लिकर उद्योगमा खुकुरी रमको एग्रेसिभ रि-इन्ट्री, ब्राण्ड र प्याकेजिङमा नयाँपनले युवालाई तान्यो



२०७८ पुष २६ गते ०८:५९ | Jan 10, 2022


लिकर उद्योगमा खुकुरी रमको एग्रेसिभ रि-इन्ट्री, ब्राण्ड र प्याकेजिङमा नयाँपनले युवालाई तान्यो


कोभिड महामारीका कारण बितेका दुई वर्ष उद्योग व्यवसायका लागि निकै कष्टप्रद समय थियो। लकडाउनका कारण सबैतिरका व्यापारिक गतिविधि सुस्त थिए। तर त्यही समयलाई पनि भित्रभित्रै क्यास गरिरहेको थियो नेपाल डिस्टिलरिजले, जसले २ वर्ष लामो बजार विश्लेषणपछि पछिल्लो समय आफूलाई निकै आक्रामकरूपमा बजारमा उतारेको छ। खुकुरी रमको नयाँ ब्राण्डिङ र रि-प्याकेजिङ त्यसमध्येकै एउटा हिस्सा हो।

Tata
Global Ime

कुनै पनि उत्पादनको बजार कसरी सिफ्ट हुन्छ?

बजारलाई स्वतस्फूर्त र त्यसै छोडिदिने हो भने त्यसको सिफ्ट प्राकृतिकरूपमै बजारको माग र आपूर्तिका विविध आयामहरुमा आधारित भएर हुने गर्छ। त्यसको धार कतातिर बहन्छ अनुमान गर्न सकिन्न। तर त्यो उत्पादनको ब्राण्डिङ र विश्व बजारको प्रभावमा आधारित भएर हुने सिफ्टले धेरै हदसम्म सफलतातर्फ त्यो उत्पादनलाई डोर्‍याउने गर्छ।

जुनसुकै उत्पादनमा पनि मार्केट सिफ्टको विज्ञान यस्तै नै हो र यही अवधारणा मदिरामा पनि लागू हुन्छ। यही विज्ञानमा आधारित रहेर खुकुरी रमले आफ्नो ब्राण्डिङ र रि-प्याकेजिङ सुरु गर्‍यो। कसरी उपभोक्तासम्म आफ्नो उपस्थितिलाई अब्बल र विशेष बनाइराख्ने र यसको हेरिटेजलाई जोगाइराख्ने भन्नेमा नै आफूहरु केन्द्रित भएर अघि बढेको नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछाने बताउँछन्।

नेपाली सम्पदाको महत्वपूर्ण चिनारी खुकुरी आकृतिका कारण देश विदेशमा चिनिएको खुकुरी रम एकनासकै पुरानो रफ्तारमा थियो। पुरानो व्यवस्थापन खासै एग्रेसिभ पनि थिएन। त्यो समय 'पुस मार्केट'को अवधारणामा काम भइरहेको थिएन किनभने पुरानै विरासतले खुकुरीको बजारलाई थामेको थियो।

तर जब कम्पनीमा नयाँ व्यवस्थापन आयो त्यसपछि नयाँ जोस र युवाहरुको टिम पनि सँगै भित्रियो। उनीहरु जसरी खुकुरीको ब्राण्डिङ र रि-प्याकेजिङमा रफ्तारका साथ अघि बढे त्यसले एकपटक फेरि खुकुरी रमको स्वर्णिम समयलाई फर्काइदिएको छ।

समग्र लिकर सेक्टरमै खुकुरी रमको बजार ३० प्रतिशतसम्म बढेको महाप्रबन्धक लामिछानेको भनाइ छ। कोभिड महामारीका कारण दुई वर्ष सुस्ताएको लिकर बजारमा खुकुरी रमको अहिलेको उपस्थितिले विरासतमा पाएको एउटा ब्राण्डले कसरी बजारमा आफूलाई फेरि रि-ब्राण्डिङ गरेर सफलता फिर्ता लिन सक्छ भन्ने उदाहरण पनि बनेको छ।

