के सिमेन्टमा ‘असफल’ भएका हुन् विनोद चौधरी? पछि आएकाले उछिने, चौधरी जहीँकोतहीँ



२०७८ माघ १६ गते ०८:५० | Jan 30, 2022


के सिमेन्टमा ‘असफल’ भएका हुन् विनोद चौधरी? पछि आएकाले उछिने, चौधरी जहीँकोतहीँ


काठमाडौं। उद्योगी विनोद चौधरीले दुई दशकअघि भारतकै ठूलोमध्येको रियल इस्टेट डेभलपर अन्सल बिल्डवेल लिमिटेडलाई नेपाल भित्र्याउँदै अन्सल चौधरी डेभलपर्स प्रालि नामको संयुक्त लगानी कम्पनी खडा गरेर रियल इस्टेटमा हात हाले। त्यसले चौधरीलाई नेपालमा व्यवस्थित बसोबास भित्र्याउने पायोनियर कम्पनी पनि बनायो।

Tata
Global Ime

तर, त्यससँगै वा त्योभन्दा पनि पछि आएका रियल इस्टेट कम्पनीहरुले दर्जनौं हाउजिङ-अपार्टमेन्ट ल्याइसक्दा चौधरी भने यो व्यवसायमा खासै जम्न सकेनन्। काठमाडौं रेजिडेन्सी (सन् २०००), माउन्ट-भ्यु रेजिडेन्सी (फेज १, २र ३ सहित) हुँदै सीजी हिल्स (सन् २०१३) पछि विनोद चौधरी नेतृत्वको चौधरी समूह आठ वर्षको अन्तरमा बल्ल नयाँ हाउजिङ परियोजना ल्याउँदै छ।

थुप्रै बिजनेस भर्टिकलमा हात हाल्दै जाँदा प्रडक्ट विविधिकरणबाट नेपालको रियल इस्टेट ल्याण्डस्केप बदल्न सक्ने 'फर्स्ट मुभर एडभान्टेज' लाई पनि उनले क्यास गर्न सकेनन्।

चौधरीको ठीक यस्तै अवस्था सिमेन्ट उद्योगमा पनि देखिएको छ। 

करिब एक दशकअघि सिमेन्टमा आक्रामक रुपमा अर्बौं लगानी गर्दै नेपालको 'मार्केट लिडर' बन्ने उद्घोष गरेको चौधरी समूहको यो महत्वाकांक्षा धिमा गतिमा घस्रिरहेको देखिन्छ। उक्त घोषणाभन्दा निकै पछि योजना बनाएका ठूला क्षमताका थुप्रै सिमेन्ट प्लान्टहरु संचालनमा आइसक्दा सीजीले भने यो क्षेत्रमा हात हालेको एक दशक बित्दा नवलपरासीमा मध्यम क्षमताको एउटा उद्योगभन्दा बढी प्लान्ट स्थापना गर्न सकेको छैन। 

३० मंसिर २०७० मा नवलपरासीस्थित गंगादेवी चौधरी उद्योगग्राममा सीजीका अध्यक्ष विनोद चौधरीले पत्रकारहरुसँग भनेका थिए – 'सिमेन्ट उद्योगमा राम्रो सम्भावना देखेका छौं, देशलाई सिमेन्टमा आत्मनिर्भर बनाउन अर्बौंको लगानी गर्दैछौं। सिमेन्ट उद्योगका लागि सरकारले गरेको नीतिगत व्यवस्थाका कारण हामी आकर्षित भएका हौं।’

वर्ष २०६५/६६ को बजेटबाट सरकारले सिमेन्ट उद्योगलाई खानेपानी र पहुँचमार्गसँगै विद्युत लाइनको पनि सुनिश्चितता (निःशुल्क निर्माण) गरिदिने नीति अघि सारेको थियो। नेपालमा प्रमाणित चुनढुंगा भण्डार नै १.७ अर्ब टन रहे पनि त्यसको दोहन गर्न नसक्दा सिमेन्ट तथा क्लिंकर आयातमा बर्सेनि अर्बौं रुपैयाँ बाहिरिइरहेको पृष्ठभूमिमा त्यसलाई निरुत्साहित गर्न नेपालमै सिमेन्ट उत्पादन वृद्धिलाई प्रोत्साहित गर्ने सोचले सरकारले त्यो घोषणा गरेको थियो।

