चीनका पूर्वराष्ट्रपति चियाङ जमिनलाई सम्झिदा: जसले सांघाईलाई विश्व बजारसम्म पुर्‍याए



२०७९ मंसिर १९ गते ०८:५२ | Dec 5, 2022


सांघाई। गत बिहीबार अस्पतालबाट एउटा कास्केट बोकेर गाडीहरुका लावालस्कर विमानस्थलतर्फ सोझिए। विमानस्थल जाने मुख्य सडक खाली गराइएका थिए। सडक किनारामा सर्वसाधारणको बाक्लो उपस्थिति थियो।

Tata
Global Ime

कालो पहिरन, छातीमा सेतो पुष्पगुच्छा सिउरिएका सर्वसाधारण शोकमा थिए। फूलैफूलले सजाइएका बसका ताँती जब सडकबाट गुज्रिए, तब सर्वसाधारणका शीर नतमस्तक भएर निहुरिए।

बुधबार सांघाइस्थित हुवातोङ अस्पतालमा ल्युकेमिया र मल्टिपल अर्गान फेलियरका कारण मृत्यु भएका चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको सम्झनामा सांघाई शोकमा छ। चीनले आर्थिक तथा वाणिज्य हबको रूपमा रहेको सांघाइको विकास र खुलापनका लागि उनलाई सम्झिरहनेछ।

चियाङ १९८५ मा सांघाईका मेयर बनेका थिए। उनी चीनको खुलापन र आर्थिक परिवर्तनका प्रणेता तङ स्याओपिङका अनुयायी थिए। सांघाईको मेयर हुँदै गर्दा १९८७ मा सीपीसीको १३ औं राष्ट्रिय कंग्रेसबाट उनी पदोन्नति हुँदै सीपीसीको सांघाई पार्टी सेक्रेटरी भए। उनीसँगै पार्टीको पोलिटब्युरोमा बढुवा भए।

सन् १९८६ मा चीनका विभिन्न सहरमा फैलिएको विद्यार्थी आन्दोलन सांघाइमा पनि फैलिएको थियो। चियाङ जमिनले ६ घण्टासम्म विद्यार्थीहरुसँग वार्ता गरे। त्यतिबेला उनी विद्यार्थीहरुलाई अंग्रेजीमा सम्बोधन गरेका थिए। त्यतिबेला उनले अंग्रेजी भाषाको प्रयोग गरेको भन्दै आलोचनासमेत भएको थियो।

सन् १९८९ थियानमन स्क्वायरमा ठूलो प्रदर्शन भयो। यो प्रदर्शन सांघाइसम्म पनि पुग्यो। सांघाईको सडकमा लाखभन्दा बढी सर्वसाधारणले प्रदर्शन गरे। त्यहाँ ४५० विद्यार्थी आमरण अनसनमा बसे।

तीन दिनपछि चियाङले अनशनमा बसेका विद्यार्थीसँग भेट गरी उनीहरुको माग पूरा गराउन र संवादलाई अगाडि बढाउन प्रतिबद्धता जनाए। उनले निरन्तर पार्टी नेतृत्वलाई यस विषयमा पत्राचार गरिरहे। सन् १९८९ मे मा पार्टीका सर्वोच्च नेता तङ सियायोपिङले चियाङलाई पार्टी महासचिवमा नियुक्त गर्ने निर्णय लिए।

+++

चियाङको पार्थिव शरीरलाई बिहीबार बेइजिङ पठाउँदै गर्दा सडक किनारमा भेटिएका वाङ पेइ नतमस्तक थिए। आफ्नो व्यवसायमा रहेका उनी यस्तो पुस्ताका नागरिक हुन्, जो चियाङको खुलापनको नीतिको फाइदा लिएका छन्।

‘हाम्रो पुस्ताका मानिसहरु वास्तवमै उनको नीतिका कारण फाइदामा छौं। हामी जे छौं उनकै नीतिका कारण छौं,’ उनी भन्दै थिए।

सांघाई जियाथोङ युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनिरिङ गरेका उनले त्यही बेलादेखि नै सीपीसीको सदस्यता लिएका थिए। उनी सीपीसी भित्रको ‘सांघाई गुट’ प्रमुख थिए। उनकै छत्रछायामा अगाडि बढेका नेता कार्यकर्ता देशका विभिन्न ओहदामा पुगेका छन्। उनकै गुटका सदस्य सांघाइका पूर्व मेयर चु रोङची सन् १९९८ मा देशकै प्रधानमन्त्री बनेका छन्।

यस्तै यही समूहबाट चङ छिङहोङ उपराष्ट्रपति भएका छन्। पिपल्स कंग्रेसको अध्यक्षमा वु पाङक्वे, उपप्रधानमन्त्रीमा हुवाङ चु, सु कुवाङती मुख्य पदमा पुग्ने व्यक्ति हुन्।

सीपीसीमा सांघाई गुट र संस्थापन पक्षबीच टकराव हुँदै आएको छ। सन् २००४ मा चियाङले राजनीतिबाट अवकाश लिएपछि राष्ट्रपति हु जिन्ताओले सांघाई गुटका महत्त्वपूर्ण सदस्य तथा सीपीसी सांघाईका सचिवलाई कारबाही गरे। उनको स्थानमा बाहिरबाट सी चिनफिङलाई सांघाईको पार्टी सचिवको रुपमा पठाइएको थियो। चियाङ गुटको रुपमा चिनिने सांघाई गुटको प्रभाव अझै पनि केन्द्रमा देखिन्छ।

