बैंकरले हालेको मुद्दामा सुनुवाइ भएन: ५ गते अर्को मिति, आदेशसम्म सामाजिक सुरक्षामा नजाने



२०७८ असार ३१ गते १३:३४ | Jul 15, 2021


बैंकरले हालेको मुद्दामा सुनुवाइ भएन: ५ गते अर्को मिति, आदेशसम्म सामाजिक सुरक्षामा नजाने


Tata
Global Ime

काठमाडौं। सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारी र युनियनले हालेको मुद्दाको आजको सुनुवाइ पनि सरेको छ। सर्वोच्चले गत २२ गते आजका लागि दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने समय तोकेको थियो। 

आज सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बस्ने भएपछि बैंकका कर्मचारीले हालेको मुद्दाले सुनुवाइको समय पाएन। अर्को मिति साउन ५ गतेलाई तोकिएको छ।

सर्वोच्चले अर्को मिति दिएपछि कर्मचारीहरुले बिहीबारै बैंकर्स संघमा बैठक डाकेर अदालतको निर्णय नआएपसम्म सामाजिक सुरक्षा कोषमा नजाने सहमति गरेका छन्। कोषमा आज साँझ ५ बजेसम्म जानु पर्ने व्यवस्था छ।

कर्मचारीले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ती लैजान खोजेको भन्दै कर्मचारी र उनीहरुको युनियनले मुद्दा हालेका थिए।

अहिले २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन्। त्यसमध्ये ३ वटा सरकारी (कृषि, राष्ट्रिय वाणिज्य र नेपाल बैंक) बैंकलाई अर्थमन्त्रीस्तरीय निर्णयबाट कोषमा जान नपर्ने व्यवस्था मिलाइएको छ। निजी क्षेत्रका स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक कोषमा आबद्ध भइसकेका छन्।

यसबाहेकका २२ वटा बैंकका कर्मचारी युनियनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्। कर्मचारीहरुले एक महिनायता कोषका विरुद्धमा आन्दोलनसमेत गरिरहेका छन्। कोषले आज साँझसम्म दर्ता भइसक्न पत्र काटेको थियो।

आजसम्म दर्ता हुनेले अहिलेसम्म जम्मा भएको पैसा जागिर छाडेका दिन पाउनेगरी कार्यविधि संशोधन गरिएको छ। तर श्रम ऐनले पेन्सनको व्यवस्था गरेको छ। कार्यविधिलाई ऐनले काट्ने हुँदा कर्मचारीहरुले कोषमा जान चाहिरहेका छैनन्।