका हवाई सेवा कम्पनीले नेपाल जोड्ने उडान राख्न चासो दिएका छैनन्। नेपाली वायुसेवालाई इयु मुलुक उडानमा सुरक्षा सूचीले बाधा पारेको छ। प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुल भने नेपाल उडानका लागि इयुको सुरक्षा सूचीले कुनै पनि बाधा नपार्ने बताउँछन्।

'हाल टर्किस एरलाइन्सले इस्तानबुलबाट नेपालतर्फ सिधा उडान गर्दै आएको छ। यो मुलुक एसीया र युरोपको बीचमा पर्न आउँछ। सम्भावना छ तर उताबाट यो बाहेक अरु मलुकको वायुसेवा आएको छैन,' उनले भने,'सुरक्षा सूचीमा परेपछि इयु अन्तर्गतका मुलुकलाई यता आउन कुनै रोकटोक छैन। रोकटोक भनेको नेपाली वायुसेवालाई मात्र हो।'

केही वर्ष अगाडि फिनल्याण्डले कोड सेयरिङमार्फत नेपाल उडान गर्न चासो देखाएको थियो। तर फिनल्याण्डको फिन एयरले यो योजनालाई अघि बढाएन।

युरोपियन युनियन अन्तर्गत अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आयरल्याण्ड, इटाली, लाटभिया, लिथुआनिया, लक्जमवर्ग, माल्टा, नेदरल्याण्ड, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन लगायत २६ मुलुक छन्। हाल यी कुनै पनि मुलुकबाट नेपालका लागि हवाई उडान छैनन्। नेपाली वायुसेवाले पनि ती राष्ट्रको उडान गर्न पाएका छैनन्।

यी मध्ये नेपालले सातवटा मुलुकसँग डेढ दशक अघि नै द्विपक्षीय हवाई सम्झौता गरिसकेको छ। उडान भने भएका छैनन्। युरोपेली पर्यटकले नेपाल आउँदा-फर्किँदा होस् वा नेपालीले युरोपका मुलुकमा यात्रा गर्दा सिधा उडान सेवा प्रयोग गर्न पाएका छैनन्।

इयुका यी मुलकसँग भएको छ द्विपक्षीय हवाई सम्झौता

मुलुक

सम्झौता मिति

साप्ताहिक सिट

वार्षिक सिट

अष्ट्रिया

सन् १९९७ अक्टोबर २०

१४००

७२८००

क्रोएसिया

२००४ मार्च ३०

१४००

७२८००

फ्रान्स

१९९८ जुलाइ ७

२००

१०४००

जर्मनी

२००० जुलाइ २६

१८००

९३६००

इटाली

१९९७ मे ८

४००

२०८००

लक्जमवर्ग

१९९९ जुन १८

१४००

७२८००

नेदरल्याण्ड

१९९८ अप्रिल १७

१४००

७२८००