प्रभावशाली स्टकको मूल्य घट्दा नेप्सेको लयमा प्रभाव, एनटिसी र एनआरआइसी बढ्दा बजार सामान्य बढ्यो



बिजमाण्डू
२०७९ मंसिर १८ गते १५:२५ | Dec 4, 2022


प्रभावशाली स्टकको मूल्य घट्दा नेप्सेको लयमा प्रभाव, एनटिसी र एनआरआइसी बढ्दा बजार सामान्य बढ्यो


काठमाडौं। सेयर बजारको सबैभन्दा प्रभावशाली स्टकको मूल्यमा आएको उतारचढावले आइतबार प्रमुख सूचकको प्रस्तुतिलाई गम्भीर प्रभाव पारेको छ। सेयरको मूल्य उल्लेख्य परिमाणमा घटेपछि सूचक वृद्धि सामान्य अंक मात्र छ।

Tata
Global Ime

साताको पहिलो दिन परिसूचक २ अंकले बढेको हो। कारोबार अन्त्य हुनु अघि सूचक हरियो बन्दा ओरियन्टल होटलको मूल्यमा साढे ६ प्रतिशतको वृद्धि देखियो। अन्त्यको एक मिनेटमा सेयरको मूल्य ३१ रुपैयाँ बढ्यो। यूनाइटेड इन्स्योरेन्सको सेयरमा पनि यस्तै खरिद चाप देखिएको छ।

तर आइतबारको सेयर बजारको निर्णायक नबिल बैंकको सेयर रह्यो। बैंकको मूल्य सक्रिय भए लगतै बजारको लयमा प्रभाव पारिरह्यो। बैंक नेप्सेको सबैभन्दा शक्तिशाली सेयर हो। बैंकको सेयर एक्लैले नेप्सेको ७.३९ प्रतिशत हिस्सा ओगटेको छ।

त्यसैले नबिल बैंकको मूल्यमा आएको फराकिलो गिरावटले बजारको वृद्धिमा बाधा पुर्याएको हो। बैंकको मात्र करिब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ। तर सेयर मूल्य ३.४० प्रतिशत घटेको छ। बैंकले गत आर्थिक वर्षका लागि अझै लाभांश प्रस्ताव गरिसकेको छैन। त्यसैले बैंकको सेयर मूल्यमा उतारचढाव जारी छ।

नबिल बैंकको सेयर मूल्य घटेपनि एनटिसी र नेपाल पुनर्बीमाको सेयर मूल्य बढेपछि सूचकमा उल्लेख्य गिरावट आउन रोकिएको हो। नबिल पछि लगत्तै प्रभावशाली सेयर एनटिसी र नेपाल पुनर्बीमा हुन्। एनटिसीले ५.६२ प्रतिशत बजारको वेटेज लिएको छ। र नेपाल पुनर्बीमाले ३ प्रतिशत ओगटेको छ।