
काठमाडौं। फागुनमा मोबाइल आयात संख्या ओरालो लागेको छ। माघको तुलनामा फागुनमा एक लाख ८७ हजार १८५ थान कम मोबाइल आयात भएको छ।
माघमा दुई अर्ब ७५ करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको चार लाख ४१ हजार ३७० थान मोबाइल आयात भएको थियो। फागुनमा माघको तुलनामा १५ करोड १९ लाख रुपैयाँ कम मूल्यको मोबाइल आयात भएको हो। माघमा चार लाख ४१ हजार ३७० थान मोबाइल आयात भएकोमा फागुनमा घटेर दुई लाख ५४ हजार १८५ थान मात्रै आयात भएको भन्सार विभागले जनाएको छ।
चिपको मूल्य, डलरको भाउ र पेट्रोलियम पदार्थमा भएको भारी वृद्धिका कारण ढुवानी खर्च बढेपछि मोबाइलको मूल्य बढ्दै गएको व्यवसायीहरुले बताएका छन्।
जसका कारण माघमा उही मूल्य हाराहारीमा चार लाख बढी थान मोबाइल भित्रिँदा फागुनमा भने साढे दुई लाख थान भन्दा केही बढी मात्रै भित्रिएको देखिन्छ। मोबाइल आयातको भुक्तानी अमेरिकी डलरमै हुने गर्छ। पछिल्लो समय डलरको भाउसमेत उकालो लागेकाले मोबाइल आयातको मूल्यसमेत धेरै देखिँदै आएको छ।
चालू आवको आठ महिनामा करिब ३१ अर्ब रुपैयाँको ४२ लाख ५९ हजार ९८९ थान मोबाइल आयात भएको छ। गत आव २०७७/७८ को आठ महिनामा २६ अर्ब ३० करोड रुपैयाँ बराबरको ४९ लाख ९३ हजार ४५१ थान मोबाइल आयात भएको थियो।
त्यसैगरी, सरकारले फागुनमा मोबाइल आयातबाट संकलन गर्ने राजस्व पनि दुई करोड ७७ लाख २२ हजार रुपैयाँले घटेको छ। फागुनमा सरकारले मोबाइल आयातबाट ४० करोड ८१ लाख ५० हजार रुपैयाँ भन्सार संकलन गरेको विभागले जनाएको छ। माघमा सरकारले ४३ करोड ५८ लाख ७२ हजार रुपैयाँ भन्सार संकलन गरेको थियो।
भन्सार विभागका अनुसार माघ २०७८ मा मात्र २ अर्ब ७५ करोड रुपैयाँ बराबरको ४ लाख ४१ हजार ३७० थान मोबाइल आयात भएको थियो। पुसको तुलनामा माघमा ६२ हजार ६ सय २७ थान कम फोन आयात भएको थियो। फोन आयातको संख्या घटे पनि मूल्यका हिसाबले पुसमाभन्दा माघमा बढी मूल्यका फोन भित्रिएको थियो।
मिड रेन्जका फोनका प्रयोगकर्ता बढेकाले नै अहिले आयात भएको मोबाइलको संख्या घट्दा समेत मूल्य धेरै देखिएको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले जानकारी दिए।
मिड रेन्जका फोनको माग अत्यधिक भए पनि विश्वबजारमा चिप उत्पादकहरुले माग बमोजिम आपूर्ति गर्न नसक्दा पनि मोबाइलको उत्पादन प्रभावित भइरहेको छ। चिप अभावकै कारण मोबाइल उत्पादन घट्दा अहिले कतिपय मिड रेन्जका फोनको बजारमा अभाव रहेको बिक्रेताहरु बताउँछन्। यो पनि नेपालमा मोबाइल आयातको संख्या खुम्चिनुको एउटा कारण भएको व्यवसायीहरु बताउँछन्।
त्यसैगरी, नेपाल दूरसंचार प्राधिकरणले समयमै अवैध मोबाइल डिसेबर गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न ढिलाइ गरेपछि बजारमा अवैध फोनमा मात्रा बढ्दै गएको बताउँछन्।
गत साउन १ बाटै एडीएमएस कार्यान्वयनमा ल्याउने प्राधिकरणको प्रयास निरन्तर असफल भइरहेको छ। प्राधिकरणले वैशाखबाट एमडीएमएस लागू गर्ने नयाँ भाखा तोकेको छ। एमडीएमएस कार्यान्वयनमा आउन नसक्दा बजारमा अवैध फोनको हिस्सा बढ्दै गएकाले पनि आयातमा असर परिरहेको व्यवसायीहरुले बताएका छन्।