भुवन दहाल: जसलाई ‘डेबिट-क्रेडिट’ पनि थाहा थिएन, विज्ञ बैंकरको ‘ताज’ लिएर अवकाश



२०७८ माघ १६ गते १२:२७ | Jan 30, 2022


भुवन दहाल: जसलाई ‘डेबिट-क्रेडिट’ पनि थाहा थिएन, विज्ञ बैंकरको ‘ताज’ लिएर अवकाश


काठमाडौं। नाफा नोक्सान हिसाब खाता, वासलात मात्र होइन 'डेबिट-क्रेडिट' समेत प्रष्ट थाहा थिएन बैंंकको जागिर थाल्दा भुवन दहाललाई।सहायक तहबाट जागिर थालेका उनी ३० वर्षे बैंकिङ करिअरबाट गत बुधबार अवकाश भएका छन् – बौद्धिक, विज्ञ बैंकरको छवि बोकेर। 

Tata
Global Ime

पुछारमा रहेको बैंकलाई 'टप फाइभ' भित्र मात्र पारेनन्, ४/४ वर्षको दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर बैंकिङ क्षेत्रकै नेतृत्वसमेत गरे। उनी तीन वर्ष सदस्य र दुई वर्षको एक कार्यकाल वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघको अध्यक्ष पनि बने।

सरकारी जागिर छाडेर 'राम्रो तलब' को आकर्षणले उनी बैंकिङ छिरेका थिए। सरकारी जागिरको आकर्षण छुट्टै थियो तर पैसा थिएन। उनी सरकारी जागिरे हुँदा मासिक तलब १२ सय ४० रुपैयाँ थियो। नबिल बैंकमा तलब ४१ सय ५० रुपैयाँ। यही आकर्षणले उनी बैंकर भएका थिए। 

अहिले 'लोभ', 'मोह' सबै यस्तै रहेछ भन्ने दहाललाई लाग्न थालेको छ। उनी बौद्धमार्गी भएका छन्। त्यही भएर करोडमाथि तलब दिने राम्रा राम्रा प्रस्ताव छाडेर उनी बुद्धले प्रेरित गरेको 'सम्यक सम्बोधि' प्राप्त गर्ने बाटो पछ्याउन खोजेका छन्। 

संयोगले बैंकर

चन्द्रानिगाहपुर घर। त्यहीँ १० कक्षासम्म पढेपछि उच्च शिक्षाका लागि काठमाडौं हानिए। विद्यार्थी भएर उपत्यका टेक्दा उमेर १५ वर्षको थियो। आफ्नो नियमित खर्चका लागि घरलाई दुःख नदिने चाहना। दैनिकी आफूले पढ्नु त थियो नै, उनी स्कुल पढाउन थाले।

त्यही बेला लोकसेवाले खरदार पदमा जागिर खुलायो। आवेदकको योग्यतामा उमेर १८ वर्ष हुनुपर्ने पनि थियो। एलएलसी दिन १६ बर्ष पुगेको हुनु पर्ने। भुवनको उमेर उनका बुबाले २०२८ कात्तिक ८ लाई २०२७ भदौ १० गते बनाइदिएका थिए। एसएलसी दिन उमेर बढाएको कुरो लोकसेवाको फाराम भर्न सजिलो भयो। उनले लिखित-मौखिक परीक्षा दिए।

खरदारमा नाम निस्कियो। अनि जागिर सुरु भयो संसदमा। त्यहाँ काम थालेको दुई वर्ष हुनै लागेको थियो- नबिल बैंकमा जागिर खुल्यो। उनी थिए मानविकी पढेका। तर विषय अर्थशास्त्र थियो। संसदमा आफूसँगै काम गर्ने एक जना साथीले उनलाई नबिलले खुलाएको 'आवश्यकता'को विज्ञापनमा निवेदन दिन सुझाए। व्यवस्थापन पढेका ती साथी र उनी दुवैले एकसाथ निवेदन पठाए। 

ती साथी छानिएनन् तर दहालको नाम निस्कियो। 'नबिलको लिखितमा नाम निस्किएपछि मलाई संसदको एक जना अधिकृत सरले शम्भु पौडेललाई हामीले चुनाव जिताएको हो, उहाँलाई भेट्नु पर्छ भनेर भन्नुभयो,' दहालले सम्झिए, 'शम्भु सरको घर गइयो। नबिलमा भन्दा उहाँको घरमा पहिले इन्टरभ्यु भयो।' 

शम्भु पौडेल नबिल बैंकको सेयरधनी। सर्वसाधारण सेयरधनीका तर्फबाट बैंक सञ्चालक बनेका। 'उहाँले के सोध्नु भयो भने- ह्वाट इज कन्जुमर सरप्लस?' 