उनी भन्छन्-'हामीले प्याकेजिङ परिवर्तन गर्दा हाम्रो जुन हेरिटेज छ त्यो स्पष्ट रूपमा देखियोस् भन्ने नै चाहेका थियौं। किनभने खुकुरी रमको ब्राण्डको जुन हेरिटेज हिस्ट्री छ त्यो नै यसको ब्राण्ड भ्यालु पनि हो। त्यसैले हाम्रो चिन्ता नै ब्राण्डको हेरिटेज हिस्ट्रीलाई कभर गर्नु थियो। तर हामीले त्यो चिन्ताको सम्बोधन कुशल ढंगले गर्न सक्यौं। त्यो नयाँ प्याकेजिङमा स्पष्ट देखिन्छ।'

खुकुरीको प्याकेजिङमा परिवर्तन नभएको दुई दशकभन्दा बढी भइसकेको थियो। जतिबेला त्यसको प्याकेजिङ परिवर्तन भएको थियो त्यो खासै 'रिभोल्युसनरी' पनि थिएन भन्ने नयाँ व्यवस्थापनको बुझाइ थियो। कुनै पनि उत्पादनको प्याकेजिङ त्यो ब्राण्डसँग कन्टेम्पोररी हुनुपर्छ भन्ने व्यवस्थापनको मान्यता अनुसार नै प्याकेजिङमा परिवर्तनको योजना बन्यो। तर त्यसको बजारमा आउने रेस्पोन्सबारे पनि उनीहरु उत्तिकै सचेत थिए।

प्याकेजिङले उत्पादनको खरिदको निर्णयलाई नै प्रभावित गर्ने गर्छ। प्याकेजिङमा परिवर्तन आउनासाथ बजारमा त्यस उत्पादनमा केही न केही रेसिस्टेन्स आउने गर्छ। त्यसैले यसका लागि व्यवस्थापनले दुई वर्ष लगाएर क्वालिटेटिभ रिसर्च गर्‍यो। काठमाडौं, दुर्गम पहाडी भेग तथा तराईका बिभिन्न ठाउँमा यसबारे कम्पनीले लामो समय लगाएर गरेको अध्ययनका कारण प्याकेजिङ परिवर्तनपछि पनि रेसिस्टेन्स नआएको महाप्रबन्धक लामिछाने बताउँछन्।

पटक पटक बोटल र लेबललाई रिसर्चमा लैजाँदै त्यसको फिडब्याकमै आधारित भएर फाइनल प्याकेजिङ तयार भएको उनले जानकारी दिए। फेरि प्याकेजिङ परिवर्तन हुँदैछ भनेर पटक पटक बजारमा दिएको जानकारीका कारण पनि बजारमा 'ब्रिदिङ स्पेस' पाएको र उपभोक्ता त्यसका लागि उत्सुक बनेको उनको भनाई छ।

रिसर्चपछि नै ब्राण्डिङमा क्रस खुकुरी र पहाड भिजिबल भएर आएको छ। र यसलाई युवाहरुले रुचाउने गरी बोटलिङ पनि गरिएको छ। नाम खुकुरी तर लेबलमा राम्रोसँग देखिएन भन्ने युवाको मागलाई नयाँ प्याकेजिङमा सम्बोधन गरिएको छ। उनका अनुसार नयाँ प्याकेजिङपछि उपभोक्ताको ब्राण्डप्रतिको 'पोजेटिभनेस' बढेको छ।

कम्पनीमा तीन वर्ष अघि नयाँ व्यवस्थापन आएपछि ब्राण्डलाई थप बलियो र भिजिबल देखाउन विभिन्न इभेन्टहरु गर्न थालिएको थियो। त्यसैगरी परम्परागत सेल्स च्यानलाई 'रि-एरेन्ज' गरिएको छ। त्यस अन्तर्गत कतिपय ठाउँमा नेटवर्क बिस्तार गरिएको छ भने कतिपय ठाउँमा वितरण च्यानललाई 'रिसफल' नै पनि गरिएको छ। यसले बिक्रीमा धेरै फरक पारेको महाप्रबन्धक लामिछानेले बताए।

शैली परम्परागत, ब्राण्डमा नयाँपन

नेपाल डिस्टिलरिजमा नयाँ लगानीकर्ता आएपछि त्यसको व्यवस्थापनमा नयाँ पुस्ता पनि जोडियो। महाप्रबन्धकका रुपमा युवा लामिछानेले जिम्मेवारी सम्हाले। बजारीकरण र वितरण प्रणालीमा उनी जस्तै नयाँ टिम जोडियो। त्यो टिम सेल्समा एग्रेसिभ भएर लाग्यो जसले कोभिड अघिको वर्ष सुस्ताएको खुकुरी रमको बजारलाई उकास्न मद्दत गर्‍यो।

