दोस्रो लकडाउनपछि सुरु भएको ‘ह्वाट द प्लान्ट’, जसले बाँड्दै छ गमलासँगै खुसी 



२०७८ फागुन २१ गते ०९:५१ | Mar 5, 2022


दोस्रो लकडाउनपछि सुरु भएको ‘ह्वाट द प्लान्ट’, जसले बाँड्दै छ गमलासँगै खुसी 


काठमाडौं। चाबहिल स्तुपाको पछाडि चिनियाँ इँटाले सजिएको साढे तीन तले घर छ। त्यसको दोस्रो तलाको एउटा कोठा रंगिचंगी बोटबिरुवा, थरी थरीका फूलहरुले सजिएको छ। बोटविरुवा र फूलहरु सजिएको गमलामा देखिन्छ चराचुरुंगी, हिमाल, पहाडका दृश्य, विभिन्न खालका बुट्टा, बुद्ध, शिव,  गणेश लगायत भगवानका आकृति। 

Tata
Global Ime

सोही तलाको अर्को कोठामा आर्टिष्टहरु ब्रस चलाइरहेका छन्। माटोका गमलामा कलात्मक जीवन भरिरहेका छन्। यो अरु केही नभएर दुईमध्ये एउटा कोठा कारखाना र अर्को शोरुम हो – ह्वाट द प्लान्ट प्राइभेट लिमिटेडको।

यो ६ जना साथीहरु कमल प्रजापति, सविन श्रेष्ठ, प्रसिद्ध श्रेष्ठ, उदय कर्माचार्य, विवेक कार्की र राजाराम नेपाल मिलेर सुरु गरेको नौलो सोचमा आधारित व्यवसाय हो।

सविनले विभिन्न क्षेत्रमा काम गरेर कमाएको पैसा र अनुभवले आफ्नै केही गर्ने भन्दै रेष्टुरेण्टमा लगानी गरे। रेष्टुरेण्ट राम्रै चलिरहेको थियो। कमाइ पनि ठिकठाक। खराब समयका कारण उनले रेष्टुरेण्ट व्यवसायबाटै हात उठाउनुपर्यो। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण रेष्टुरेण्ट लामो समय ताला लगाउनुपर्‍यो। ‘दुई/चार दिन भए पो हुन्थ्यो। कमाइ नभएपछि भाडा कसरी तिर्ने ? व्यवसाय नै बन्द गरेँ,’ उनले भने, 'वर्षदिनभन्दा बढी व्यवसाय नै चल्ने भएपछि व्यवसाय नै छाडे। भाडा तिर्न नपरेको भए व्यवसाय बाँच्थ्यो।'

उनलाइ अब नयाँ खालको बिजनेस गर्नुपर्छ भन्ने लाग्यो। त्यसका लागि टिम चाहिन्छ। कमललाइ प्रस्ताव गरे। उनीसँगै प्रसिद्ध पनि थिए। उनीहरुले सानो स्टार्टअप सुरु गर्ने विषयमा छलफल गरे। मसलाको गर्ने, कि अरु केही । प्रसिद्धको घरमा नर्सरी छ। उनको बुबा गार्डेनिङको काम गर्छन्। त्यहिबाट प्रेरित भएर उनीहरुले बोटविरुवा र फुलसम्वन्धी काम गर्ने सोचे।

फूललाइ आकर्षकमा गमलामा सजाएर बेच्ने निर्णयमा पुगे। सविनका अनुसार महाबौद्धबाट प्लाष्टिकको भाडा ल्याएर त्यसलाइ सजाएर बिक्री गर्नसुरु भयो। उनीहरुलाई प्लाष्टिकको  राम्रो नहुने भन्ने लाग्यो। त्यसपछि सेरामिक ल्याएर बिक्री गर्न थाले। 'सेरामिक भन्दा राम्रो त फाइबर राम्रो रहेछ भन्ने लाग्यो। प्लाष्टिक सेरामिक छाडेर फाइबर बेच्न थाल्यौं,’ सविनले भने। 

उनीहरुको टिममा उदय आएपछि  उद्देश्य नै परिवर्तन भयो। मिसन, भिजन क्लियर हुँदै गएको सविनको भनाइ छ। ‘उसले सधैं भनिन्छ पैसाले मान्छे खुसी किन्न सक्दैन। तर प्लान्ट किन्दा खुसी हुन्छ, प्लान्टमा खुसी खोज्छन भने पटमा पनि खुसी मिल्ने केही गरौं भन्ने लाग्यो,' उनले भने। त्यहीबेला  विवेकले श्रीमतीको जन्मदिनमा उपहार फोटो प्रोट्रेट बनाइदिन प्रस्ताव गरे।

