बरुण बेभरेजले स्थिर पुँजी साढे २ अर्ब, जग्गाको मूल्यांकनसहित मेसिनको हिसाब गरेर बढाइयो पुँजी



२०७९ मंसिर १८ गते १८:४८ | Dec 4, 2022


बरुण बेभरेजले स्थिर पुँजी साढे २ अर्ब, जग्गाको मूल्यांकनसहित मेसिनको हिसाब गरेर बढाइयो पुँजी


काठमाडौं। बरुण बेभरेजले स्थिर पुँजी बढाएको छ। कम्पनीले २ अर्ब ५० करोड बराबरको स्थिर पुँजी बढाएको हो। नवलपरासीको सुक्रौलीमा २०७४ मा उद्योग स्थापना गरेको बेभरेजले जग्गाको मूल्यांकनसहित मेसिनको हिसाब गरी पुँजी बढाएको हो। 

Tata
Global Ime

बेभरेजको ब्यालेन्स सिटभन्दा स्थिर पुँजी कम देखिन थालेपछि स्थिर पुँजी बढाएको कम्पनीका एक प्रतिनिधिले बताए। उनका अनुसार बेभरेजले लामो समयपछि स्थिर पुँजी वृद्धिको अनुमति पाएको हो। 

धेरै उद्योगहरुले स्थिर पुँजी, चालु पुँजी वृद्धि नगर्दा कम्पनीको ब्यालेन्सिटमा धेरै लागत देखिने र उद्योग विभागमा दर्ता भएको कम्पनी विवरणमा भने कम देखिने गरेको छ। समय अनुसार पुँजी वृद्धि गर्दा उद्योगीलाई नै सहज हुने विभागको भनाइ छ।  

कम्पनीले उद्योग संरचनामा धेरै परिवर्तन गरेको छ। कम्पनीमा प्रत्येक वर्ष लगानी थप हुने भएकाले थोरै थोरै लगानीलाई प्रत्येक वर्षमा स्थिर पुँजी वृद्धि गर्नु भन्दा कम्पनीले एकैपटक चार वर्षपछि पुँजी वृद्धि गरेको हो। 

उदाहरणका लागि कम्पनीले कुनै वर्ष १० करोड बराबरको मेसिनरी सामाग्री थप गर्‍यो भने सोही वर्ष उसले स्थिर पुँजी वृद्धि भएको भनि विभागमा अपग्रेड गराउन भ्याउँदैन। बरुणले पनि विगत ५ वर्षदेखि थपिएको लगानीलाई एकैपटक वृद्धि गरेको हो। 

जसमा जग्गाको मूल्यांकन, नयाँ थप गरिएको मेसिनरी सामाग्री, भवनको पुनर्मूल्यांकन समेत गरिएको छ।  स्थिर पुँजी वृद्धिसँगै कम्पनीले प्याकेजिङका लागि आफ्नै कम्पनीले बोतल समेत उत्पादन गर्न पाउने भएको छ। 

पेप्सीको उत्पादक कम्पनी वरूणले बोतल अन्य कम्पनीबाट खरिद गर्ने गरेको छ। आफ्नै कम्पनीबाट बोतल उत्पादन गर्दा लागत कम हुने कम्पनीको विश्वास छ। कम्पनीले बोतल आफैं उत्पादन गर्न लगानी थप गर्ने अनुमतिका लागि विभागमा गतवर्ष नै निवेदन दिएको थियो।

गतवर्ष विभागले कम्पनीको उद्देश्य अनुरुप नभएको भन्दै सो प्रस्ताव स्वीकृत गर्न मानेको थिएन। गतवर्ष विभागले कम्पनीलाई छुट्टै कम्पनी खडा गरी बोतलको उत्पादन गर्न दिने बताएको थियो।

तर यो पटक भने कम्पनीले छुट्टै कम्पनी खडा नगरिकनै बोतल उत्पादन गर्ने अनुमति पाएको हो। अब कम्पनीले बोतल बनाउन प्लान्ट स्थापना गरी प्रक्रिया अघि बढाउनेछ। कम्पनी स्रोतका अनुसार एक मिनेटमा ६ सय बोटल उत्पादन गर्ने प्लान्ट लगाउनेछ।

वरुण वेभरेजले देशका दुई स्थानमा उद्योग स्थापना गरी पेप्सी, स्लाइस, माउन्टेन ड्यू, मिरिन्डा, सेभेन अप खानेपानी लगायत पेय पदार्थ उत्पादन गर्दै आएको छ। आफ्ना उत्पादन प्याकेजिङका लागि वरुणले लाखौंको संख्यामा बोतल बिभिन्न उद्योगसँग खरिद गर्दै आएको छ। वरुण वेभरेजले हाल काठमाडौंको पेप्सीकोला र नवलपरासीमा उद्योग स्थापना गरी पेय पदार्थ उत्पादन गरिरहेको छ। यस्तै अवस्था अर्को पेय पदार्थ कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालको पनि छ। बोटलर्सले भने बिभिन्न कम्पनीसँग बोतल खरिद गर्दै आएको छ। 

स्थिर पुँजी बढेपछि कम्पनीले अब क्षमता वृद्धिको लागि पनि तयारी सुरु गरेको छ। हाल कम्पनीले कार्बोनेटेड सफ्ट ड्रिंक्स (रिटर्नेबल बोतल) ६४ हजार ८ सय किलोलिटर, कार्बोनेटेड सफ्ट ड्रिंक्स (पेट बोतल) २ लाख ४३ हजार किलोलिटर र जुस ३२ हजार ४ सय किलोलिटर उत्पादन क्षमता छ। कम्पनीमा भारतीय लगानीकर्ताहरुको बाहुल्यता छ। संचालकहरूमा अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रवीनकुमार अग्रवाल, विनोद सिंह र अशोक कुमार लगायत छन्।