त्यसलगत्तै दुई वर्ष कोभिडले व्यापारमा अवरोध गर्‍यो। यस वर्ष फेरि सेल्समा देखिएको एग्रेसनका कारण खुकुरी रमले कोभिड अघिको बजार फिर्ता लिइसकेको छ। 'हामी कोभिड महामारीअघि जुन अवस्थामा थियौं, अहिले त्यो भन्दा राम्रो अवस्थामा पुगिसक्यौं। ओभरअल इन्डस्ट्री ग्रोथको भन्दा खुकुरी रमको ग्रोथ बढी छ,' महाप्रबन्धक लामिछानेले सुनाए।

मदिरा पारखीहरु भन्ने गर्छन्-'खुकुरी रमको विशेषता भनेकै त्यसको ६ दशकदेखिको एकैनासको स्वाद र गुणस्तर हो।' जतिबेलादेखि खुकुरी रम उत्पादन हुन थाल्यो आज पनि त्यसका बिभिन्न इन्ग्रेडियन्टको समिश्रणलाई उस्तै किसिमले 'ह्याण्ड क्राफ्टेड' नै तयार पारिने गरिएको छ।

कम्पनीको कारखानामा आज पनि उसैगरी क्यारामेल आगोको भट्टीमा पाक्ने गर्छ, जसरी ६० वर्षअघि पाक्ने गर्थ्यो। अहिले क्यारामेल सजिलै किन्न पाइन्छ। वर्षभरिका लागि पुग्ने क्यारामेल किन्यो भने पहिलेभन्दा काम निकै छरितो र उत्पादन क्षमतामा पनि निकै वृद्धि हुन सक्छ भन्ने जान्दा जान्दै पनि कारखानमा दाउराको आगो दन्काएरै ठूलो भाँडामा दिनभर लगाएर क्यारामेल पकाइन्छ।

किन त?

'क्यारामेल मात्र होइन हाम्रा धेरै समिश्रणहरुमा उसैगरी हातैले काम भइरहेको छ, जसले हाम्रो गुणस्तरलाई स्थिर गर्छ। हामी पूर्णरूपमा अटोमेटेड हुन नसक्नुको कारण यो पनि हो, उत्पादन क्षमता बढाउन नसकेको अवस्थाबारे महाप्रबन्धक लामिछानेले व्याख्या गरे।

नयाँ व्यवस्थापनले अब रमको बजारलाई विविधिकरण गर्ने रणनीतिमा समेत काम गरिरहेको छ। 'हाम्रो पहिलो प्राथमिकता रमको गुणस्तर कायम गर्नु हो भने दोस्रो रणनीति रमको पोर्टफोलियो कम्प्लिट गर्नु पनि हो। हामीले आफ्नो लिडरसिप मेन्टेन गर्न पनि उपभोक्तासँग कम्युनिकेट गरिराख्नुपर्ने हुन्छ। यसैका लागि हामी आफ्नो पोर्टफोलियोलाई बिस्तार गर्दैछौं,' उनले भने।

अहिलेसम्म खुकुरी रमको डार्क र स्पाइस रम बजारमा छ। स्पाइस रमको पनि नयाँ प्याकेजिङ आउँदैछ। त्यस लगत्तै ह्वाइट रम र फ्लेवर्ड रमका विविध सेगमेन्ट यसै आर्थिक वर्षभित्र बजारमा आउने उनले जानकारी दिए। 'अब हामीलाई अझ बढी एग्रेसिभ भएको देख्नुहुन्छ। मार्केट लिडरले सेल्स मात्र हेर्दैन पोर्टफोलियो पनि बिस्तार गर्दै जान्छ र हामी त्यसरी नै बिस्तारमा जाँदैछौं। यसै आर्थिक वर्षमा हामी थप प्रकारका रमहरु बजारमा ल्याउँदैछौं।'- उनले भने।

चुनौती चिर्दै खुकुरी

मदिरा उपभोग गर्ने एउटा यस्तो वर्ग छ जो अहिले पनि विदेशी ब्राण्ड मात्र राम्रो हुन्छ भन्ने मान्यता राख्छ। उनीहरुका लागि मदिराको गुणस्तरले भन्दा पनि 'कन्ट्री अफ ओरिजिन'ले अर्थ राख्छ। विदेशी ब्राण्ड समात्दा मात्र 'लेबल' देखिने सोचका कारण उनीहरुमा स्वदेशी ब्राण्डप्रति उति धेरै सकरात्मकता हुँदैन।

विदेशी ब्राण्ड उपभोग गर्नेले स्वदेशी ब्राण्ड पनि कतै विदेशमा गएर बिक्छ भन्ने तथ्यलाई बिर्सिरहेको हुन्छ। तर पाँच वर्ष यता त्यो वर्गमा पनि स्वदेशी ब्राण्ड स्वीकार्ने प्रवृत्ति बढेको महाप्रबन्धक लामिछानेको अनुभव छ। खुकुरी रमलाई त्यो वर्गले पनि जसरी 'इन्कर्पोरेट' गरिरहेको छ। त्यो अन्य स्वदेशी ब्राण्डका लागि सकारात्मक ऊर्जाका रूपमा देखिएको उनी बताउँछन्।

रमको बजारलाई चोरीपैठारीको समस्याले पनि निकै असर गरिरहेको छ। सीमावर्ती क्षेत्रमा हुने चोरीपैठारी र स्वदेशी उत्पादनको मदिराको मूल्यमा धेरै ग्याप हुने गरेको उनले बताए। नेपाली बजारमा १८ सय पर्ने र भारतमा ८ सय पर्ने उस्तै किसिमका उत्पादनका कारण स्वदेशी मदिरा उद्योगहरु मारमा परेको लामिछाने बताउँछन्।

यस्तै घरेलु मदिराहरुले पनि संगठित क्षेत्रका मदिरा उद्योगहरुलाई प्रभावित बनाइरहेको छ। घरेलु मदिरा सस्तो हुन्छ र सुलभ उपलब्ध छ तर त्यसको गुणस्तर तथा उत्पादनमा कुनै मापदण्ड नभएको हुनाले त्यसले मानिसको स्वास्थ्यमा कस्तो असर पारिरहेको हुन्छ भन्ने पनि थाहा हुँदैन। तर पनि घरेलु मदिराको बिक्री वितरण रोकिएको छैन। सीमावर्ती बजारमा पाइने मदिराहरु तथा गुणस्तरको मापन नहुने गरेका घरेलु मदिराका कारण स्वदेशी मदिरा उद्योगहरुमा 'रिपल इफेक्ट' देखिइरहेको हुन्छ। अहिलेको अवस्थामा चोरी पैठारीमा नियन्त्रण हुन नसक्नु तथा घरेलु मदिराको उत्पादनमा नियन्त्रण नहुनु स्वदेशी मदिरा उद्योगहरुका लागि चुनौती भएको महाप्रबन्धक लामिछानेको भनाइ छ।

निर्यात बजारको माग 'पेन्डिङमा'

खुकुरी रम नेपालमा मात्र नभइ विदेशमा रहेका नेपालीमाझ पनि उत्तिकै चर्चित छ। रमको ब्राण्डिङमा प्रयोग भएको क्रस खुकुरीले बोकेको राष्ट्रियता र यसको लेबलिङमा देखिने नेपालीपनले उपहारका रूपमा यसलाई विदेश लैजाने क्रम बढ्दैछ। विदेशीहरुमाझ पनि नेपाली पेयका रूपमा यसले चर्चा पाएको छ।

त्यसैले पनि खुकुरी रम लामो समयदेखि विदेशमा निर्यात भइरहेको छ। खुकुरीको आकारमा तयार पारिएको बोतलमा भरेर पठाइने रम उपहारका रुपमा विदेश लैजाने नेपाली मदिराको सूचीमा पहिलो रोजाइमा पर्छ। 'कोरोनेसन' रमका रुपमा चर्चित यो विशेष प्रकारको खुकुरी आकारमा तयारी पारी तत्कालीन राजा वीरेन्द्रको गद्दी आरोहणका समयदेखि तयार पारिएको हो। अहिले पनि जापान, कोरिया, हङकङ र अमेरिकामा यसको माग छ।