खासगरी सरकारको सोही सुविधालाई संकेत गर्दै चौधरी सिमेन्टमा ठूलो लगानीको घोषणा गर्न हौसिएका थिए।

त्यतिबेला चौधरीको सीजी सिमेन्ट इन्डष्ट्रिजले नवलपरासीको दुम्कीबासमा भर्खरै उत्पादन सुरु गरेको थियो। त्यसबाहेक औद्योगिक क्षेत्रमा राम्रो सफलता हात पारेका चौधरी पाल्पामा क्लिंकराइजेशनसहितको अर्को प्लान्ट पनि ल्याउने योजनामा थिए। त्यसैले अर्बौं लगानी गरेर नेपालको सिमेन्ट बजार लिड गर्ने महत्वाकांक्षामा रहेका चौधरीले उत्साहित हुँदै पत्रकारहरुसँग यस क्षेत्रमा लगानीबारे आफ्ना योजना साटे।

तर दैनिक १३०० टन सिमेन्ट उत्पादन थालेको दुम्कीबासस्थित 'सीजी सिमेन्ट इन्डष्ट्री'लाई अपग्रेड गरेर १८०० टन क्षमतामा उत्पादन गरिरहेको बाहेक चौधरीको पाल्पा प्लान्ट लामो अवधि बितिसक्दा पनि पूरा हुन सकेको छैन। बरु नवलपरासीकै उद्योगको क्षमता बढाउन दुई अर्ब ३७ करोड ८० लाख रुपैयाँ बैंक ऋण समेत सुनिश्चित भएर काम भइरहेको छ।

२०७२ सालबाट थालेको 'सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा' भने एकपछि अर्को गर्दै सरेको भाकामा पनि संचालनमा आउन सकेको छैन। पछिल्लो पटक यो प्लान्ट २०२१ (अक्टोबर) भित्रै संचालनमा ल्याउने चौधरी समूहको दाबी थियो। तर २०२२ को पहिलो महिना सकिँदा समेत तत्काल यसको छाँटकाँट छैन। सिमेन्टका जानकार अन्य उद्योगीहरुका अनुसार अझै कम्तीमा ३-४ महिनाअघि सीजीको पाल्पा प्लान्ट संचालनमा आउने अवस्थामा कम छ। 

सीजी सिमेन्टको पाल्पा प्लान्ट दुई वर्षअघि निर्माणाधिन अवस्थामा।

कछुवा गतिमा प्लान्ट निर्माण
सिमेन्ट उद्योग संचालनमा नयाँ वा स्थापित अधिकांश उद्‍योगीहरुको भनाइमा नेपाली व्यवसायीहरुको लगानी हैसियतभित्रको कुनै पनि क्षमताको सिमेन्ट प्लान्ट औसत तीनदेखि बढीमा चार वर्षको अवधिमा आरामले तयार हुन्छ। 

चिनियाँ कम्पनी होङ्सी होल्डिङ्स ग्रुप (हङकङ रेडलाइन) र नेपाली संयुक्त लगानीको होङ्सी शिवमले ६ हजार टन क्षमताको प्लान्ट तीन वर्षभन्दा कम समयमै पूरा गरी उत्पादन थालेर यसलाई पुष्टि गरिसकेको छ। 

चिनियाँ संलग्न नभएका वा विशुद्ध नेपाली लगानीका ठूला सिमेन्ट प्लान्ट पनि लगभग यही अवधिमा तयार भएर अहिले चलिरहेका उदाहरण पनि अब त दर्जनको संख्यामा भन्न सकिने अवस्था बनिसकेको छ। सीजीको पाल्पा प्लान्ट भने पछिल्लो ६ वर्षदेखि कछुवा गतिमा छ। 

यो उद्योगका लागि कम्पनीले पाल्पाको सोमादी (सर्देवा) मा करिब पाँच सय रोपनीमा प्लान्ट बनाइरहेको छ। यस्तै, जिल्लाको रिब्दीकोटमा पनि चौधरीले ३८० रोपनी जग्गा यो उद्योगका लागि लिएर राखेको छ। यसमध्ये उद्योगस्थलकै जग्गाका विषयमा स्थानीयसँग किचलो हुँदा पनि परियोजना निर्माण समयमा पूरा हुन नसकेको भनाइ कम्पनीस्रोतको छ।

