
काठमाडौं। वैदेशिक रोजगारीमा जानेले कल्याणकारी कोष र बीमाको रकम इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ।
वैदेशिक रोजगारीमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट बीमा रकम भुक्तानी गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सन नेपाल लाइफ इन्स्योरेन्सले जारी गर्ने म्यादी बीमा इसेवामार्फत भुक्तानी गर्न सकिने छ।
कम्पनीका अनुसार यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ। आफैंले वा आफ्नो साथीभाईको मद्दतबाट रोजगारको अवसर खोजेर श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगतरूपमा अनलाइन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन्। यस्तै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले पनि एकमुष्ठ कल्याणकारी कोषमा रकम बुझाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सक्ने बताइएको छ। इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्दा वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ।