केही समयअघिसम्म 'राजनीतिक स्थिरता' राष्ट्रिय विकासको पहिलो सर्त हो भन्ने भाष्य देशभर चलेको थियो। २०७२ मा नयाँ संविधान जारी भएर कार्यान्वयनमा आएपछि राजनीतिक, प्रशासनिक र आर्थिक प्रणालीहरूको दिगो नीतिगत आधार तयार भयो। त्यसयता सबैले आर्थिक विकासलाई नयाँ भाष्यको रूपमा प्रयोग गर्दै आएका छन्।
यद्यपि, राजनीतिक व्यवस्थाको टुंगो लाग्दैमा स्वतः आर्थिक विकासको बिरुवा उम्रिने होइन। यसका लागि पर्याप्त नीतिगत, संरचनागत र अनुकूल वातावरण बनाउनेदेखि कार्यान्वयन गर्ने उपयुक्त आधार तयार गर्न जरुरी छ। साथै, सरोकारवालाको विश्वास जित्ने अवस्था बन्नु पनि उत्तिकै अपरिहार्य छ।
सर्वप्रथम, आर्थिक विकास भनेको ‘हरेक व्यक्तिको संलग्नता र परिश्रमबाट हुने उत्पादन तथा पुँजी निर्माण हो’ भन्ने बुझाइ सबैमा हुनुपर्छ। यो ज्ञान, सिद्धान्त, तरिका र उपायका भाषणबाट मात्र हासिल हुँदैन। उपयुक्त सीपसहितको उद्यम विस्तार यसका लागि महत्त्वपूर्ण सर्त हो। के हामीले आर्थिक विकासको भाष्य जप्दै गर्दा यी आधारभूत कुराहरूको सुनिश्चितता गरेका छौं? यो प्रश्न कुनै एक राजनीतिक दल वा सरकारको कार्यकारीलाई मात्र होइन, हरेक सम्बद्ध पक्ष र नागरिकलाई पनि हो।
अहिले पनि दैनिक १५ सयभन्दा बढी ऊर्जावान युवाहरू (उत्पादनशील उमेर समूहका श्रम शक्ति) कामको खोजीमा खाडी लगायतका रोजगार गन्तव्य ताक्न बाध्य छन्। यद्यपि, उनीहरूले विदेश जानका लागि साहुबाट लिएको ऋणले नेपालमै एउटा उद्यम गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन। हाम्रै गाउँघरका रैथाने सीपहरूलाई उद्यममा परिणत गरेर आय आर्जनको बलियो आधार निर्माण गर्न सकिन्छ। जसबाट विदेशकै हाराहारीमा आम्दानी गर्न पनि सम्भव छ।
हाल गाउँघरमा गरिरहेका खेती-किसानीदेखि पशुपालनको व्यवसायीकरणबाट कैयौं नागरिकको आर्थिक क्षमतामा सुधार गर्न सकिने अवसर छ। यसका उदाहरण पनि प्रशस्त देखिन थालेका छन् अचेल। जागिर खाएर आराम गरिरहेका अनुभवी व्यक्तिलाई उनीहरूको ज्ञान र सीप प्रयोग हुने नयाँ उद्यमको सुरुवात गर्न सकिने अर्को सम्भावना पनि छ।
यी र यस्तै नयाँ उद्यम विकास गर्न सकिने धेरै अवसरहरू हाम्रै वरिपरि छन्। तिनीहरूको समुचित उपयोग नहुँदा हामीले आर्थिक विकासका भरपर्दा र सहज अवसरहरू गुमाइरहेका छौं।
हामीले यी अवसरहरूको सदुपयोग गरेर मात्र दिगो र समावेशी आर्थिक विकास गर्न सक्छौं। यसका लागि स्थानीयस्तरका घरेलु उद्यमलाई सम्भावनाका रूपमा व्यवहारमा उतार्नु आवश्यक छ। यो सम्भावनाको तीव्र र उच्च सदुपयोगका लागि बैंक तथा वित्तीय संस्थाले नेतृत्वदायी भूमिका खेल्न जरुरी देखिन्छ।
नेपाल राष्ट्र बैंकले यही माघको सुरुदेखि कार्यान्वयनमा ल्याएको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ ले पनि वित्तीय क्षेत्रलाई आर्थिक विकासको बलियो खम्बाको रूपमा अघि सारेको छ। यसले, वित्तीय साक्षरताको पूर्वाधार निर्माण, उचित सिकाइ, सञ्चालित कार्यक्रमको अनुगमन, वित्तीय सचेतना र सीपको अभिवृद्धि, वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने विषय समेटेको छ।