अर्कोतर्फ, चौधरीको यो सिमेन्ट उद्योग सँगसँगै वा त्योभन्दा पछि अघि बढाइएका प्लान्टहरु भने लगभग सबै संचालनमा आइसकेका छन्। 

होङ्‍सी शिवम्, ऋद्धि सिद्धि, सौर्य, घोराही (क्लिंकराइजेसन), शुभ श्री अग्नि,  भूगर्भ, रोल्पा, मंगला, नेपाल अल्ट्राटेक, अरनिको आँबुखैरेनी, शुभलक्ष्मी, मेगा, सनराइज, कसमस (सिरहा) लगायतका सिमेन्ट उद्योगहरु सीजीको पाल्पा प्लान्टभन्दा पछि वा त्यसकै हाराहारीमा शुरु गरिएका हुन्, जसको उत्पादन नै बजारमा आएको थुप्रै भइसकेको छ। यीबाहेक पनि ग्राइन्डिङ प्लान्ट मात्रका अन्य थुप्रै साना सिमेन्ट उद्योगहरु यसबीच संचालनमा आएका छन्। 

यसका बाबजुद एक दशकअघि नै सिमेन्ट क्षेत्रमा प्रवेश गरेको चौधरी समूह भने सुस्त गतिमा चल्दा ब्याकफुटमा धकेलिएको छ। आफैंले अगाडि बढाएको पाल्पा प्लान्ट संचालनमा आउन ढिलो भएपछि चौधरीले बरु तीन अर्ब रुपैयाँ हालेर यसै वर्ष (साउनमा) दाङको सम्राट सिमेन्टको बहुमत सेयर (३० प्रतिशत) किनेर सिमेन्टमा लगानीका लागि आफू 'प्यासनेट' रहेको सन्देश दिन खोजे। 

२०७१ वैशाख २३ मा उद्योग दर्ता गरेर सम्राटले तीन वर्षमा (२०७४ वैशाख अन्तिमबाट) उत्पादन नै बजारमा ल्याइसकेको थियो। चौधरीको पाल्पा प्लान्टको योजना र सम्राट सिमेन्ट लगभग उहीबेला अघि बढेको हो। दैनिक १८०० टन ग्राइन्डिङबाट सुरु भएको सम्राटले क्लिंकराइजेसन समेत थालेर २०७७ मंसिरमा क्षमता ४५०० टन पुर्‍याइसकेको छ। लगानी पनि सुरुको साढे तीन अर्बबाट १६ अर्ब पुगिसकेको छ। जबकि सीजी सिमेन्ट (पाल्पा) भने कहिलेबाट बजारमा देखिने हो भन्ने अझै यकिन छैन।

सम्राट मात्र नभएर नेपालमा अहिलेसम्मकै ठूलो सिमेन्ट प्लान्ट (दैनिक ६ हजार टन) होङ्सी शिवम् समेत पूर्वाधार/संरचना निर्माण गर्न थालेको दुई वर्षमै व्यवसायिक उत्पादन थाल्ने अवस्थामा पुगेको थियो। २०७३ जेठ दोस्रो साताबाट उद्योगको पूर्वाधार निर्माण थालेको होङ्सी शिवमले २०७५ जेठ ४ बाट व्यवसायिक उत्पादन नै थाल्यो। लगानी बोर्डसँग सम्झौता गर्दा तीन वर्षमा उत्पादन थाल्ने बताएको होङ्सीले प्राकृतिक प्रकोप लगायतका प्रतिकूलताका बाबजुद पनि तोकिएको अवधिभित्रै परियोजना सकेर संचालनमा ल्याएको थियो।

२०७३ सालमा उद्योग दर्ता गरेको रिद्धि सिद्धि सिमेन्टले पनि दुई वर्ष हाराहारीमै दैनिक २८०० टन क्षमताको प्लान्ट तयार गरेर २०७५ पुस दोस्रो साताबाट परीक्षण उत्पादन थालिसकेको थियो।

