पर्यटन क्षेत्रमा रोजगारी गुमाउनेलाई २३ करोडको परियोजना, पर्यटन स्थल सरसफाइमा लगाइने



२०७८ भदौ ३ गते ११:२२ | Aug 19, 2021


पर्यटन क्षेत्रमा रोजगारी गुमाउनेलाई २३ करोडको परियोजना, पर्यटन स्थल सरसफाइमा लगाइने


काठमाडौं। कोभिडबाट रोजगारी गुमाएकालाई नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थान कार्यक्रम सुरु गरेको छ।

Tata
Global Ime

दिगो पर्यटन परियोजना अन्तर्गत विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई राहत पुर्‍याउने उद्देश्यले यो कार्यक्रम गरिएको बोर्डले जनाएको छ।

दुई वर्ष ६ महिना अवधिको परियोजनामा २० लाख ५० हजार डलर(२४ करोड १९ लाख रुपैयाँ बराबर) खर्चिने कार्यक्रम छ। परियोजनामा बोर्डले १० लाख र युएनडीपीले १० लाख ५० हजार डलर लगानी गर्नेछ। पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका पाँच हजार मजदुरलाई परियोजना मार्फत रोजगारी दिइने लक्ष्य राखिएको छ।

बोर्डले मुलुकभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने जनाएको छ। परियोजनामा बोर्ड, जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) बीच बुधबार सम्झौता भएको छ। सम्झौता अनुसार नाट्टाले महामारीले रोजगारी गुमाएका साढे पाँच सय भन्दा बढि जनशक्तिलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजगारी प्रदान गर्नेछ।

बोर्डका प्रमुख कार्यकारी प्रमुख अधिकृत डा.धनञ्जय रेग्मीले पर्यटन क्षेत्रबाट रोजगारी गुमाएकालाई अल्पकालीन रोजगारी दिएर जीविकोपार्जनमा सघाउन खोजेको बताए।

'कोभिडबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको अवस्था छ। यो क्षेत्रसँग सम्बद्ध मजदुरहरूले रोजगारी गुमाएका छन्। यो परियोजनाबाट मजदुरले केही दिनको भएपनि काम पाउँछन,' रेग्मीले भने।

उनका अनुसार पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मत सम्भार तथा सरसफाईमा मजदुरलाई लगाइने छ। काम गरेका मजदुरको बैंक खातामा सिधै रकम दिइने रेग्मीले जानकारी दिए। नाट्टाका अध्यक्ष अच्युत गुरागाइँले कोभिडबाट प्रभावित भएका पर्यटन क्षेत्रका जनशक्तिलाई थौरै भए पनि राहत पुग्ने बताए।