काठमाडौं। नबिल बैंकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। ११ वर्षपछि बैंकले लाभांशको उक्त दरलाई दोहोर्याउँदैछ।
सञ्चालक समितिले १८.५ प्रतिशत बोनस सेयर दिन प्रस्ताव गरेको छ। बाँकी ११.५ प्रतिशत नगद हो। बैंकको कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको छ।
नेपाल बंगलादेश बैंकलाई प्रति कित्ता ४३ रुपैयाँमा गाभेपछि नबिलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुगेको छ। बोनस वितरणपछि नबिलको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ नाघ्नेछ।
मर्जरपछि बैंकले प्रस्ताव गरेको यो पहिलो लाभांश हो। पोहोर ३३.६ प्रतिशत बोनससहित ३८ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रस्तावित लाभांश राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।