२०७४ सालमा सुरुआती योजनाको तहमा मात्र रहेको सिरहास्थित सौर्य सिमेन्टले त्यसको तीन वर्षमा त उद्योग निर्माण सकेर २०७७ माघ तेस्रो साताबाट उत्पादन (क्लिंकराइजेसन) नै सुरु गर्‍यो। यस उद्योगमा व्यापारिक घरानाहरु शंकर ग्रुप, अम्बे ग्रुप र गोल्छा परिवारको १५ अर्ब संयुक्त लगानी छ।

यी केही उद्योगहरुको उदाहरण हेर्दा सीजी भने ६ वर्षदेखि एउटै प्लान्टको निर्माणमा अल्झिइराख्नुले चौधरीले सिमेन्ट क्षेत्रप्रति सुरुमा देखाएको लगाव र उत्साह मर्दै गएको त होइन भन्ने पनि जनाउँछ।

जमेन 'सीजी' र 'विनोद चौधरी' ब्रान्ड
चौधरी समूहले २०७० पुस १६ बाट सीजी ब्रान्डमा सिमेन्ट बजारमा ल्यायो। 'सीजी' आफैंमा नेपालको सबैभन्दा ठूलो र अन्तर्राष्ट्रिय ब्रान्ड भए पनि नेपालको सिमेन्ट बजारमा भने यो ब्रान्ड नाम 'क्यास' भएन। बजारमा सीजीभन्दा निकै पछि आएका अन्य सिमेन्ट ब्रान्ड/कम्पनीहरुको तुलनामा व्यापार हिस्सा पनि यसको न्यून छ। नवलपरासीबाट उत्पादन भइरहेको सीजी सिमेन्टले क्षेत्रीय बजारमै पनि अहिले राम्रो पकड बनाउन सकेको छैन।

नेपालको सबैभन्दा चिनिएको व्यापारिक समूह सीजीका अध्यक्ष विनोद चौधरी नेपालका चर्चित व्यवसायी मात्र नभएर नेपाली निजी क्षेत्रको आइकोनिक'ग्लोबल फेस' समेत हुन्। चौधरीले विदेशमा लगानीका लागि सिंगापुरमा मुख्यालय राखेर खडा गरेको अन्तर्राष्ट्रिय कम्पनी सिन्नोभेसन ग्रुपको वेबसाइटमा उल्लेख भएअनुसार नेपालको सीजी (४५) र सिंगापुरस्थित सिन्नोभेसन (४८) अन्तर्गत गरी चौधरीको लगानी विश्वका विभिन्न देशमा रहेका कुल ९३ कम्पनीहरुमा विस्तार भइसकेको छ।

फोर्ब्सको अर्बपति सूचीमा परेका एकमात्र नेपाली चौधरीलाई यो ताजले पनि त्यो अन्तर्राष्ट्रिय अनुहार बनाउन मद्दत गरेको छ। यसैको जगमा उनलाई विश्वका थुप्रै उद्योगी-व्यवसायीदेखि अन्य लगानीकर्ताहरु (व्यक्तिगत तथा संस्थागत) ले नेपालका अन्य व्यवसायीको तुलनामा बढी पत्याइन्छ। यसले चौधरीलाई कुनै पनि व्यवसायमा ठूलो लगानी जुटाउन पनि सहज बनाएको छ। विश्वका थुप्रै देशमा उनले संचालनमा ल्याएका हस्पिटालिटीका दर्जनौं व्यवसायदेखि उनको परिचय रहेको वाइवाइका अन्तर्राष्ट्रिय उत्पादन प्लान्टसम्म यसका साक्षी हुन्। यसकारण ठूलो क्षमताका सिमेन्ट प्लान्ट लगाउन पनि लगानीको जोहो गर्न उनलाई अन्य व्यवसायीभन्दा पक्कै पनि सहज छ – व्यक्तिगत नेट वर्थ र ग्लोबल क्रेडिबिलिटी दुवै दृष्टिले। 

यसका बाबजुद 'सिमेन्टमा ठूलो लगानीका साथ तोकिएको अवधिमा उद्योग संचालनमा ल्याउने' र 'सबैभन्दा चर्चित ब्रान्ड नाम हुनुको लाभ अन्यभन्दा  ठूलो बजार हिस्सामार्फत उठाउने', यी दुवै सवालमा सीजी र विनोद चौधरी चुकेको देखिन्छ।

