
काठमाडौं। लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैरनाफमूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रीन’ अभियान अन्तर्गत वार्षिक साइकल र्याली आयोजना गरेको छ।
टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो र्याली १३ किलोमिटरको दूरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर सम्पन्न भएको बैंकले जनाएको छ।
र्याली पछि विभिन्न पेशा तथा व्यवसायमा संलग्न लक्ष्मी केयर्सका एक हजारभन्दा बढी व्यक्तिहरुको उपस्थितिमा १९७४ एडी ब्यान्डको सांगितिक प्रस्तुतिलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो।
लक्ष्मी केयर्सले उज्यालो अभियान अन्तर्गत जनचेतना अभिवृद्धि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरणमैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल र्याली कार्यक्रमको आयोजना गर्दै आएको छ।
यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको थियो।