काठमाडौं। लामो समयदेखि सवारीसाधन आयात प्रतिबन्ध छ। यसले व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीहरु आन्दोलनमा जाने भएका छन्।
नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार आन्दोलनका कार्यक्रमका घोषणा गरेको छ। नाडाले पत्रकार सम्मेलन गर्दै दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। उक्त आन्दोलन चरणबद्ध रूपमा हुने नाडाले जनाएको छ।
राज्यको विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सरकारले सवारी आयात रोकेको छ। सरकार र राष्ट्र बैंकको वर्तमान नीतिप्रति नाडाले दबाब दिँदै जाने अध्यक्ष ध्रुव थापाले बताए। अटो व्यवसायीहरुले तयार गरिएका नारा 'आजबाट सामाजिक संजालमा प्रोफाइल पिक्चर राखी आन्दोलन सुरु गरेको घोषणा उनले गरे।
त्यसपछि आफ्नो गाडीहरुमा नारा टाँस्ने, शोरुममा ब्यानर टाँस्नेदेखि माइतीघरमा पुगेर धर्ना दिने योजना रहेको नाडाले जनाएको छ।
व्यवसायीले ब्याजदर नियन्त्रण, ५० प्रतिशत नगद मार्जिन घटाउने, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज तथा मौद्रिक नीति परिमार्जन लगायतका विषय समेटिएको छ।

गत आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्ण रुपमा आयात प्रतिबन्ध छ भने दुई पांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुल्ला छ। राष्ट्र बैंकले आयात गर्न पाउने गाडीमा शतप्रतिशत मार्जिनको व्यवस्था कायमै राखेको छ।
'अब पनि सवारी आयात नखुलाउने हो भने अटो व्यवसाय थला पर्छ। त्यसैले व्यवसायी सरकारविरुद्ध उभिन बाध्य भएका हौं,' अध्यक्ष थापाले भने। व्यवसायीहरुले पटक पटक सरकारलाई सवारी आयात प्रतिबन्ध खुलाउन माग गर्दै आए पनि बेवास्ता गर्दै आएको उनले बताए।
सरकारले हाल सवारीसाधन आयात प्रतिबन्ध लम्ब्याएको अवधि मंसिर मसान्तसम्म छ।
नाडाका अनुसार व्यवसायीले फेसबुक, इन्स्टाग्राम र ट्वीाटरमा प्रोफाइल पिक्चर आन्दोलनका नारालाई बनाउने छन्। आफूले चढ्ने गाडीमा टाँसेर हिंड्ने छन्। नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने रहेको छ।
विरोध कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध वस्तुगत संगठन र जिल्ला-नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत सहयोग माग्ने नाडाले जनाएको छ।
आगामी बिहीबार (मंसिर २२ गते) व्यवसायीहरुले कालो पहिरन लगाइ, प्लेकार्ड बोकेर काठमाडौंको माइतीघरमा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रम तय गरिएको नाडाले जनएको छ। मागको सम्बोधन नभएमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने जानकारी पत्रकार सम्मेलनमा दिएको थियो।