अर्थशास्त्र पढेको भएर त्यो उत्तर दिन गाह्रो भएन। 

जागिर सुरु भएको तीन वर्षमा दहाल अफिसर भए। दुई वर्ष विराटनगरमा काम गरे। अर्को दुई वर्षमा सिनियर अफिसर बने। त्यस पछिको अर्को २ वर्षमा असिस्टेन्ट म्यानेजर बने। ३८ वर्षको उमेरमा उनी नबिलजस्तो अग्रणी बैंकको सहायक महाप्रबन्धक भइसकेका थिए।

'फास्ट प्रमोसन भयो मेरो। भाग्यले साथ दियो भन्नुपर्छ। मभन्दा ट्यालेन्टहरु पनि थिए। नबिल भनेको यस्तो संस्था हो त्यहाँ प्रमोसन हुन गाह्रो छ तर मेरो भइरह्यो,' उनले सुनाए।

उनले जागिर खाँदै पढाइलाई पनि अगाडि बढाए। अंग्रेजी र अर्थशास्त्र पढेका उनले पछि एमबीए गरे। 

बैंकको जागिर, दैनिक अनुपात, नाफा नोक्सान, वासलात, प्रतिशत, जोडघटाउमा कुराकानी गर्नुपर्ने। त्यही भएर मानविकी मात्र पढेर नहुने देखियो। त्यसपछि उनी उनले 'थ्री राइटर्स' अर्थात जुनेजा, सक्सेना र चावलाको एकाउन्टिङ किताब ल्याएर पढ्न थाले। उनका सिनियर विनोद शर्मा र कृष्णदत्त भट्टराईले 'ग्रुम' गरे। 'प्राक्टिकल्ली काम गरेकाले बुझ्न धेरै गाह्रो भएन। एकाउन्ट, फाइनान्स भनेको कमन सेन्स रहेछ,' उनी भन्छन्। 

सीइओको यात्रा

नबिलमा चाँडो चाँडो बढुवा भएपछि उनलाई सहकर्मीबाट व्यवस्थापनको 'चाकडी' गरेको आरोप लाग्न थाल्यो। विदेशी संयुक्त लगानीको बैंकमा बाह्य लगानीकर्तासँग जोडिएर विभिन्न (नराम्रो) टिकाटिप्पणी पनि भइरहन्थ्यो। नियामक होस् या बाहिरका अन्य- जोसँग कुराकानी गर्दा पनि नबिलको कर्मचारीका हिसाबले उच्च मनोबल आउँथ्यो, जब लगानीकर्ताको कुराकानी हुन्थ्यो हिस्रिक्क पर्नुपर्थ्यो। 

अर्कोतिर सीइओ हुने लालसा पनि थियो।  उनले तत्कालिन अवस्थामा विभिन्न भूमिकामा 'सिनियर बैंकर' सँग काम गरेका थिए। अर्थात सबैको नाडी छामेका थिए। त्यसैले आधाभन्दा बढी सीइओहरु भन्दा आफू राम्रो गर्न सक्छु भन्ने पनि थियो।

त्यही बेला प्रमुख कार्यकारी अधिकृत बनाउने गरी (लम्साल अवकाशपछि) दहाललाई सानिमा बैंकबाट प्रस्ताव आयो। गैरआवासीय नेपालीहरुको लगानी रहेको बैंक नबिलभन्दा सात गुणा सानो थियो। उनलाई अफर आउँदा सानिमा बैंकले ३० करोड नाफा गरेको थियो। यता नबिलको नाफा २ अर्ब १० करोड रुपैयाँ थियो। 

प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल थिए। लम्सालले बीचमै छाडेर प्रभु बैंक गएपछि सानिमा पुगेको ८ महिनामै दहाल प्रमुख कार्यकारी अधिकृत बने।

'आफूले काम गरिरहेको संस्थाको सीइओ हुनुपर्छ भन्ने चाहिँ थियो। तर त्यहाँ कहिले हुन्छु भन्ने यकिन थिएन। त्यसो हुँदा सानिमामा अफर आयो। त्यो अफरलाई स्वीकार गरेर यता आएँ,' उनले भने। 

सानिमा आउने बेलामा उनले आफ्ना साथीहरुसँग सल्लाह गरे। उनले सुरुमा अन्तर्वार्ता लिएका पौडेलसँग पनि सल्लाह मागे। साथीहरुले नबिल छाडेर सानो बैंकमा नजान सुझाए। तर पौडेलले अब बाहिर निस्कने बेला भएको भन्दै उनलाई सानिमा जान प्रोत्साहित गरे। 

त्यसबेलामा स्थापित प्रमुख कार्यकारीहरु सुरेन्द्र भण्डारी, शोभनदेव पन्तसँग उनले नबिलमै काम गरिसकेका थिए। अनिल शाह हाकिम नै थिए। शशिन जोशीसँग बाहिरको संस्थामा बसेर काम गरेका थिए। अन्य बैंकरसँग पनि बैंकर्स संघको विभिन्न समितिमा बसेर काम गरेका थिए। त्यसले पनि उनलाई प्रमुख कार्यकारीको चुनौती लिन उक्सायो। 