उदयले १० वर्षदेखि थन्काएको ब्रस निकाले। पेन्टिङका अरु सामान पनि। ‘तिमी सक्छौ भनेको उसले सक्छु भन्यो यस्तो राम्रो बनिदियो कुरा नगरौ,' सविनले भने। पहिलो पोट्रेट तीन जना परिवारको नै उतारिएको थियो। उनीहरुका अनुसार गमलामा त्यस्तो खालको पोट्रेट आर्ट हुँदैनथ्यो। यस्तो नयाँ आर्ट विकास हुनुमा उदयको धेरै योगदान रहेको भन्दै उनैलाइ श्रेय दिन्छन्। 

उनीहरु बाहिरबाट आयात हुनेभन्दा यहि स्थानीय रुपमा बन्ने माटोका भाडा सजाउन पाउदा खुसी छन्। ‘प्लाष्टिक, फाइबर हेर्दा राम्रो देखिए पनि हाम्रोमा बन्दैन । बाहिरबाट आउने रहेछ। फेरी महँगो पनि,’ उनले भने, ‘हामी त हाम्रा माटोका भाँडाहरु सजाएर विदेशी सामानलाइ विस्थापन गर्न पाउदा खुसी छौं।’

उनीहरुलाई आजसम्म पनि मार्केटमा जानु परेको छैन। अहिले साथीहरुबाट आएका अर्डरहरुमै व्यस्त छन। लगानी थपेर मास प्रोडक्सनमा जाने योजना बनाइरहेका छन्। 

यो व्यवसायका चुनौतीहरु पनि धेरै रहेको उनीहरुको भनाइ छ। ‘सामान बनाएर फ्याक्ट्रीमा रेडी भएर शोरुममा जानेबित्तिकै सकिने भयो। यो मेसिनले बनाउने जस्तो होइन। हातै कोरेर बनाउने हो। आर्ट गर्ने मान्छे चाहिन्छ,' सविनले भने,'हामीलाइ आर्ट गर्ने मान्छे चाहियो। त्यहि पाउनै गाह्रो।'

उनीहरुले नेपालमा मात्रै नभएर बाहिर पनि बेचिसकेका छन्। अष्ट्रेलिया, क्यानडा अमेरिका लगायतमा पठाइसकेका छन्। आज हामीले केही अर्डरहरु दुबई पठाउदैछौ,' कमलले भने,' अहिले बाहिरबाट पनि धेरै अर्डर आउन थालेको छ।' उपहारका रुपमा प्लान्ट लिने-दिने  क्रम समेत बढ्दो छ।

६ लाख रुपैयाँबाट व्यवसाय सुरु गरेका हुन्। अहिले उनीहरु ६ जनासहित थप ५ जना गरी ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।  लगानी थपेर उत्पादन बढाउनुपर्ने आवश्यकता महसुस गरिएको कमलले बताए। उनका अनुसार त्यसका लागि प्रक्रिया अघि बढाइसकेको छ। उनीहरुले अहिले भक्तपुरबाट गमला ल्याउने गरेका छन्। गमलाहरु समेत आफ्नै फ्याक्ट्री बनाएर उत्पादन गर्ने योजना छ। 

उनीहरुले विभिन्न स्थानीय नर्सरीबाट विरुवाहरु ल्याउँछन् भने भारत र हल्याण्डबाट आयात पनि गर्छ। एन्थरियम, अर्किट, साइक्लामेन, अएक्लोनेमा, मन्सटर, कालान्चोइ लगायत विदेशी जातका प्लान्टहरु छन् भने स्थानीयमा स्नेक, लक्की बेम्बो, जेड-जेड लगायत छन्।
उनीहरुले अहिलेसम्म ५० रुपैयाँदेखि १० हजारसम्मको बेचेका छन्। 'आर्ट भ्यालुलेस हुन्छ। तर एडजस्ट गर्न सक्ने प्राइस त दिन पर्‍यो नि। हामीले त्यही अनुसार बेचिरहेका छौं,' उनले भने, 'कुनै कुनै पोट्रेट बनाउन ३ दिन लाग्छ त्यसको प्राइस कसरी राख्ने?' उनीहरुले कम्पनीको स्लोगन नै 'ह्याप्पीनेस डेलिभर' राखेका छन्। 

एउटा राम्रो आर्ट तयार भएपछि काम गर्न हौसला मिल्ने सविनले बताए। 'सामान रेडी भएपछि इनर्जी आउथ्यो। थप काम गर्न प्रेरणा मिल्छ। अहिले त हामीले सामान बनाएर फ्याट्रीमा राख्नै पाएका छैनौ। गइहाल्छ।'