तीन युवाले ल्याउँदैछन् ‘रेष्ट्रो बी’, अनलाइनबाटै रेष्टुरेण्टको टेबल बुकिङदेखि फुड डेलिभरीसम्म



२०७८ पुष १९ गते १२:४० | Jan 3, 2022


तीन युवाले ल्याउँदैछन् ‘रेष्ट्रो बी’, अनलाइनबाटै रेष्टुरेण्टको टेबल बुकिङदेखि फुड डेलिभरीसम्म


काठमाडौं। मिल्ने साथी हुन- अनुप सापकोटा, संजय रानाभाट र शिरिष अधिकारी। पेसाले सापकोटा व्यवसायी हुन्। उनले एमबीएस गरेका छन्।

Tata
Global Ime

रानाभाट आइटी एक्सपर्ट हुन्। उनी अहिले आइटी कम्पनीमै काम गरिरहेका छन्। अधिकारी चार्टर्ड एकाउन्टेन्ट हुने उद्देश्यसाथ अध्ययनरत छन्।

बाल्यकालदेखिका सहपाठी यी तीनले पुरानो मित्रतालाई व्यवसायमा पनि सहकार्य गर्दै 'रेष्ट्रो बी' नामको कम्पनी संचालनमा ल्याउन लागेका छन्। जसले नेपालको हस्पिटालिटी क्षेत्रमा ठूलो परिवर्तन ल्याउने उनीहरुको विश्वास छ।

ढिलोमा एक महिनाभित्र सेवा सुरु गर्ने गरी तयारी भइरहेको कम्पनीका मुख्य लगानीकर्ता सापकोटाले बताए। 

के हो त 'रेष्ट्रो बी' ?
रेष्ट्रो बी अनलाइन प्लेटफर्म हो। जसमार्फत आफूलाई मन परेको रेष्टुरेण्टको टेबल बुकिङ गर्न सकिन्छ। एप र वेबमार्फत बुकिङ गर्न सकिने गरी यसको सिस्टम विकास गरेको यसका संचालकहरु बताउँछन्।

सेवाग्राही र रेष्टुरेण्टहरुका लागि छुट्टाछुट्टै एप विकास गरिएको सापकोटाले बताए। उनका अनुसार रेष्टुरेण्टहरुका लागि 'रेष्ट्रो बी भेण्डर' र सेवाग्राहीहरुका लागि 'रेष्ट्रो बी' एप विकास गरिएको छ। एप तयार भए पनि सेवा सुरु नभएका कारण अहिले प्ले स्टोर लगायतका एप्लिकेशन डाउनलोड प्लाटफर्ममा भने राखिएको छैन।

यसरी लिन सकिनेछ सेवा
सेवा सुरु भएपछि कसैले यो सेवा लिन चाहे एप डाउनलोड गरेर वा वेबमा गएर प्रोफाइल बनाउनुपर्छ। त्यसपछि त्यसमा लिष्टिङ भएका रेष्टुरेण्टहरुको विवरण देखिनेछ। सो आधारमा आफूलाई मनपर्ने रेष्टुरेण्टको टेबल बुक गर्न सकिनेछ।

सेवाग्राहीले गरेको रिक्वेष्टलाई रेष्टुरेण्टले एक्सेप्ट गरेपछि बुकिङ हुन्छ। रेष्टुरेण्टको नाम र उपलब्ध टेबल मात्र नभइ उक्त रेष्टुरेण्टमा पाइने खाना, त्यसका लागि तिर्नुपर्ने शुल्क, सेवा, सुविधा, त्यहाँ कति सेवाग्राही छन् लगायतको विवरण समेत राखिएको हुनेछ। सो आधारमा आफूलाई उपयुक्त हुने रेष्टरेण्टको टेबल बुकिङ गर्न सकिने सापकोटाले बताए।

टेबल बुक गर्दा सेवाग्राहीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। होटलहरुले रेष्ट्रो बीलाई एपमा लिस्टिङ तथा सब्सक्रिप्सन लगायतको शुल्क तिर्नुपर्नेछ। तर अहिले सुरुवाती चरणमा रेष्टुरेण्ट लिष्टिङमा छुट दिइएको छ।

पहिलो चरणमा यो सेवा चितवनमा मात्र उपलब्ध हुनेछ। तत्काल ट्रायलको रुपमा चितवनमा यो सेवा सुरु गर्न लागिएको छ। त्यसपछि काठमाडौं, पोखरा, बुटवल हुँदै देशका मुख्यमुख्य शहरहरुमा सेवा विस्तार गर्ने योजना रहेको सापकोटाले सुनाए। 'काठमाडौं ठूलो शहर हो। हामीले त्यहीबाट सेवा सुरु गर्ने सोच बनाएका थियौं। तर केही समय हामी चितवनमा ट्रायल गर्छौं,' उनले भने,' हाम्रा कमी कमजोरीहरु ट्रायलपछि थाहा हुन्छ। त्यसलाई सुधारेर काठमाडौं, पोखरा, बुटवल लगायतका देशभरिका शहरहरुमा विस्तार गर्दै जान्छौं।'

