अटो व्यवसायीको आन्दोलन पाँचौं दिन पनि जारी, माइतीघरमा सरकार र राष्ट्र बैंकविरुद्ध धर्ना



बिजमाण्डू
२०७९ मंसिर २२ गते ०९:५९ | Dec 8, 2022


अटो व्यवसायीको आन्दोलन पाँचौं दिन पनि जारी, माइतीघरमा सरकार र राष्ट्र बैंकविरुद्ध धर्ना


काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पाँचौं दिन पनि आन्दोलन जारी राखेको छ। सरकारले गत वैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाउँदै आएको फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण मिलाउन भन्दै उनीहरु आन्दोलनको कार्यक्रमहरुलाई निरन्तरता दिइरहेका छन्।

Tata
Global Ime

सोही बमोजिम बिहीबार अटो व्यवसायीहरुले माइतीघरमा धर्ना दिने भएका छन्। उनीहरु बिहीबार कालो पट्टि बाँधेर सरकार र राष्ट्र बैंकविरुद्ध आन्दोलन गर्ने तयारीमा छन्। उनीहरुले बैंकहरुले ब्याजदर बढाएको विरोधमा अन्दोलन गरिरहेका छन्।

यसैक्रममा अटो व्यवसायीहरुले यसभन्दा अघि आफ्नो सामाजिक सञ्जालको प्रोफाइल पिक्चर तथा वालमा नाराहरु राखेर अन्दोलन गरेका थिए। त्यस्तै उनीहरुले आफ्नो शोरुम तथा गाडीहरुमा नारा टाँसेर विरोध जनाएका छन्।

अटोमोबाइलका शोरुम तथा केही गाडीको अगाडि र पछाडि आयात प्रतिबन्ध खोल, गरी खान देऊ, शतप्रतिशत नगद मार्जिनको व्यवस्था खारेज गर, देशमा सरकार छ त, मौद्रिक नीति परिमार्जन गर लगायतका नारा लेखिएका ब्यानर टाँसेरले विरोध गर्दै आएका छन्। 

प्रतिबन्धका कारण हालसम्म ५६ वटाभन्दा बढी शोरुम बन्द भएका छन् भने सयौंको रोजगारी गुमेको छ। यसरी लामो समयदेखिको आयात प्रतिबन्धका कारण नेपालमा अटोमोबाइल व्यवसाय संकटमा परेको छ।