'सीइओ भन्ने पदले नै  मलाई जोखिम लिन र नबिल छाड्न प्रेरित गर्‍यो। नबिलजस्तो बैंकमा ३८ वर्षको उमेरमै एजीएम भइसकेको थिएँ भनेपछि बढुवा नभएका कारणले छाड्नु पर्ने भन्ने भएन,' उनले भने, 'सीइओ चाँडै हुनु पर्छ भनेर छाडेको हो।'

सानिमाको सफलता

दहाललाई प्रमुख कार्यकारी अधिकृत मात्र हुनु थिएन- सफल बैंकरको परिचय बनाउनु थियो। बैंकलाई माथि ल्याउनु थियो। बैंकलाई प्रतिस्पर्धी र प्रतिफलउन्मुख नबनाइ उनको योग्यता देखिनेवाला थिएन।

उनले नबिलमै बसेको अनुभव र तालिममा जाँदा भारतका बैंकहरुबाट सिकेका कुराहरुलाई लागू गर्ने रणनीति बनाए। त्यसका लागि सबैभन्दा महत्वपूर्ण थियो- टिम।

अहिलेका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे- जोखिममा निपुण। उनले पाण्डेलाई नबिलबाट ल्याए। त्यसपछि अपरेशन, ट्रेजरी, डिपोजिट सबैतिर राम्रो मान्छे ल्याएर टिम बनाए।

२७ बैंकसँगको तुलनामा असार
सानिमा बैंक कुन बिधामा कहाँ २०७८ २०७०
सञ्चालन नाफा 13 24
रिटर्न अन इक्विटी 2 21
चालु खाता निक्षेप 15 25
बचत खाता निक्षेप 13 22
कुल निक्षेप 18 24
कुल ऋण 16 23
खराब ऋण अनुपात 1 1
पुँजी पर्याप्तता अनुपात 14 7
आधार दर 6 15

त्यसपछि उनले कर्मचारीबाट बढीभन्दा बढी काम लिन तलब सुविधा वृद्धि गरे। ८ वर्षअघि जुनियर असिस्टेन्टको मासिक तलब १० हजार रुपैयाँ थियो। आजका दिनमा जुनियर असिस्टेन्टको तलब ३४ हजार रुपैयाँ छ। 

उनले अन्य सञ्चालन खर्च घटाउने र व्यापार बढाउने रणनीति लिए। त्यसका लागि उनले आवश्यक परेको ठाउँमा मात्र शाखा खोले। अन्य बैंकहरु देशैभरी शाखा बिस्तारमा आक्रामक हुँदा उनी मुख्य व्यापार हुने काठमाडौं केन्द्रित भए। उनले काठमाडौं उपत्यका भित्रका शाखामा जति चाहिन्छ त्यति कर्मचारी परिचालन गरे। व्यापार बढाए। सानिमा बैंकका काठमाडौंभित्रका शाखामा अन्य चलेका बैंकका शाखामा भन्दा व्यापार पनि बढी र कर्मचारी पनि बढी छन्।

काठमाडौं उपत्यकामा कुल निक्षेपको ६० प्रतिशत हिस्सा छ, त्यही भएर उनको फोकस उपत्यका भयो। राष्ट्र बैंकले अह्राएभन्दा बढी शाखा उनले काठमाडौं बााहिर खोलेनन्। 'मेजर ठाउँमा छाडेनौं अनावश्यक ठाउँमा गएनौं,' उनले खर्च कटौतीको उपाय सुनाए। उनी आउँदा बैंकको शाखा संख्या २४ वटा थियो अहिले ९१ वटा छ। 

'हामीले पुँजीलाई राम्रोसँग प्रयोग गरेका छौं। व्यापार पनि राम्रो छ। भनेपछि धेरै शाखा पनि खोलेर के गर्ने?,' उनले भने, 'हाम्रो रणनीतिले काम गरेको रिटर्नले पनि देखाउँछ। चार वर्षदेखि हामी रिटर्नमा टप फाइभमा छौं।'

एनआरएनको ट्यागले अप्रत्यक्ष बैंकलाई सहयोग गरेकै थियो। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई  ब्राण्ड प्रवर्द्धक राखेपछि बैंकको व्यापार  बिस्तारमा ठूलो मद्दत पुग्यो। 

८ वर्षअघि सानिमा रिटर्न अन इक्विटी (आरओइ) मा २१ नम्बरमा थियो, आज २ नम्बरमा छ। अर्थात सेयरधनीको सम्पत्ति ८ वर्षमा गुणात्मक रुपमा वृद्धि भएको छ। ८ वर्ष अगाडि ४१ प्रतिशत व्यक्तिगत निक्षेप थियो। कर्पोरेट ऋण ६१ प्रतिशत थियो। 