नेपालमा मात्र नभएर चौधरी समूहले 'सिन्नोभेसन ग्रुप' अन्तर्गतको 'सीजी सिमेन्ट ग्लोबल' मार्फत् भारत, श्रीलंका, म्यानमार, क्याम्बोडिया, मोजाम्बिकलगायतका देशमा समेत सिमेन्ट उद्योगमा ठूलो लगानी गरेर सिमेन्टको ग्लोबल मार्केटमा पनि फुट प्रिन्ट विस्तार गर्ने बताएको थियो। तर, यसमा पनि सीजी घोषणा गरेजस्तो सफल भएन।

२०१९  जुलाईमा 'ताज समुद्र कोलम्बो' होटलमा 'डेली न्युज'सँग कुराकानी गर्दै विनोद चौधरीले श्रीलंकामा सिमेन्ट उद्योग खोल्न १५ करोड अमेरिकी डलर लगानी गर्ने बताएका थिए। यसका लागि श्रीलंकाली सरकारबाट ग्रीन सिग्नल मिलिसकेको र आफूहरुले थुप्रै चुनढुंगा खानी समेत पहिचान गरिसकेको पनि उनले बताएका थिए। 

अझ डेली मेलसँग उनले सीजी सिमेन्टको नेपालमा बजार हिस्सा १०% रहेको पनि जिकिर गरेको उल्लेख छ। त्यतिबेला नेपालको वार्षिक सिमेन्ट माग करिब ९० लाख टन र उद्योगहरुको कुल उत्पादन क्षमता एक करोड ५० लाख टन हाराहारी थियो। त्यसको १० प्रतिशत १५ लाख टन हुन आउँछ। यसका लागि वर्षमा ३६० दिन नै प्‍लान्ट शतप्रतिशत क्षमतामा चल्दा पनि दिनको झन्डै ४२०० टन उत्पादन हुनुपर्छ। 

बजार मागलाई नै पनि हेर्दा सीजी सिमेन्टले ९० लाख टनको १० प्रतिशत बजार हिस्साका लागि त्यतिबेला वर्षमा ९ लाख टन अर्थात् दैनिक २५०० टन बजारमा पठाउनुपर्ने हुन्छ, जबकि सीजीको नवलपरासी प्लान्टको क्षमता आज पनि जम्मा १८०० टन मात्र हो। अझ ८० प्रतिशतभन्दा बढी क्षमतामा सिमेन्ट उद्योगहरु लगभग नचल्ने उद्योगीहरुको भनाइ छ। 

'मार्केट लिडर' को महत्त्वाकांक्षा
नेपालमा अहिले ६५ वटा सिमेन्ट उद्योग छन्, जसमध्ये २१ वटाले क्लिंकराइजेसन समेत गर्छन्। यी उद्योगहरुको उत्पादन क्षमता दुई करोड ५० लाख टन पुगिसकेको सिमेन्ट उत्पादक संघको भनाइ छ।  

सिमेन्टमा उत्पादन क्षमता वा बजार पकड दुवैमा बलियो उपस्थिती बनाउन सके चौधरी समूह यस क्षेत्रको मार्केट लिडर बन्न नसक्ने होइन। तर त्यसका लागि राम्रो खानी, खानी र उद्योगको एक्सेससँगै उपयुक्त बजार रणनीति चाहिन्छ। यो सवालमा शंकर, अम्बे, सौरभ, मुरारका, होङ्सी शिवम् लगायतका समूह धेरै अगाडि छन्।

अहिलेको अवस्था चौधरीको सिमेन्टमा लगानी भनेको संचालनमा रहेका दुई उद्योग – नवलपरासीस्थित सीजी सिमेन्ट र दाङको सम्राट सिमेन्ट, अनि निर्माणाधीन पाल्पा प्लान्टमा हो।

यी उद्योगमध्ये अहिले नवलपरासीको उद्योग २९०० टनमा अपग्रेड हुँदैछ। सुरुमा डेढ अर्ब लगानी भएको यस प्लान्टमा चौधरी समूहले करिब साढे दुई अर्ब थपेर क्षमता विस्तार गरेपछि जम्मा चार अर्ब हाराहारी पुग्नेछ लगानी। यस्तै, कुल १६ अर्ब हाराहारी लगानी पुगेको बताइएको दाङको सम्राट सिमेन्ट (४५०० टन क्षमता) मा चौधरी समूहले साढ तीन अर्ब लगानी गरेको छ।

