नेपाली पुँजी बजारका लागि बुक बिल्डिङको आवश्यकता वा औचित्यको निष्कर्षमा पुग्नुअघि यसलाई बजारको तथ्यांकहरुबाटै हेर्नु उपयुक्त हुन्छ।
प्राथमिक बजारमा जारी आईपीओ, हकप्रद सेयर इत्यादिको मात्र पछिल्लो १२ वर्षको आँकडालाई हेर्ने हो भने हाम्रो पुँजी बजारमा वार्षिक औसत १७ प्रतिशतका दरले लगानी थपिएको देखिन्छ। यसलाई सानो भन्न मिल्दैन। यो आँकडाको प्रवृत्तिले आईपीओमार्फत पुँजी बजारको लगानीले बर्सेनि ठूलो हुँदै गएको देखिन्छ।
स्टक मार्केट जसलाई दोस्रो बजार पनि भनिन्छ, त्यो पनि २०१९/२० पछि त गुणात्मक रुपमा वृद्धि भएको तथ्यांकले देखाउँछ। त्यतिबेला पर्याप्त तरलता, सेयरको अभौतिकीकरण (डिमटेरियलाइजेसन अफ सेयर) र कारोबार सहज गराउने प्लाटफर्मको विकासका कारण स्टक मार्केटमा यस्तो वृद्धि आएको हो।
यो क्रम अघि बढ्दै जाँदा २०१९/२० मा दोस्रो बजारमा कुल सेयर कारोबार ११० अर्ब रुपैयाँबाट ३६% ले बढेर १५० अर्ब रुपैयाँ पुग्यो। अझ २०२०/२१ मा त यो ८६९% को दरले बढेर १४ खर्ब ५४ अर्ब रुपैयाँ हाराहारी पुगेको नेपाल स्टक एक्सचेन्जको तथ्यांक छ। यो वर्ष पनि गत फागुनसम्मको नेप्सेको तथ्यांक हेर्दा १० खर्ब हाराहारीको कारोबार भइसकेको छ।
लाभग्राही खाता (डिम्याट) खोल्नेको संख्या ५० लाख नाघिसकेको छ। यी भनेको आईपीओ मार्केटका सक्रिय लगानीकर्ता हुन्। यस्तै, १२ लाख ३५ हजारभन्दा धेरैको अनलाइन ब्रोकर अकाउन्ट छ, जसमध्ये एक लाख १० हजार हाराहारी दोस्रो बजारमा सक्रिय लगानीकर्ताका रुपमा रहेको नेप्सेको तथ्यांक छ।
यिनलाई बजारसम्म जोड्न ३० वटा मर्चेन्ट बैंकर, ५० वटा स्टक ब्रोकर, ३० म्युचुअल फन्ड स्किम छन्। यस्तै, तीन क्रेडिट रेटिङ एजेन्सी र ८८ योग्य संस्थागत लगानीकर्ताहरु (क्युआईआईज्) पुगिसकेका छन्।
यी सबैका कारण प्राथमिक (आईपीओ) र दोस्रो बजार (सेकेन्डरी मार्केट) दुवैमा लगानीकर्ताको सहभागिता र यो बजारलाई व्यवस्थापन गर्ने मध्यस्थ संस्थाहरु (इन्टरमिडियरिज्) को वृद्धिको यो आँकडाले हामीलाई भन्दैछ – पुँजी बजार अब पहिलेजस्तो अवस्थामा बिल्कुलै छैन। हामीले यसमा परिवर्तन ल्याएका छौं, यो धेरै अगाडि आइसकेको छ र यसमा ठूलो विस्तार भएको छ।
यसकारण यो बजारमा जुन किसिमको सहभागिता आउँदैछ र जुन खालको चासो देखिएको छ, त्यसलाई हामी अब कसरी सम्बोधन गर्छौैं भन्ने मुख्य प्रश्न हो।
माथिको आँकडाबाट बजारमा माग माथि गइरहेको देखिइसकेको छ। यो बजार प्रवृत्तिमा अब त्यसअनुरुपको आपूर्तिका लागि के गर्ने भन्ने गम्भीर रुपमा सोच्ने बेला भइसकेको छ।
तर अहिलेको अवस्थामा हामी कहाँ छौं त?
नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुमध्ये करिब ९२% बैंक तथा वित्तीय संस्था (क, ख, ग र घ वर्गका), बीमा र जलविद्युत क्षेत्रका कम्पनीहरु रहेका छन्। यो तीन समूहको पुँजी बजारमा हिस्सा अंकित मूल्य (पार भ्यालु) का हिसाबले करिब ९० प्रतिशत छ भने बजार पुँजीकरणमा हिस्सा ७५ प्रतिशत हाराहारी छ। यसले प्रष्ट देखाउँछ, सीमित समूहको दबदबा नेपाली पुँजीबजारमा छ।
माथिकामध्ये बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा सर्वसाधारणलाई सेयर जारी गर्नैपर्ने प्रावधान छ। तर जलविद्युतलाई यसका लागि अनिवार्य गरिएको नभए पनि बजारले यो क्षेत्रलाई सहयोग गरेको छ। र, सेयर जारीका लागि अनिवार्य नगर्दा नगर्दै पनि नेपाली पुँजीबजारबाट सबैभन्दा राम्रोसँग लाभ कसैले उठाएको छ भने त्यो जलविद्युत क्षेत्र नै हो। यो क्षेत्रले बजारबाट ३३ अर्ब रुपैयाँ पुँजी जुटाइसकेको छ।
यसबाट पनि एक त नेपालको पुँजी बजारले जलविद्युत क्षेत्रलाई सहयोग गरेको देखिन्छ भने अर्को, यो बजार अन्य कुनै पनि क्षेत्रका लागि खुला छ भन्ने पनि बताउँछ। तर किन हामी अन्य क्षेत्रका कम्पनीहरु यो बजारमा खासै देखिरहेका छैनौं? यो हामीले सोच्नुपर्ने विषय हो।
बजारमा कारोबार, नाफा र सेयरको मूल्यवृद्धिको तथ्यांकीय सम्बन्ध हेर्दा हाम्रोमा कम्पनीको नाफा कम भएको बेलामा पनि सेयर बजार माथि गएको देखिन्छ। अर्कोतर्फ, कम्पनीले राम्रो नाफा गरेको अवस्थामा पनि त्यसअनुरुप त्यसको सेयर मूल्य खासै नबढेका उदाहरणहरु प्रशस्त छन्। यसको मतलब, हाम्रो बजारलाई कम्पनीको आधारभूत वित्तीय सूचकभन्दा बढी तरलता पर्याप्त वा कम भएको अवस्थाले बढी प्रभावित गर्ने गरेको झल्काउने आधार हो यो।
कुनै पनि कम्पनीको सेयरका लागि तिर्न चाहेको मूल्य तय गर्दा इन्डष्ट्रिको मूल्यलाई मात्र आधार मान्ने कि कम्पनीको पर्फर्मेन्सलाई पनि हेर्ने? भन्ने कुरालाई पनि यसले जनाउँछ।
यस्तो अवस्था बन्नुको कारण कतै हामीले पनि लगानीकर्ताहरुलाई आवश्यक मात्रामा शिक्षित र सुसूचीत गर्न नसकेर पो हो कि भन्ने पनि विचार गर्नुपर्ने देखिन्छ। यसमा कतै न कतै हाम्रो कमी-कमजोरी देखिन्छ।
हाम्रो बजारमा लगानीकर्ताले नाफा कमाउने वा राम्रो प्रतिफल लिने अवस्था त्यतिबेला बन्छ, जब मूल्य आम्दानी अनुपात (पीई रेसियो) माथि जान्छ, प्रतिसेयर आम्दानी (ईपीएस) धेरै भएर होइन। अर्थात्, हामी त्यतिबेला पैसा बनाउँछौं जब स्टकको मूल्य महँगो हुन्छ।
यसकारण कहीँ न कहीँ हामीले ईपीएसको वृद्धि दर पनि राम्रो हुने कम्पनीहरु बजारमा ल्याउपर्ने हो कि, ता कि पीईमा धेरै उतारचढाव नआउँदा पनि लगानीकर्ताले पुँजी बजारबाट पैसा बनाउन वा नाफा कमाउन सकुन्।
यसका लागि नै हामीलाई बजारमा अनिवार्य सेयर जारी गर्नुपर्ने क्षेत्रका मात्र नभएर अन्य वास्तविक क्षेत्र (रियल सेक्टर) का कम्पनीहरु पनि चाहिएको छ। रियल सेक्टरका कम्पनीले पीईको उतारचढावबाट नभएर ईपीएसमा वृद्धिबाट पनि लगानीकर्तालाई अपेक्षित प्रतिफल दिलाउन सक्नेछन्।
आईपीओबाट सूचीकृत भएपछि कम्पनीहरुको सेयर मूल्यमा भएको वृद्धिको आँकडा हेर्ने हो भने देखिन्छ फर्स्ट सेलिङ डेमा पनि १० प्रतिशतले मूल्य बढेको रेकर्ड छ। यस्तै, एक सातमा सतप्रतिशतभन्दा बढी र एक महिनामै ४०००% सम्म मूल्य बढेको हामीले देखेका छौं।
यसले देखाउँछ कि हामी जसरी आईपीओको मूल्य निर्धारण गरिरहेका छौं, त्यसले स्टक किन्दा कम्पनीको विश्लेषण भन्दा पनि कहीँ न कहीँ 'आईपीओमा सय रुपैयाँ हालेपछि बढ्छ बढ्छ, सजिलै पैसा बन्छ' भन्ने न्यारेटिभबाट लगानीकर्ता बढी निर्देशित भइरहेको हो कि?
