काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त, किन अस्तव्यस्त भयो ट्राफिक व्यवस्थापन ? 



२०७९ मंसिर २६ गते १६:१४ | Dec 12, 2022


काठमाडौं। सोमबार काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। ट्राफिक प्रहरीका अनुसार चारवटा कारणले सोमबार ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो।

Tata
Global Ime

सोमबार लैनचौर अगाडि मेलम्ची खानेपानीको पाइप फुटेका कारण जाम भएको ट्राफिक प्रहरीले जनाएको छ। लैनचौर ब्यांकेट अगाडि सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग, टुकुचा, संग्राहलय दक्षिणगेट, लैनचौर चोकमा सवारी साधन जाममा छ।

 सवारी साधनको संख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन जाममा परेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। 

ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण भइरहेको छ। बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुवाहक, मालवाहक तथा दुई पांग्रे सवारीसाधनलाई सर्भिस लेनमा र निजी चार पांग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट संचालन गर्ने व्यवस्था मिलाइएको छ। 

थली-साँखु सडक खण्डमा पीचको माग राखेर स्थानीयले अवरोध गरेका छन्। यो खण्डमा चल्ने सवारीसाधनलाई मुलपानीबाट ब्रह्‍मखेल हुँदै जाने/आउने व्यवस्था गरिएको छ।  यसका साथै वैकल्पिक मार्गको रुपमा डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटी निस्कन समेत सकिने व्यवस्था  गरिएको छ।

केही दिनदेखि मित्रपार्कमा खानेपानीको काम चलिरहेका कारण पनि जाम बढेको ट्राफिक प्रहरीको भनाई छ।