पाल्पाको प्लान्ट निर्माणमा बैंकहरुको ९ अर्ब ६ करोड र चौधरीको स्वपुँजीसमेत गर्दा कुल १३ देखि १५ अर्ब हाराहारी लगानी हुँदैछ। यस प्लान्टको क्षमता उद्योग विभागबाट लिएको अनुमतिअनुसार दैनिक २९५० टन क्लिंकराइजेसन र २००० टन ग्राइन्डिङ गर्ने रहनेछ। यद्यपि, चौधरी समूहले यो प्लान्टको दैनिक क्षमता सुरुमा ४००० टन हुने र पछि ६००० टन पुग्ने बताएको छ।

यसलाई आधार मान्दा सीजीको लगानीका यी तीन उद्योगहरुको कुल उत्पादन क्षमता (नवलपरासीको क्षमता विस्तार र पाल्पाको प्लान्टसमेत संचालनमा आएपछि) सुरुमा ११ हजार ४५० टन र पछि १३ हजार ४५० टनसम्म पुग्न सक्ने देखिन्छ। 

त्यो अवस्थामा पनि चौधरी समूह उत्पादन परिमाणका दृष्टिले 'सिंगल लार्जेस्ट मार्केट प्लेयर'बन्न सजिलो भने छैन।

सिमेन्ट-डन्डीमा अहिलेको मार्केट डोमिनेन्ट रहेको शंकर समूहको लगानीमा (अन्य समूहसँगको जेभीसमेत) भएका उद्योगहरुको कुल उत्पादन क्षमता अहिले नै सिमेन्ट मात्र ९ हजार ६ सय टन र क्लिंकरसहित १० हजार ६ सय टन पुगिसकेको छ। यो समूहको लगानीमा जगदम्बा सिमेन्ट (भैरहवा-१२०० टन), शुभश्री जगदम्बा सिमेन्ट (वीरगन्ज-२४०० टन), रिद्धि सिद्धि सिमेन्ट (हेटौंडा-३००० टन), सौर्य सिमेन्ट (सिरहा- ४००० टन) संचालित छन्।

यीमध्ये जगदम्बा र शुभश्री जगदम्बामा सौरभ समूहको पनि लगानी छ भने सौर्य र रिद्धि सिद्धि अम्बे समूहसँगको संयुक्त लगानीमा हो। शंकर समूहको वेबसाइटमा उल्लेख भएअनुसार यी चार सिमेन्ट उद्योगमा २५ करोड अमेरिकी डलरबराबर (करिब ३० अर्ब रुपैयाँ) लगानी भइसकेको छ। 

यस समूहसँग साझेदारी गरेको सौरभ समूहको छुट्टै सर्वोत्तम सिमेन्ट (३००० टन) पनि संचालनमा छ। यसले धादिङमा पनि २००० टन क्षमताको नयाँ प्‍लान्ट संचालनमा ल्याउने गरी चुनढुंगा खानीसमेत गत पुसमा खरिद गरिसकेको छ।

यस्तै, चीनकै हुवासिन सिमेन्ट पनि नेपालमा आक्रामक हुने सोचले भित्रिएको हो। यद्यपि यसले सुरुआती योजनामा आधाले कटौती गर्दै धादिङमा अहिले ३००० टन क्षमताको प्लान्ट निर्माण लगभग पूरा गरेको छ। भविष्यमा यसलाई ६ हजार टन पुर्‍याउने हुवासिनले बताएको छ। 

होङ्सी शिवम् पनि अहिलेको ६ हजार टनबाट क्षमता बढाएर १२ हजार टन उत्पादन पुर्‍याउने योजनामा छ। यसबाहेक होङ्सी होल्डिङ्स (हङकङ रेडलाइन) ले भारतीय समूह अम्बुजाको स्वामित्वमा रहेको दाङ सिमेन्टको पनि ८५ प्रतिशत सेयर खरिद गरेको छ। यसको बाँकी १५ प्रतिशत सेयर शिवम् सिमेन्टका प्रवर्द्धक विश्वनाथ गोयल, हुकुम फर्मास्युटिकल्स र अक्वा हन्ड्रेड मिनरल वाटरका संचालक विजय दुगडले लिएका छन्। 