स्टकको अहिले सस्टेन भइरहेको मूल्यलाई सम्बन्धित कम्पनीको प्रोस्पेक्टसमा उल्लेख विवरणहरुले ब्याकअप गरिरहेको हुन्छ, जसले सेयरको मूल्य सय रुपैयाँलाई औचित्यसिद्ध गर्न खोजेको हुन्छ।
तर अहिले अधिकांश लगानीकर्ताहरुसँग आफूले कुनै पनि कम्पनीको सेयरका लागि तिर्न खोजेको मूल्यलाई ब्याकअप गर्ने तथ्यांक समेत हुँदैन। यदि हिजोको कुनै स्टकको मूल्य आजको मार्केट प्राइसमा आउँछ भन्ने निश्चित हुन्थ्यो भने त्यही अनुसारको प्रोस्पेक्टस बन्थ्यो, त्यही हिसाबले सूचना/जानकारीहरुको डिस्क्लोजर हुन्थ्यो र त्यही हिसाबले बजारले विवेकपूर्ण निर्णय गर्न सक्थ्यो।
तर अहिले भइरहेको के छ भने – सय रुपैयाँ मूल्यका लागि प्रोस्पेक्टस बनेको कम्पनीको सेयरका लागि हामी चार हजार गुणासम्म मूल्य तिर्न तयार भइरहेका छौं।
यसकारण आईपीओ सय रुपैयाँको नै हुन्छ भन्ने जुन न्यारेटिभ हामीले दिइरहेका छौं, त्यसले साधारण लगानीकर्तालाई हामीले जोखिममा त धकेलिरहेका छैनौं भन्ने कोणबाट पनि सोच्नुपर्ने हुन्छ। 'हामीले लगानीकर्तालाई उनीहरुले कुनै स्टकका लागि तिर्न खोजिरहेको मूल्यका विषयमा सही सूचना (इन्फर्मेसन डिस्क्लोजर) त दिइरहेका छौं?' भन्ने प्रश्नसँग पनि यो जोडिन्छ।
यसले लगानीकर्ताहरुको विभिन्न समूहको आवश्यकता धेरै भइसकेकाले अब हामीले आईपीओमा पनि सोच्ने बेला भयो भन्ने देखाउँछ। यो भनेको अघि नै भनेजस्तो 'डिमान्ड साइड' धेरै वृद्धि भइसकेकाले 'सप्लाई साइड' मा पनि अब सुधारका लागि काम गर्नुपर्ने बेला सायद भइसकेको छ।
बुक बिल्डिङ उत्तम विकल्प
सामान्यतया तीन पद्धतिबाट आईपीओ जारी गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ- फिक्स प्राइसिङ (स्थिर मूल्य विधि), प्रिमियम प्राइसिङ (प्रिमियम मूल्य विधि) र अर्को 'फ्री प्राइसिङ' (स्वतन्त्र मूल्य विधि)।
फ्री प्राइसिङ बोलकबोल (अक्सन) र बुक बिल्डिङ गरी दुई प्रक्रियामा आधारित प्राथमिक सेयरको मूल्य निर्धारण विधि हो। अक्सनमा बजारबाट धितोपत्रको 'कट अफ' प्राइस निर्धारण गरिन्छ। बुक बिल्डिङ भने यस्तो अभ्यास हो, जसमा कम्पनीका बारेमा सम्पूर्ण सूचनाहरु सार्वजनिक गरेर तिनको विश्लेषणका आधारमा बजारबाट मूल्य तय गरिन्छ र त्यो मूल्यमा सेयर बेचिन्छ।
नेपालमा अहिलेसम्म सबैभन्दा प्रचलित विधि सय रुपैयाँ अंकित मूल्यमा सेयर जारी गर्ने फिक्स प्राइसिङ हो। प्रिमियमा पनि सेयर जारी गर्न सेबोनले खुला गरेको छ। एफपीओ र अक्सनको अभ्यास पनि हामीले गरिसकेका छौं। बुक बिल्डिङबारे भने अहिलेसम्म पनि हामी छलफलमै छौं।