मोबाइल एपबाटै आफूलाई मन परेको रेष्टुरेण्टको खानेकुरा घर, कार्यालयमै मगाएर खानेहरुको सङ्ख्या बढ्दो छ। कार्यव्यस्तताले चाहेजस्तो खाने कुरा खान जान नभ्याउनेहरुका लागि फुड डेलिभरी गर्ने स्टार्टअप कम्पनीहरु आउन थालेसँगै यो सुविधा सम्भव भएको हो।

फुड डेलिभरीको यस्तो सेवा दिने अहिले फुडमाण्डु, भोज डिल जस्ता थुप्रै कम्पनीहरु संचालनमा छन्। तर अब खाना मगाउने मात्रै नभएर मोबाइल एपबाटै आफूलाई मनपर्ने रेष्टुरेण्टको टेबल बुकिङ गर्न मिल्ने सेवा समेत उपभोक्ताले रेष्ट्रो बी मार्फत पाउने भएका छन्।

यो व्यवसाय संचालनमा ल्याउनका लागि लगानीकर्ता त्रयले अहिले ३५ लाख रुपैयाँ सुरुआती लगानी लागेको बताएका छन्। यसमा मुख्य लगानीकर्ता सापकोटाको ४५ प्रतिशत सेयर हिस्सा छ। रानाभाटको ३० र अधिकारीको २५ प्रतिशत सेयर छ।

उनीहरुले तीन वर्षअघि नै रेष्ट्रो बीको अवधारणा र योजना बनाएका थिए। सोहीअनुरुप त्यतिबेलादेखि नै तयारी थालेर अंग्रेजी नयाँ वर्षमै ल्याउने योजना बनाएका थिए। तर केही फिचरहरु थप्नुपर्ने भएकाले करिब एक महिना ढिला गरी सुरु गर्न लागेको सापकोटाले सुनाए।

उनीहरुले यो व्यवसाय सुरु गर्न लाग्नुको मुख्य उद्देश्य रेष्ट्रो बीलाई एउटा परिचित कम्पनी बनाएर हस्पिटालिटी क्षेत्रलाई योगदान पुर्‍याउने रहेको छ।

टेबल बुकिङसँगै फुड डेलिभरी सेवा पनि
रेष्ट्रो बीमार्फत फुड डेलिभरी समेत गर्ने योजना छ। अरु फुड डेलिभरी कम्पनीहरु जसरी नै आफूलाई मन परेको रेष्टुरेण्टको खानाहरु मगाउन सकिनेछ।

रेष्टुरेण्टहरुले तोकेको मेनुको दररेटमा खाना मगाउन सकिने सापकोटाले बताए। उनका अनुसार डेलिभरीको व्यवस्था रेष्ट्रो बी आफैंले गर्नेछ। एपमा सेवा लिन चाहनेले अर्डर गर्न सक्नेछ। त्यसका आधारमा ट्रयाक गरेर रेष्टुरेण्टहरुले अर्डर तयार गर्नेछ। त्यसपछि रेष्ट्रो बीले अर्डरको खानेकुरा डेलिभरी गरिदिनेछ। 

रेष्टुरेण्टहरु आफैंले पनि यो सेवा प्रयोग गरेर डेलिभरी गरिदिन सक्नेछ्न्। यसका लागि रेष्ट्रो बीलाई नोमिनल चार्ज तिर्नुपर्नेछ। सिस्टम प्रयोग गरेवापत शुल्क लिइने सापकोटाले बताए।

युरोपका अधिकांश देशहरुमा यस्तो सेवा लोकप्रिय छ। युरोपमा 'द फर्क' ओपन टेबल सर्भिस लोकप्रिय छ। त्यहीँबाट प्रेरित भएर उनीहरुले सेवा सुरु गर्ने योजना बनाएका हुन्। उनीहरुको प्राथमिकतामा क्याफे, रेष्टुरेण्ट, रिसोर्टहरु रहेका छन्।

'मानिसहरुले अनलाइनबाटै बुकिङ गर्ने भएपछि साना चिया पसलहरुमा जाँदैनन। त्यही भएर हामीले मध्यमस्तरका रेष्टुरेण्टहरुलाई प्राथमिकतामा राखेका हौं,' सापकोटाले भने,'घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि समेत यो उपयोगी हुनेछ।'

आजको पुस्ताका मानिसहरु इन्टरनेटमैत्री हुनुका साथै अधिकांशको हातमा मोबाइल सेट भएकाले मानिसहरु डिजिटल प्रविधिको प्रयोगमा अभ्यस्त छन्। रेष्ट्रो बीले त्यस्तो अवसरको सदुपयोग गर्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने अपेक्षा राखेको सापकोटा बताउँछन्। उनले यो सेवा प्रयोगले सेवाग्राहीको समयको सदुपयोग हुने पनि दाबी गरे।

त्यस्तै जान खोजेको उक्त रेष्टुरेण्टमा आफूले चाहेजस्तो खानेकुरा छन् वा छैनन् भन्ने समेत जानकारी हुनेछ। त्यस्तै, रेष्टुरेण्टहरुलाई समेत कति ग्राहक आउँदैछन् भनेर तिनको व्यवस्थापनका लागि समेत सहज हुने अपेक्षा सापकोटाको छ।