विशेष गरी यो गुटले तटीय क्षेत्रको विकासको पक्षमा वकालत गर्ने गर्छ। हाल सीपीसीको पोलिटब्युरो स्ट्यान्डिङ कमिटीको दोस्रो वरीयतामा सांघाईका पार्टी सचिव लि छियाङ छन्। यद्यपि उनी सांघाई गुटका सदस्यको रुपमा नचिनिए पनि उनी २०१७ देखि सांघाईको पार्टी सचिवको रुपमा काम गर्दै आएका छन्। पार्टीमा दोस्रो वरीयतामा रहेका उनलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिँदै आएको छ।

पछिल्लो तीन दशकमा सांघाईले प्राप्त गरेको उपलब्धिको श्रेय सांघाईबासीले उनलाई दिन्छन्। उनीहरुका लागि यो परिवर्तनको आर्किटेक्ट नै चियाङ हुन्। उनकै कार्यकालमा सांघाईमा तीव्ररूपमा मेट्रो रेलको विकास भयो। विश्वकै ठूलो डिपवाटर कन्टेनर पोर्ट पनि उनकै पालाममा यो। देशकै पहिलो स्टक एक्चेन्ज सांघाईमा उनकै पालामा सुरु भयो। चिन माओ टावर जस्ता अग्ला बिल्डिङ सांघाइमा उनकै पालामा बने।

चियाङले आर्थिक विकासमा केन्द्रित रहेर सांघाइको सुधार, विकास र स्थिरतालाई प्रवर्द्धन गर्न हरसम्भव प्रयास गरे। उनले सांघाइलाई २०औं शताब्दीको अन्त्यसम्ममा खुला, औद्योगिक, वैज्ञानिक-प्राविधिक र सांस्कृतिक रूपमा उन्नत आधुनिक सहर बनाउने लक्ष्य राखे।

उनी देशको राष्ट्रपति हुँदा सांघाईमा सन् १९९९ मा विश्वका ठूला बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारी भेला भएर पाँचौं पर्चुन ग्लोबल फोरम सम्पन्न भयो। त्यति बेलासम्म चीन विश्व व्यापार संगठनको सदस्य पनि बनिसकेको थिएन। त्यसको दुई वर्षपछि सांघाईले एसिया-प्यासिफिक इकोनमिक कोअपरेसन (एपेक) समिट आयोजना गर्‍यो। त्यतिबेला चियाङ र अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले भेट गरेका थिए।

चीनले अर्थतन्त्रको थप विकास गर्ने, प्रजातन्त्रको विस्तार गर्ने, विज्ञान र शिक्षाको विकास गर्ने, आफ्नो संस्कृतिलाई समृद्ध बनाउने, सामाजिक सद्‍भाव बढाउने र जनताको जीवनस्तर उकास्नुपर्ने कुरामा जोड दिन्थे।

उनकै पालामा हङकङ चीनले फिर्ता लियो। कूटनीतिमा उनको नीति ‘प्यासिभ एण्ड नन-कनफ्रन्टेसनल’ थियो। उनी मिडिया मैत्री पनि थिए। उनका हरेक गतिविधि उनी सत्ता बाहिर पुगे पनि चीनको पिपल्स डेली र सीसीसीटीभीमा प्राथमिकतासाथ आउँथे। पश्चिमा मिडियामा पनि उनी क्याजुअल रुपमा उपस्थित हुन्थे। २००२ मा उनले सीपीएससँग अन्तर्वार्ता दिएका थिए।

उनलाई अर्को श्रेय जान्छ चीनमा धार्मिक अतिवादीको अन्त्य। ‘फालुन कोङ’ कुनै बेला चीनको ठूलो धार्मिक संस्था थियो। सुरुवातमा सीपीसीले यसलाई समर्थन गरे पनि यसको संख्या र उपस्थिति सीपीसीकै लागि चिन्ताको विषय बन्न पुगेको थियो।

१९९० को सुरुवातमा चीनमा ली होङ्ची नेतृत्वमा स्थापित यो धार्मिक अतिवादी संस्थाको मुख्यालय हाल अमेरिकाको न्युयोर्क सहरको ड्रयागन स्प्रिङमा ४०० एकडमा फैलिएको छ। १९९९ सम्म पुग्दा यो संस्थाका अनुयायी सात करोड बढी पुगिसकेका थिए। सन् १९९९ मा यही समूहले बेइजिङमा ठूलो प्रदर्शन गरेको थियो।

त्यससँगै राष्ट्रपति चियाङले एउटा विभाग नै गठन गरी यसलाई नियन्त्रणमा लिए। यो समूहका हजारौं नेताहरुलाई नियन्त्रणमा लिइएको थियो। अझै पनि यस घटनालाई पश्चिमा राष्ट्र गम्भीर मानवधिकार उल्लंघनको रुपमा लिन्छन्।

यस संस्था बेलाबेलामा अन्तर्राष्ट्रिय मिडियामा छाइरहन्छ। विशेष गरी २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा यसको सहभागिता, कोभिड-१९ विरुद्धको भ्याक्सिन विरोधी अभियान, राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा विज्ञापनको उत्पादन, अमेरिकामा चलेको 'क्युएनन' दक्षिणपन्थी राजनीतिक आन्दोलनको कारण यसको चर्चा हुँदै आएको छ।   

अहिले सांघाइ जे छ चियाङ जमिनकै देनका कारण विश्व बजारमा उभिएको छ। उनैको बुधबार सांघाइमा देहान्त भयो। उनको पार्थिव शरीर अहिले बेइजिङमा छ। मंगलबार विशेष समारोहका साथ बेइजिङमा उनको अन्त्येष्टि गरिँदै छ। तर, उनलाई सांघाई सधैं सम्झिरहने छ।