प्रिमियम प्राइसिङमा राम्रा कम्पनीले प्रतिकित्ता सय रुपैयाँभन्दा बढीमा सेयर जारी गर्ने सुविधा पाउँछन्। तर यसको एउटा समस्या भनेको यसले बजारसँग अन्तरक्रिया गर्दैन, एउटा पक्ष (सेयर जारीकर्ता) बाट मात्र मूल्य निर्धारण हुन्छ जसलाई नियामक (धितोपत्र बोर्ड) ले समीक्षा गरेर स्वीकृत गरेपछि सेयर जारी हुन्छ। यसो हुँदा निर्धारित प्रिमियम मूल्य 'इनइफिसियन्ट' अर्थात् बजारले तिर्न खोजेको भन्दा कम वा बेसी हो कि भन्ने प्रश्न जहिल्यै रहिरहन्छ।
प्रिमियम प्राइसिङको यो कमजोरी बुक बिल्डिङले हटाउने विश्वास गरिन्छ, जसमा बजार (माग) र सेयर जारी गर्न खोजेको कम्पनी (आपूर्ति) दुवैतर्फको आवाजको प्रतिनिधित्व गर्छ। माग र आपूर्ति पक्षको विश्लेषण गरेर एउटा विन्दुमा आएर मूल्य निर्धारण हुन्छ। यो विधिले बजारमा योग्य संस्थागत लगानीकर्ताहरु (क्युआईआईज्) छन् र उनीहरु सम्बन्धित सेयरको सही मूल्य निकाल्नका लागि दक्ष छन् भन्ने मान्यता राख्छ।
संगठित रूपमा धितोपत्र कारोबार हुन थालेको नेपाली सेयर बजारले झन्डै तीन दशक पार गरिसकेकाले यसलाई अब एउटा तहमा विकास गर्न राम्रा स्क्रिपको आपूर्ति बढाउने स्वस्थ र वैज्ञानिक औजार कार्यान्वयनमा नल्याइ हुँदैन। यो परिप्रेक्ष्यमा हाम्रो बजारको परिवक्वता अनुसार हामीले कार्यान्वयनमा ल्याउन सक्ने विधि बुक बिल्डिङ नै हो।
के बजार तयार छ बुक बिल्डिङका लागि?
अहिले देखिएको छ- आईपीओपछि सूचीकरण भएको एक दुई महिनामै कतिपय कम्पनीको सेयर मूल्य धेरै माथि पुगिसकेको हुन्छ। यो पनि कुनै कम्पनीको सेयरका लागि लगानीकर्ताले तिर्न तत्परता देखाएको एक किसिमको प्रिमियम नै हो। त्यो मूल्य कम्पनीभन्दा बाहिर सिर्जना भएको भए पनि सम्बन्धित कम्पनीकै कारण आएको हो। तर त्यसको लाभ भने कम्पनीमा आउँदैन।
यदि सम्बन्धित कम्पनीले नै सही मूल्यमा सेयर जारी गर्न पाउने हो भने त्यो सम्पूर्ण प्रिमियम कम्पनीमा रहन्छ र कम्पनीले त्यो पुँजीलाई परिचालन गरेर संस्थाका लागि अझ बढी लाभ सिर्जना गर्न सक्नेछ। बुक बिल्डिङले कम्पनीलाई त्यो विकल्प खुला गर्दै सर्वसाधारणमा जान प्रोत्साहित गर्नेछ।
अहिले हाम्रो सेयर बजारको आकार र यसमा हुने कारोबारको आयतनलाई हेर्ने हो भने प्रष्ट देखिन्छ कि सूचीकृत कतिपय कम्पनीका सेयरहरुको कारोबार तिनको 'बुक भ्यालु' भन्दा पनि निकै बढीमा भइरहेको छ। यसको अर्थ – बजारले कुन कम्पनीको सेयरको सही मूल्य कति हो भन्ने निर्णय गर्न सक्ने अवस्थामा हामी गइसकेका छौं। त्यसकारण नै आईपीओमा सय रुपैयाँ मात्र रहेको अंकित मूल्यभन्दा निकै बढीमा पनि दोस्रो बजारमा सेयर कारोबार भइरहेको हो।
जब आईपीओमा भन्दा दोस्रो बजारमा स्टकको सही मूल्यको निर्णय लगानीकर्ताले गर्न सकिरहेका छन् भने त्यसलाई आईपीओमा नै किन नअपनाउने? यदि त्यसो गर्दा राम्रा कम्पनीहरु आउँछन् र लगानीकर्ताहरुका लागि पनि विकल्पहरु बढ्छन् भने साँचो अर्थमा हामी त्यो प्रक्रिया वा विधिमा किन नजाने?