'तर पनि आन्तरिक माग पूरा गरेपछि मात्र हामी निर्यातमा जाने हो। तर नेपालकै माग अहिले यति धेरै छ कि हाम्रा निर्यातका सबै मागहरु पेन्डिङमा राखेर स्वेदशी बजारमा हामीले आपूर्ति गरिरहेका छौं।'- लामिछानेका अनुसार खुकुरी रमको कोर मार्केट भनेकै नेपाल हो र कम्पनीको दायित्व पनि यहीँको माग पूरा गर्नतर्फ रहनेछ। त्यही कारण अहिले धेरै देशबाट आएका अर्डरहरु पेन्डिङमा राखिएको उनले बताए। खुकुरीको ट्रिपल एक्स रम जाडो यामका कात्तिकदेखि माघसम्म आन्तरिक बजारमै यति धेरै खपत हुन्छ कि कम्पनीले चाहेर पनि बढी निर्यात गर्नै नसक्ने उनको भनाइ छ।

कम्पनीले प्रत्येक वर्ष केही न केही क्षमता बढाउँदै लैजाने गरेको छ। तर सबै काम मेसिनले नहुने र धेरै कामहरु अहिले पनि ह्याण्ड क्राफ्टेड हुने भएकाले रातारात भनेजति क्षमता बिस्तार गर्न सकेका नसकेको उनी बताउँछन्। 'जबसम्म हाम्रो उत्पादन ह्याण्ड क्राफ्टेड र सीमित परिमाणमा भइरहन्छ हामीले चाहेर पनि भनेजति निर्यात गर्न सक्दैनौं,'- उनले भने।

नयाँ पुस्ता तान्दै 'रि–प्याकेजिङ'

रम भनेकै जाडोमा खाने पेय पदार्थ हो भन्ने मानसिकता उपभोक्तामा बसिसकेको छ। तर प्रिमियम रमको कुनै सिजन हुँदैन। खुकुरी रमको पारखी एउटा यस्तो पुस्ता पनि छ, जसले गर्मी याममा 'रम एण्ड कोक' खाने गर्छ। जाडोमा 'हट रम पंच'।

रम खाने मिडिल एज मात्र होइन 'रम एण्ड कोक' खाने युवा पुस्ताले पनि खुकुरीको नयाँ प्याकेजिङ उत्तिकै मन पराएको महाप्रबन्धक लामिछानेले बताए। अब कम्पनीले आफ्नो पोर्टफोलियो कम्प्लिट गर्दा गर्मियामकै लागि भनेर रम तयार पार्ने उनले जानकारी दिए। कम्पनीले खुकुरी रमलाई होल इयर साइकलमा बदल्नका लागि काम गरिरहेको उनको भनाइ छ।

खुकुरीलाई मिडिल एजको ब्राण्ड भनिए पनि यसमा परिवर्तन आइरहेको महाप्रबन्धक लामिछाने बताउँछन्। उनका अनुसार नयाँ प्याकेजिङपछि युवा पुस्तामा यसको बढी 'फ्यासिनेसन' देखियो। त्यसैले युवा पुस्तालाई उसले बुझ्ने भाषामा कम्युनिकेट गर्ने रणनीति लिएको उनले बताए। उनका अनुसार खुकुरी रमको हेरिटेजलाई कसरी युवा पुस्ताले एडप्ट गर्छ त्यसरी नै उनीहरुसँग कम्युनिकेट गर्ने काम कम्पनीले गरिरहेको छ।

कुनै पनि उत्पादनबारे बजारमा कम्युनिकेट गर्दा युवा पुस्तालाई हेरिटेजको कम्युनिकेसन क्लिष्ट हुन सक्छ। किनभने हेरिटेजले सधैं गम्भीर प्रकृतिको वजन बोकेको हुन्छ र नयाँ पुस्ताले त्यसलाई आफ्नो भाषामा सुनेन भने खासै अर्थ राख्दैन। त्यसैले पनि नयाँ पुस्तालाई उसकै भाषामा सम्बोधन गरेर उत्पादनतर्फ तान्न सकिन्छ।

'हेरिटेजलाई कसरी योङ मान्छेले पनि एडप्ट गर्न सक्छ भनेर हामीले पूरै सचेत भएर काम गरेका छौं।'- महाप्रबन्धक लामिछाने भन्छन्-'जसरी युवाहरुले स्वीकार गर्न सक्ने भाषामा उनीहरुलाई हेरिटेजबारे भन्नुपर्ने हुन्छ, खुकुरी रममा पनि हामीले त्यही गरेको हो। युवा पुस्तालाई कम्युनिकेट गर्न उसले सुन्ने बुझ्ने भाषामा भन्नुपर्छ। उसले बोल्ने भाषामा कम्युनिकेट गर्नु नै हाम्रो कोसिस हो।'