नेपाली युवाले स्वदेशमै बनाएको पोथी इनक्युबेटर मेसिन, दुई वर्षमै एकसय मेसिन बिक्री



२०७८ चैत्र १ गते ११:५१ | Mar 15, 2022


नेपाली युवाले स्वदेशमै बनाएको पोथी इनक्युबेटर मेसिन, दुई वर्षमै एकसय मेसिन बिक्री


काठमाडौं। जिज्ञासु स्वभावका सुमन पौडेल सानै उमेरदेखि विभिन्न अनुसन्धान गरिरहन्थे। प्रविधिमा आधारित उपयोगी सामान बनाइरहन्थे। विद्यालय पढ्दा नै गाईको गोबरबाट विद्युतीय ऊर्जा निकालेर बत्ती बालेका थिए। त्यति मात्रै होइन, उनले सानो हेलिकोप्टर, पंखाजस्ता सामान बनाउने प्रयोग पनि गरेका थिए।

Tata
Global Ime

चालक निदाउँदा लाग्ने सवारीको अटोमेटिक ब्रेक सिस्टम बनाउँदा उनले युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा पुरस्कार-२०७६ पाएका थिए। २०७३ मा कैलालीमा साइन्स एन्ड आर्ट संग्रहालय स्थापना गरेका सुमनलाई २०७६/७७ को लकडाउनले फुर्सदिलो बनायो। त्यो बेला संग्रहालय बन्द हुँदा नयाँ प्रविधिमा प्रयोग गर्ने मौका मिल्यो।

पेसाले इलेक्ट्रिकल इन्जिनियर सुमनले अण्डाबाट चल्ला निकाल्न ह्याचिङ मेसिन 'पोथी इनक्युबेटर' बनाए। पोथी इनक्युबेटर पाथिभरा सेन्सर सलुसन उद्योगको एउटा उत्पादन हो, जसबाट कुखुरा, हाँस, टर्की, कालिज, बटाई, तित्रा, फेन्सीजस्ता पक्षीहरुको अण्डा कोरलेर चल्ला निकाल्न सकिन्छ।

यसरी बन्यो  पोथी इनक्युबेटर

लकडाउनको समय उपयोग गर्दै पहलवानपुर कैलालीका सुमनले विजयराज शाहीसँग मिलेर अण्डा कोरल्ने ह्याचिङ मसिन पोथी इनक्युबेटर बनाए। २०७२ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अनुसन्धानकर्ताका रुपमा समेत करिब ६ महिना काम गरेका सुमनले लकडाउनमा अण्डा इन्क्युभेटिङ (ह्याचिङ) मेसिन आयात गर्न नेपालको पोल्ट्री उद्योगले वार्षिक करोडौं रुपैयाँ खर्च गरिरहेको थाहा पाएपछि मेसिन उत्पादनमा काम गर्न थाले ।

सधैँजसो अनुसन्धान र प्राविधिक सामाग्री बनाउन व्यस्त रहने सुमन लकडाउनमा पनि कहाँ चुप लगेर बस्न सक्थे र ? बन्द भएको संग्रहालयमा नै उनले आफ्नो साथी विजयसँग मिलेर अण्डा कोरलेर चल्ला उत्पादन गर्ने मेसिन बनाउनमा काम गर्न थाले। फाइबरको संरचना बनाउने साथै इन्नोभेटिभ गेट/घरहरू बनाउने विजयले मेसिनको मेकानिकल पार्टहरु हेर्ने गरेको सुमन बताउँछन्।

'कोरोनाको पहिलो लहरपछि धेरैले जागिर गुमाए, एक किसिमले आर्थिक संकट नै लागेको थियो। तर त्यो अवस्थामा पनि मान्छेहरूले मासु खान छोडेका थिएनन्। हामीले बुझ्दा पनि मासुको खपत पनि बढिरहेको नै पायौँ,' सुमन भन्छन्, 'अझै बुझ्दै जाँदा हामीले मासुको मार्केट र अण्डा कोरल्ने ह्याचिङ मसिनको माग ठुलै रैछ भन्ने बुझ्यौँ।' तर ती मेसिनहरू नेपालमा उत्पादन नहुने र प्राय: विदेशबाट आयात गर्नु पर्ने थाहा पाएपछि पौडेल र शाही उक्त मेसिनलाई नेपालमा नै बनाउने काममा जुटे।

उनले आफ्नो योजनालाई आकार दिन ४ लाख रुपैयाँको लागतमा केही प्रोटोटाइपहरू विकास गरे। सुमन सम्झन्छन्, 'सुरुवाती तीन महिना त मेसिन बनाउँदै र अर्को तीन महिना टेस्टिङ गर्दै बित्यो। त्यो बेला हाम्रो मेसिनको सक्सेस रेट जम्मा ५० प्रतिशत थियो। हामी आफैंले पनि तीन लट जति त मेसिनमा अण्डा राखेर चल्ला निस्किन्छ कि निस्किदैन भनेर चेक नै गर्यौं। त्यही अनुसार हामीले मेसिनमा सुधार गर्दै लग्यौं।'

