काठमाडौंका ठुला आकासे पुलहरु असुरक्षित भएको भन्दै तत्कालै सुधार गर्न उपमेयर डंगोलको निर्देशन



बिजमाण्डू
२०७९ मंसिर १८ गते १२:५५ | Dec 4, 2022


काठमाडौंका ठुला आकासे पुलहरु असुरक्षित भएको भन्दै तत्कालै सुधार गर्न उपमेयर डंगोलको निर्देशन


काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्रका ठुला आकासे पुलहरु तत्काल मर्मत गर्न निर्देशन दिएकी छन्।

Tata
Global Ime

उनले सार्वजनिक-निजी साझेदारी एकाईका अधिकारीहरुलाई बोलाएर आकासे पुलहरु असुरक्षित भएकाले सुधारको काम तत्काल गर्न निर्देशन दिएकी हुन्।

सार्वजनिक-निजी साझेदारी अन्तर्गत आकासे पुलहरु निर्माण भएका छन्।

रत्नपार्क, भद्रकाली, सुन्धारालगायत महानगरभित्रका ठूला केही आकासे पुलहरु सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत बनेका हुन्। ‘आकासे पुलका संरचना भत्किएका छन्। हिँड्दा अल्झिएर लड्ने अवस्था छ। बारहरु अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ। अपाङता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन्। जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ,’ डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ। यी बारहरु पारदर्शी हुनुपर्छ। मर्मत गरेर दुरुस्त बनाउनुपर्छ। एक पटक बनाएर अलपत्र बनाएर हुँदैन। नियमित मर्मत गर्नुपर्छ। यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू।’ 

महानगरका निर्देशक नुरनिधि न्यौपानेले  सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालनमा रहेका काठमाडौं टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराएका थिए।