काठमाडौं। त्रिवेणी ग्रुप र शिव शक्ति ग्रुपको जोइन्ट भेन्चर महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिले २०२१/२२ मा ६ अर्ब ४९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीको अध्यक्षता वीरेन्द्र कुमार संघाइले गरेका छन्।
पोहोर कम्पनीले ५ अर्ब ७ करोड रुपैयाँ र २०१९/२० मा ३ अर्ब २६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीको वार्षिक वृद्धिदर ३५ प्रतिशत हुने गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालको रेटिङ विवरणमा उल्लेख छ। यो पछिल्लो पाँच वर्ष यताको तथ्याङक हो।
बारा जिल्लाको लिपनीमालमा उत्पादन प्लान्ट रहेको कम्पनीसँग वार्षिक ५६ हजार टन सोयाविन / पामोलियन तेल प्रशोधन गर्ने क्षमता छ। कम्पनीको कच्चा सूर्यमुखी तेल प्रशोधन गर्ने उद्योग पनि चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
कम्पनीले विभिन्न खाने तेल प्रशोधन गर्छ। महालक्ष्मी ब्राण्डमा कम्पनीले तेल बिक्री गर्छ। सोयाविन लगायत अन्य कच्चा तेल कम्पनीले भारत लगायत अन्य मुलुकबाट आयता गर्ने गरेको छ। आम्दानीको अधिकतम अंश कच्चा पदार्थको लागतमा खर्चिने गरेको छ। यसैले कच्चा पदार्थको मूल्यमा कुनै पनि उतार-चढावले नाफामा असर पार्ने गर्छ।
भारतसँगको सीमा नजिक रहेको हुँदा कम्पनीले भारतमा पनि प्रशोधित खाने तेल निर्यात गर्छ। २०२०/२१ मा मात्रै कम्पनीले कुल उत्पादनको ५४ प्रतिशत भारत निर्यात गरेको थियो। जुन २०२१/२२ मा आइपुग्दा ७४ प्रतिशत छ।
साथै, अमेरिकी डलरमा कच्चा पदार्थको आयातले गर्दा कम्पनीलाई विदेशी मुद्रा जोखिमको पनि उत्तिकै असर पर्न जान्छ। कच्चा पदार्थको मूल्य पनि निकै उतारचढाव हुने गर्छ।
कम्पनीले हाल ४ अर्ब ४२ करोड ८४ लाख रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ। कम्पनीले दीर्घकालिन र अल्पकालिन कर्जाका लागि रेटिङ गराएको हो।