३० बिघा जमिनसहित कम्पनीको स्वामित्व ७० करोडमा किनेको दाङ सिमेन्ट दैनिक ६ हजार टन क्षमतासहित संचालनमा ल्याउने योजना होङ्सीको छ। एचएस इन्भेष्टमेन्ट नामको कम्पनीमार्फत यो समूहले दाङ सिमेन्टमा कुल साढे ३२ अर्ब रुपैयाँ लगानी भित्र्याउने अनुमति लगानी बोर्डबाट पाइसकेको छ। त्यसमध्ये पहिलो चरणमा १५ अर्ब रुपैयाँ चीनबाट ल्याउनका लागि राष्ट्र बैंकबाट गत मंसिरमा अनुमति लिएर होङ्सीले यसका लागि प्रक्रिया अघि बढाइसकेको छ।

यो उद्योग पनि संचालनमा आएपछि समग्रमा होङ्सीको लगानीका दुई सिमेन्ट उद्योगको मात्र दैनिक क्षमता १८ हजार टन पुग्नेछ। निर्माण गतिविधि र ठूला पूर्वाधार आयोजना नआउने हो भने अहिलेकै अवस्थाबाट हेर्दा होङ्सी एक्लै त्यतिबेला नेपालको समग्र सिमेन्ट माग लगभग पूरा गर्न सक्ने क्षमतामा पुग्नेछ।

यसर्थ, उत्पादन क्षमताका दृष्टिले पनि चौधरीभन्दा होङ्सी ५०% भन्दा धेरैले माथि पुग्नेछ भने शंकर समूहकै हाराहारीमा पुग्न पनि सीजीलाई सहज छैन। 

साढे १३ हजार टनहाराहारी दैनिक क्षमता पुर्‍याउँदा चौधरी समूह अन्य उद्योगलाई कडा टक्कर दिनसक्ने अवस्थामा पुग्ने देखिए पनि सिमेन्टमा लामो अनुभव र आक्रामक बजारीकरणबाट पकड राम्रो बनाइसकेका स्वदेशी समूह शंकर, सौरभ, अम्बे लगायत र चिनियाँ जायन्ट होङ्सी, हुवासिनसँग प्रतिस्पर्धामा खरो उत्रिएर यिनलाई उछिन्न सीजीलाई निकै कठिन देखिन्छ। 

यीबाहेक शिवम्, अर्घाखाँची, युनाइटेडलगायतका अन्य सिमेन्टले बजारमा पनि राम्रो हिस्सा र ब्रान्ड विश्वसनीयता कमाइसकेका छन्। यिनको पनि बजार खोसेर सिमेन्टको व्यापारमा जम्न चौधरीलाई सजिलो छैन। 

झन्डै आठ वर्षदेखि उत्पादन भइरकेको सीजी सिमेन्टको अहिलेसम्मको बजार उपस्थितिले पनि चौधरीले उत्पादन क्षमतामा प्रतिस्पर्धी बनेको अवस्थामा पनि सिमेन्ट व्यापारमा मार्केट लिडर बन्न मुस्किल रहेको देखाउँछ।

अर्को – सीजीले सिमेन्टको नेपाली बजारमा दरिलो उपस्थिति जनाउन सक्ने गरी प्लान्टहरुको 'लोकेसनल एडभान्टेज' पनि उति साह्रो देखिँदैन।

चौधरी समूहको लगानी रहेका तीनवटै उद्योग लगभग सँगसँगै एउटै प्रदेश र सँगैका जिल्लामा छन्। दुम्कीबासमा रहेको उद्योग नवलपरासी पूर्व (नवलपुर)गण्डकी प्रदेशमा रहे पनि यो लुम्बिनी प्रदेशकै सीमानामा छ। पाल्पा र दाङका दुई उद्योग लुम्बिनी प्रदेशमा पर्छ। तर यी तीनवटै उद्योग रहेका जिल्ला लगभग सँगसँगैजसो छन्। 

यसको अर्थ भूगोलका हिसाबले पनि चौधरी समूहका सिमेन्ट उद्योगहरु देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको बजारमा बलियो पकड बनाउन सक्ने रणनीतिक स्थानहरुमा छैनन्। क्षेत्रीय बजार मात्रको भरथेगले चौधरीको सिमेन्टमा मार्केट लिडर बन्ने आकांक्षालाई सघाउँदैन।