स्वदेशी मेसिनलाई विश्वास नगर्ने प्रवृत्ति

आयातित इनक्युबेटरको मूल्य ३० हजार रुपैयाँदेखि सुरु हुन्छ। तापक्रम र आकारअनुसार निर्धारण हुने मूल्य हेर्दा नेपाली पोल्ट्रीहरुले बढीमा ३/४ करोडसम्मका इनक्युबेटर खरिद गरेर प्रयोग गरिरहेका छन्। आयातित महँगोका तुलनामा स्तरीय र सहुलियत मूल्यमा आफूहरुले उपलब्ध गराइरहेको दाबी सुमनको समूहको छ।

 नेपालीले गरेको उत्पादनलाई आयातितका तुलनामा समाजले झट्ट पत्याउँदैन। यो जटिलता उनीहरुको इनक्युबेटरले पनि भोग्यो। काम गर्न थालेको ६ महिनापछि बल्ल इनक्युबेटर मेसिन व्यवसायिकरूपमा लन्च गरियो। सुमन भन्छन्, 'सुरु सुरुमा हामीले मेसिनले लागिदिनुस् र चलाइदिनुस् भन्दा पनि कसैले हामीमा र हामीले बनाएको मेसिनमा विश्वास नै गर्नु भएन। विस्तारै दुई-तीन जनाले चाहिँ मेसिन लगिदिनु भयो। त्यतिबेला हामीले चल्ला निस्केपछि मात्रै पैसा दिनु होला भनेर भनेका थियौं र चल्ला पनि निस्कियो।'

त्यसपछि उनीहरू लार्ज स्केलका मेसिनहरू उत्पादन गर्न थाले। उनीहरूले कुखुरापालकलाई मेसिन चलाउन सिकाउनुका साथै चल्ला राम्रोसँग कोरल्नका लागि ध्यान दिनुपर्ने कुराहरूको पनि जानकारी गराउँदै गए।

'त्यति मात्रै होइन मेसिनको अपरेसन, के कसरी काम गरिरहेको छ, मेसिनमा कुनै समस्या आदि जस्ता कुरा हेर्न मिल्ने प्रविधि जडान गर्यौं,' उनी भन्छन्, 'टाढा टाढा भएको मेसिनहरूमा पनि कुनै समस्या आएको खण्डमा हामीले उहाँहरूलाई फोनमार्फत सम्पर्क गरेर समस्याको जानकारीका साथै मर्मत गर्ने तरिका पनि सिकाउँछौँ वा सम्झाउँछौँ।'

ढुवानीमा समस्या भएकाले करिब एक वर्षपछि टिकापुरस्थित कारखाना सुमनले बुटवलमा सारे। त्यस लगत्तै विजय पोथी इनक्युबेटरलाई छोडेर आफ्नै बाटोतर्फ लागेको सुमन बताउँछन्। इनक्युबेटरको व्यवसायलाई हाँक्नको सुमनले काइचो ग्रुप (स्टेम इकोसिस्टम विकास र प्रवर्द्धनका लागि विभिन्न पृष्ठभूमिका प्रोफेसनलहरूको समूह) मार्फत चिनजान भएका २२ वर्षीय सुजन पौडेल, २५ वर्षका विवेक पौडेल, र २६ वर्षीय रवि थापालाई सहसंस्थापकका रूपमा भित्र्याए।

सुमनका अनुसार सुजनले इलेक्ट्रिकल र कम्युनिकेसन सिस्टम हेर्छन् भने विवेक र रविले मेकानिकल र डिजाइनको काम। विस्तारै पोथी मेसिनको माग र लोकप्रियता बढ्दै गयो। उनीहरुको समूहले केही महिना बुटवलमा सञ्चालन गरेपछि कारखाना नवलपुरमा स्थायीरूपमा स्थापित गरेर मेसिन उत्पादन गरिरहेको छ।

पोथी इनक्युबेटरलाई दक्षिण एसियाली मुलुकमा निर्यात गर्ने योजना

हालसम्म पोथी मेसिनको ठूला-साना गरी १०० युनिट बिक्री भइसकेको छ। ८५ लाखको कारोबार भएको उनी बताउँछन्। पोथी मेसिनहरूको मूल्य ३५ हजारदेखि २५ लाखसम्म (कति अण्डा कोरल्ने क्षमता अनुसार) पर्छ। यी मेसिनहरूमा १७६ देखि १० हजारसम्म कुखुरा, हाँस, टर्की, कालिज, बटाई, तित्रा, फेन्सीजस्ता पक्षीहरुको अण्डा कोरलेर चल्ला निकाल्ने क्षमता भएको सुमन बताउँछन्।

'पोथी इनक्युबेटरलाई अझै थप हाई टेक बनाएर हामी बंगलादेश, भुटान र भारतमा निर्यातको तयारीमा छौ,' सुमन भन्छन्।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा ३० भन्दा धेरै स्वचालित फीचरहरु जस्तै तापक्रम, आद्रता, अक्सिजन, अण्डाको रोटेसन, अण्डाको चेन्जिङ/शिफ्टिङ समय, आपतकालीन अलर्ट, एसएमएस अलर्ट साथै धेरै अण्डा कोरल्न सक्ने क्षमता भएको पोथी भविष्य मेसिनको उत्पादनमा सुमन र उनको टोली व्यस्त छ।