
ट्वीटरको कम्पनी व्यवस्थापनले सोमबार आफ्नो ट्रस्ट एन्ड सेफ्टी काउन्सिललाई रद्द गरेको छ। यो काउन्सिल सन् २०१६ मा साइटका लागि गरिने निर्णयहरूमा ट्वीटर व्यवस्थापनलाई सल्लाह सुझाव दिनका लागि गठन गरिएको समूह थियो।
इलन मस्कले कम्पनीको जिम्मेवारी सम्हालेदेखि यो सामाजिक सञ्जाल साइटका करिब ३ हजार ७ सयजना कर्मचारीहरू कामबाट निकालिएका छन्। यससँगै मस्क खर्च कटौती अभियानमा पनि लागिपरिरहेका छन्।
गत हप्ता काउन्सिलका तीन सदस्यहरूले ट्वीटर प्रयोगकर्ताहरूको सुरक्षाको चिन्तालाई कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। कम्पनीका ट्रस्ट र सेफ्टीका पूर्व प्रमुख योएल रोथ लगायत १ हजार भन्दा बढीले राजीनामा दिएका छन्।
‘ट्वीटर नयाँ चरणमा प्रवेश गर्दैगर्दा हामी हाम्रो प्रडक्ट तथा नीति विकास कार्यमा बाह्य अन्तरदृष्टि कसरी ल्याउने भनेर पुन: मूल्यांकन गर्दैछौं। यस प्रक्रियाको नै एक हिस्साको रूपमा, यसको लागि हामीले ट्रस्ट र सेफ्टी काउन्सिलको लागि उत्तम संरचना होइन भन्ने निर्णय गरेका छौं,’ ट्रस्ट र सुरक्षा काउन्सिलका सदस्यहरूलाई व्यवस्थापनले पठाएको इमेलमा उल्लेख छ।
यस लगत्तै ट्रस्ट र सेफ्टी ग्रुपका लागि बनाइएको ट्वीटर पेज पनि डिलिट गरिएको छ। उक्त काउन्सिलमा विभिन्न नागरिक अधिकार संगठनहरू, शिक्षाविद् र अन्य निकायहरू समावेश थिए, जसले सुरक्षाका लागि वकालत गर्नेदेखि ट्वीटरलाई उत्पादन, कार्यक्रम र नियम विकास गर्ने सल्लाह दिनेसम्म काम गरिरहेका थिए।
‘ट्वीटरलाई सुरक्षित, जानकारीमूलक प्लेटफार्म बनाउनका लागि हाम्रो काम पहिले भन्दा छिटो र अधिक आक्रामक रूपमा अघि बढ्नेछ र हामी यो लक्ष्य कसरी हासिल गर्ने भन्ने बारे तपाईंको विचारहरूलाई स्वागत गर्नेछौं,’ व्यवस्थापनको इमेलमा उलेल्ख छ। (रोयटर्सबाट साभार)