पदमुक्त हुने संघारमा पुगेका पर्यटनमन्त्री श्रेष्ठले एनएसी व्यवस्थापन प्रति पोखे आक्रोश



बिजमाण्डू
२०७९ मंसिर २१ गते १७:४३ | Dec 7, 2022


पदमुक्त हुने संघारमा पुगेका पर्यटनमन्त्री श्रेष्ठले एनएसी व्यवस्थापन प्रति पोखे आक्रोश


काठमाडौं। पदमुक्त हुने संघारमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवराम श्रेष्ठले नेपाल वायुसेवा निगम व्यवस्थापनप्रति आक्रोश पोखेका छन्।

Tata
Global Ime

मन्त्री श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संकेत गर्दै अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट बञ्चित भएको आरोप लगाएका छन्। बुधबार आयोजित अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको कार्यक्रममा उनले अयोग्य नेतृत्वकै कारण जनताको लगानी भएको संस्थाको आन्तरिक उडान थला परेको बताए।

'जनताको लगानी भएको संस्थाबाट जनताले नै सेवा नपाउनु देशको समस्या हो। अयोग्य व्यक्तिका कारण जनताले सेवा लिन सकेका छैनन्। अनि यस्तै नेतृत्व निरन्तरताका लागि अदालतबाट स्टे आउँछ,' उनले भने,'म सरकारी निकाय हो, सुति सुति खान्छु भनेर सेवा प्रदान गर्न पाइँदैन। यो बिडम्बना हो। देशकै लागि दुर्भाग्यको कुरा हो।'

प्रतिस्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको उनले बताए। सरकारले नियुक्त गरेको अयोग्य व्यतिलाई नियमित तलब खुवाएर राख्नै पर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको उनको भनाइ छ। 

निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हाँस्यास्पद रहेको बताउँदै भने,'संसार ठप्प भएको बेला कहाँबाट आम्दानी हुन्छ। कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक हो। तर जुन स्रोतसाधनमा गरेको लगानी उठेको छ कि छैन महत्वपूर्ण कुरा हो। हिजो भन्दा आज आम्दानी गरेँ भनेर तर्क पेस गर्नु हाँस्यास्पद हो।'