'त्यो रणनीतिलाई हामीले परिवर्तन गर्‍यौं। भनेको मतलब हामीसँग संस्थागत निक्षेप ५९ प्रतिशत र साना ऋणको संख्या कम थियो। हामी व्यक्तिगत निक्षेप बढाउन र साना ऋण बढाउनतिर लाग्यौं,' उनले भने, 'ठ्याक्कै उल्टो रणनीति समात्यौं। अहिले पुसमा ६६.८१ प्रतिशत व्यक्तिगत निक्षेप छ। साना ऋणमा फोकस गर्‍यौं। त्यहाँ रेट पनि बेटर हुने भयो। आफ्नो हिसाबले प्राइसिङ पनि गर्न पाइने भयो। निक्षेप पनि स्टेबल हुने भयो। यसले गर्दा पनि बैंक माथि पुग्यो।'  

उनले निक्षेप  टाइट भएर कहिलेकाही ऋण दिन  गाह्रो भए पनि सीडी रेसियो ९० प्रतिशत कहिले पनि ननाघेको बताए। 'तरलता अभाव चर्किँदा पनि हामीले ऋण दिन रोकेनौं,' उनले सुनाए। उनले खुद्रा निक्षेप वृद्धि गर्न बचतको ब्याज ७ प्रतिशत पुर्‍याइदिए। जबकी १/२ प्रतिशत मात्रै अन्य बैंकले दिइरहेका थिए। ब्याज वृद्धिपछि बचतमा सुधार भएर आयो।

खड्किने कुरा

सानिमा बैंकको कायापलट गरेका भुवनलाई केही कुरा भने खड्किन्छ। उनलाई अटोमेसन र डिजिटाइजेसनमा धेरै गर्नु थियो। तर सोचेजस्तो स्तरमा भने गर्न नसकिएको भन्ने लागेको छ। 'हुन त यो नियमित प्रक्रिया हो,' उनले भने, 'हामीसँग देशकै राम्रो टिम छ, सिस्टम छ। अझै धेरै गर्न पनि बाँकी छ।'

उनलाई बैंकिङमा 'कस्टमर ओरिएन्टेड सर्भिस' दिन सकेकोमा सन्तोष लाग्छ। 'बैंकिङ  युनिक भनेको के हो र? निक्षेप र ऋण नै हो। संसारभर नै त्यही हो,' उनले भने, 'सानिमामा अलिक भिन्न खालको  गरियो। त्यो भनेको कस्टमर सर्भिस राम्रो बनाएका छौं।' 

नयाँ सीइओको योजना

भुवन दहालले सानिमालाई नमुना बैंक बनाएर बिदा भएका छन्। दहाललाई सफल बनाउन पाण्डेको ठूलो हात छ। उनी अहिले प्रमुख कार्यकारी बनेका छन्। बैंकिङ यसै पनि चुनौतीपूर्ण बन्दै गएको छ। त्यसमाथि एउटा सफल बैंकरको बिरासतलाई अगाडि बढाउनु पर्ने दबाब पनि छ। 

'बैंकिङ हिजो जे हो आज पनि त्यही हो। यत्ति हो ग्राहकको रुचिअनुसार नयाँ नयाँ इन्नोभेसन गर्दै जानु पर्छ। म नम्बरिङमा विश्वास गर्दिन कर्ममा विश्वास गर्छु। काम राम्रो गर्ने ह राम्रो काम गरेपछि नतिजा राम्रो भइहाल्छ,' पाण्डेले आत्मविश्वास प्रकट गरे।

सानिमा  एउटा पनि गैरबैंकिङ सम्पत्ति नभएको बैंक हो। पाण्डे यसलाई सकभर निरन्तरता दिँदै हरेक वर्ष बढ्ने पुँजी (नाफाबाट) लाई राम्रोसँग प्रयोग गरेर अगाडि बढ्ने योजना सुनाउँछन्।   

'अहिले मैले काम गर्ने बेला हो। एउटा रणनीति बनाएर जानेछौं,' उनले भने। 

पाण्डे र दहालमा एउटा संयोग छ। दुवै व्यवस्थापन संकाय पढेर बैंकिङमा आएका होइनन्। दहाल मानविकी पढ्दा आइएमा कलेज 'टपर' भएका थिए। पाण्डे विज्ञान विषय पढेका हुन्। उनी पनि कलेज टपर हुन्।

'म आर्ट्स् (मानविकी) पढेकाले त ठिकै काम गरेँ,' दहाल भन्छन्, 'निश्चल त साइन्स पढेको हो। ऊ अझ बाठो र ट्यालेन्ट छ।'