मार्गदर्शनले वित्तीय साक्षरताको दायरालाई विस्तार गर्दै स्थानीय उद्यमलाई बैंक तथा वित्तीय संस्थासँग जोड्ने र जोडिएकालाई आवश्यक सुधार र परिष्कृत गर्ने सोच राखेको छ। यो अहिलेको आवश्यकता पनि हो। यसले, भर्खर मात्र अभ्यासमा आएको दिगो बैंकिङको अवधारणालाई साकार पार्न सहयोग पुर्याउन सक्छ।
यसअघि पनि राष्ट्र बैंकले सहुलियत कर्जा, ब्याज अनुदान, रोजगारी सिर्जना गर्ने सरकारी कार्यक्रमलाई अघि बढाएको थियो। विभिन्न दातृ निकायले सञ्चालन गरेका सीप विकास, रोजगारी विस्तार, कृषिको व्यवसायीकरण जस्ता कार्यक्रमसँग पनि राष्ट्र बैंकले हातेमालो गरेकै थियो। यी अभ्यासका कारण केही हदसम्म वित्तीय साक्षरता र पहुँचलाई विस्तार गर्न सहयोग पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले पनि आफ्नो तहबाट स्थानीय उद्यमलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने किसिमका वित्तीय साक्षरताका क्रियाकलापलाई एकल र साझेदारी मोडेलमा देशका विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आएका छन्। तर, एउटै उद्देश्य राखेर सञ्चालन गरिएका यी कार्यक्रमबीच आवश्यक तालमेल र समन्वय नहुँदा यौगिक नतिजा र प्रभाव मापन गर्न सकिएको छैन।
कोभिड-१९ को महामारीपछि बढ्दै गएको डिजिटल अभ्यासले यी छरिएर रहेका समान उद्देश्य र प्रकृतिका वित्तीय कार्यक्रमलाई एकीकृत गर्ने अवसर आएको छ। यो डिजिटल बैंकिङले विभिन्न प्रविधिको प्रयोगमार्फत कर्जा लिने व्यक्तिको पहिचान, बिनाधितो सहज र छिटो कर्जा प्रवाह, कर्जाको अनुगमन र असुलीका साथै उनीहरूलाई व्यवसायसम्बन्धी सुझाव र सल्लाह दिनसमेत सहज हुनेछ।
अर्कोतर्फ, हालसम्म वित्तीय साक्षरता र पहुँचका लागि गरिएका लगानीले उद्यमशीलता विकास गर्ने प्रशस्त आधारहरू तयार भएका छन्। यसमा वित्तीय संस्थाहरूले पर्याप्त समन्वय गर्दै उममशीलता विकासका लागि सिर्जनात्मक काम गर्दै आएका छन्।
उद्यममार्फत आर्थिक विकासको 'नबिल मोडेल'
अन्य वित्तीय संस्थासरह नबिल बैंकले पनि नेपाली समाजको अवस्था, उद्यमको आवश्यकता र विद्यमान रिक्ततालाई ख्याल गर्दै विपन्न र आर्थिक वहिष्करणमा परेका व्यक्तिलाई उत्प्रेरित गर्ने दिगो बैंकिङ लगायत कार्यक्रमहरू अघि बढाएको छ। राज्यको आर्थिक विकासको उद्देश्य एवम् प्रयासलाई सघाउन साझेदारी ढाँचामा सञ्चालित कार्यक्रमहरूले सामाजिक उद्यमको विकासलाई प्रोत्साहन गरेका छन्।
स्थानीय समुदायको उद्यमशील क्षमता र नेतृत्व विकासका लागि लक्षित यी कार्यक्रमहरूले इच्छुक व्यक्तिलाई आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराइ सामाजिक उद्यमको प्रवर्द्धन गर्न खोजेका छन्। यी कार्यक्रमलाई संस्थागत गर्न बैंकले विश्वविद्यालय, शैक्षिक संस्था, स्थानीय सरकारसँग समेत सहकार्य गरेको छ।
जस्तैः सुर्खेतका दुर्गाप्रसाद कँडेलले पालेका सय बाख्रा हुन् वा काभ्रे पनौतीका श्रीकृष्ण बन्जराले व्यवसायिक कृषिबाट प्राप्त सफलता, यी परिश्रमी व्यक्तिहरू नबिलका लागि गाउँमुखी उद्यम विकासका आदर्श उदाहरण हुन्। यसबाट, दिगो बैंकिङसहितको उद्यम विकासलाई व्यापक बनाउन नबिल बैंक उत्साहित छ।
