नयाँ बसपार्कमा राजस्व विभागको पहिरनमा नक्कली छापा, रकम असुल्ने गिरोह पक्राउ



२०७९ मंसिर २५ गते १७:५२ | Dec 11, 2022


नयाँ बसपार्कमा राजस्व विभागको पहिरनमा नक्कली छापा, रकम असुल्ने गिरोह पक्राउ


काठमाडौं। मंसिर २३ गते अपराह्न ४ बजे नीलो कोट पाइन्ट लगाएका व्यक्तिहरु नयाँ बसपार्कमा रहेको होटल र पसलहरुमा चहार्दै थिए। राजस्व अनुसन्धान विभागको कर्मचारी बताउने उनीहरुले पसल र होटलहरुको कर तिरे नतिरेको बारे बुझ्न आएको बताए। पसल र रेस्टुरेन्टहरुलाई कर नतिरेको भन्दै उनीहरुले जरिवाना रकम असुल गरिरहे।

Tata
Global Ime

बजारमा राजस्वका कर्मचारीहरुले छापा हान्दै गर्दा व्यापारीहरुमा खैलाबैला मच्चियो। तर, सरकारी भेसमा आएर रकम असुल गरेका ती व्यक्तिहरुले नक्कली परिचय बनाएर ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीले राजस्व अनुसन्धान कार्यालयको कर्मचारीको भेसमा ठगी र कीर्ते गर्ने सो गिरोहमा संलग्न ८ जना पक्राउ गरेको छ। कर्मचारीको युनिफर्म र परिचयपत्र लगाएर आएकाहरुले नयाँ बसपार्क क्षेत्रमा आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउँदै होटल रेस्टुरेन्टहरुमा पुगेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कर्मचारीको भेसमा नयाँ बसपार्कमा रहेको होटल तथा रेस्टुरेन्टहरुमा पुगेर सो गिरोहले विभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नुपर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गरेका थिए। नक्कली छापा खबर आएपछि प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले उक्त कार्यमा संलग्न विभिन्न ८ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा २९ वर्षीय बिनबहादुर बिक, २२ वर्षीया सृजना भट्टराई, १९ वर्षका सागरजंग लुहार, २३ वर्षीया प्रमिशा तामाङ, २३ वर्षीया दूधकला बिक, २१ वर्षीया अञ्जना तामाङ, २४ वर्षका राजीव बिष्ट र २५ वर्षका डेबिड धामी छन्।

पक्राउ पर्ने व्यक्तिहरुबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प, अनुगमन अधिकृत लेखिएको स्टाम्प, हस्ताक्षर भएको स्टाम्प, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरुका साथै राजस्व सम्बन्धी किताबहरु समेत बरामद गरेको छ। यस्तै, प्रहरीले आन्तरिक राजस्व कार्यालयको परिचयपत्रसमेत उनीहरुबाट फेला पारेको छ।

पक्राउ परेका व्यक्तिहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२१ को २४९ को ठगी गर्न नहुने कसूर तथा परिच्छेद-२५ को २७६ को कीर्ते गर्न नहुने कसुर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार विगत ४ दिनदेखि सो गिरोहले नयाँ बसपार्क इलाकामा रहेका विभिन्न होटल लज, पसलहरु तथा फुटपाथ पसलहरुबाट समेत विभिन्न परिमाणमा रकम असुल गरेको खुलेको छ।

राजस्व अधिकृत बनेर उनीहरुले पीडितहरुबाट प्राप्त रसिद र मोबाइल-पेबाट समेत गरी जम्मा ५ लाख ८ हजार ६४० रुपैयाँ समेत संकलन गरेको खुल्न आएको प्रहरीले जनाएको छ। सो गिरोहविरुद्ध हालसम्म चारजनाले लिखित जाहेरी दिएका छन्। अन्य पीडितहरु पनि प्रहरीको सम्पर्कमा आउने क्रम जारी रहेको जनाइएको छ।