त्यसैले, नबिल बैंकले यतिखेर त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यवस्थापन संकायसँगको साझेदारीमा एक वर्षमा सात सय नयाँ उद्यमी तयार गर्ने सीप विकास र कर्जा सुविधासहितको नयाँ कार्यक्रम अघि बढाएको छ। ‘नबिल सामाजिक उद्यमशीलता’ को मुख्य उद्देश्य सामाजिक परिवर्तनका लागि संस्थागत रूपमा नै उद्यमशीलताको विकास गरी सामाजिक समस्याहरूको समाधान गर्नु हो। यसले सामुदायिक तहबाटै सामाजिक उद्यम र नयाँ अवधारणा पहिचान गर्दै त्यसलाई लगानीयोग्य बनाउने र विकासका लागि सामाजिक अभियानहरू समेत सञ्चालन गर्नेछ।
उद्यमशीलताप्रति आम मानिसको उत्सुकता बढाइ उनीहरूलाई उद्यमी बन्न सहयोग गर्ने यो कार्यक्रमले समाजका असमानता, बहिष्करण, विभेदहरूलाई हटाउने र आर्थिक विकासमा सहयोग पुर्याउने अपेक्षा छ। यो नयाँ थालनीले व्यक्तिको जीवनस्तरमा सुधार गर्दै सकारात्मक सामाजिक परिवर्तनमा सघाउनेछ। यसैगरी, आर्थिक समृद्धि र वातावरणीय दिगोपनालाई समेत बढावा दिनका लागि नयाँ सामूहिक पहलको थालनी हुनेछ। भविष्यमा यसलाई अझ व्यापक, बृहत्त र विस्तारित गर्दै लैजाने नबिलको सोच छ।
नबिलको यो थालनीले कुनै वित्तीय संस्थाका ग्राहकलाई आफूतिर तान्नेभन्दा कर्जाका नयाँ ग्राहक बनाउने अभियानलाई जोड दिएको छ, जसबाट निर्वाहमुखी जीविका चलाएको समुदायलाई नयाँ उद्यमी बनाउन सकियोस्। त्यति मात्र होइन, आवश्यक सीप र पुँजीको अभावमा समय खेर फालिरहेका युवाहरूलाई उद्यमी बनाउने, विदेशबाट फर्किएका वा विदेश जान खोजिरहेकालाई आफ्नै देशमा आयआर्जन र स्वरोजगारका अवसर सिर्जना गर्न हातेमालो गर्ने अभियान पनि हो यो। यसका लागि आर्थिक विकास र वित्तीय साक्षरतालाई सँगै जोडिएको छ।
वित्तीय साक्षरताले वित्तीय पहुँचको गुणस्तर र सार्थकता बढाउँछ। हुन त वित्तीय साक्षरताका कार्यक्रम राष्ट्र बैंकको अग्रसरतामा विभिन्न दातृ निकायहरूबाट सञ्चालित नभएका होइनन्। हिजो वित्तीय साक्षरतासम्बन्धी सचेतना आवश्यक थियो। तर, आज यो सचेतनालाई साक्षरतामा बदल्दै आम मानिसलाई उद्यम गर्न उत्प्रेरित गर्ने सार्थक र व्यवहारिक साक्षरताको आवश्यकता छ अब।
आज नबिल बैंकले यही प्रयोगात्मक वित्तीय साक्षरतालाई दिगो बैंकिङको अवधारणाअनुसार अघि बढाएको छ। जसबाट वित्तीय कारोबारको प्रक्रिया, जानकारी, तरिका र यसको महत्त्वबारे आम मानिसहरूलाई सशक्तिकरण गर्न सकियोस्। समाजका सम्भाव्य व्यक्ति र समूहका आर्थिक क्रियाकलापलाई उद्यममा बदल्न सकिन्छ भन्ने सोचका साथ दिगो बैंकिङको सुरुवात गरिएको हो। यसबाट, उद्यमसँगै सामाजिक क्षेत्रमा योगदान गर्ने अर्थतन्त्र र उद्यमी तयार गर्ने लक्ष्य लिइएको छ।
यो लक्ष्य अरू बैंकको जस्तै नबिलको पनि व्यावसायिक पाटो मात्र नभएर सामग्र समाजको अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने ‘कर्पोरेट प्राथमिकता’ सहितको प्रयास पनि हो। कतिपय ठाउँमा उद्यम स्थापित छ तर यसलाई बजारमुखी, सामाजिक सेवा, उत्तरदायी र दिगो बनाउने नवीन सोच र प्रयत्न आवश्यक छ। अबको नवउद्यमको बाटो यही नै हुनुपर्छ। सरकारका सोच र योजनाको परिपालना गर्दै सिंगो वित्तीय क्षेत्र यसतर्फ केन्द्रित हुनुपर्ने समय आएको छ।