किनकि, एकातिर राम्रा धेरै कम्पनी ल्याउने सवालमा विद्यमान प्राइसिङ विधिबाट हामी सफल हुन सकेका छैनौं भने अर्कोतर्फ दोस्रो बजारमा थुप्रै कम्पनीको सेयरले उच्च मूल्य पाइरहेका पनि छन्। यसको अर्थ कहिँ न कहिँ कुरा मिलिरहेको छैन। यसलाई मिलाउनका लागि आईपीओमा पनि वास्तविक मूल्य निर्धारणको विधि चाँडै कार्यान्वयनमा ल्याउनुपर्छ।
किनभने, लगानीकर्ताहरु सही मूल्य तिर्न तयार छन्, त्यसको निर्णय गर्न सक्षम छन्, र सँगसँगै सेयर बजारमा क्षेत्रगत स्क्रिपको विकल्प फराकिलो होस् भन्ने पनि चाहिरहेका छन्।
बुक बिल्डिङको माग नेपाली धितोपत्र बजारमा सेयर जारी गर्न चाहने पक्ष (कम्पनी वा संचालक) को तर्फबाट पनि भइरहेको छ। यस्तै, सेयर बजारका लगानीकर्ताहरुको तर्फबाट पनि यो आवश्यक भइसकेको छ – लगानीका विकल्पहरु फराकिलो होस् भन्ने चाहनाका दृष्टिले।
सेयर बजारका लगानीकर्ताहरु कारोबारका लागि धेरै स्क्रिपहरु चाहिरहेका छन्, राम्रा स्क्रिप्टहरु खोजिरहेका छन्। साथै, सेयर बजारलाई देशको अर्थतन्त्रलाई पनि राम्ररी प्रतिनिधित्व गर्ने तहको बनाउनका लागि पनि राम्रा कम्पनीहरु पब्लिकमा जान आवश्यक छ। त्यसले सेयर बजारमा सूचीकृत स्क्रिप्टमा पनि विविधिकरण ल्याउँछ।
यसले एक त लगानीका विकल्पहरुमा विविधिकरण गरेर पुँजी बजारको स्थायित्व र परिपक्वतामा मद्दत गर्नेछ भने ठुला-ठुला परियोजनाका लागि आवश्यक लगानी पुँजी बजारबाटै उठाएर नेपालीकै पुँजीबाट ती बन्न सक्ने बलियो आधार तयार पार्नेछ।
बुक बिल्डिङमार्फत सेयर जारी गर्न चाहने वास्तविक क्षेत्र (रियल सेक्टर) का र अन्य राम्रा कम्पनीले त्यसको वास्तविक मूल्य (ट्रु इन्ट्रिन्जिक भ्यालु) मा सेयर जारी गर्न पाउँछ। यो हुन सकेको खण्डमा पुँजी बजारलाई माग र आपूर्ति दुवैतर्फबाट सन्तुलनको अवस्थामा राखेर थप परिपक्व बनाउन मद्दत पुग्छ।
हामीले बलियो 'डिमान्ड साइड' सिर्जना गरिसकेका छौं (जसबारे यसअघि नै चर्चा गरिसकिएको छ) र यो क्रम जारी छ भने 'सप्लाइ साइड' पनि त्यही अनुरुप सिर्जना गर्न जरुरी छ। नत्र मागलाई कायम राख्न लागि बजारले उपलब्ध स्क्रिपहरुकै अति दोहनमा निर्भर भइरहनुपर्छ, जुन बजारको सिद्धान्तविपरीत हो। अहिले यस्तै किसिमले सीमित क्षेत्रका स्क्रिपहरु अधिक रहेकाले हाम्रो बजारमा अस्वाभाविक उतारचढाव पनि देखिने गरिएको छ।
यस हिसाबले पनि सेयर बजारको माग र आपूर्ति दुवै पक्षमा सन्तुलनका लागि नयाँ स्क्रिप (कम्पनीहरुको सेयर) को आपूर्ति पनि कसरी बढाउने भन्ने सोच्नुपर्छ। त्यसका लागि रियल सेक्टरलाई पुँजी बजारमा भित्रिनका लागि आकर्षिक गर्न 'बुक बिल्डिङ' बाट राम्रा कम्पनीहरु पब्लिकमा जाने वातावरण शीघ्र बनाउन आवश्यक छ।
अहिले बजार एउटा तहमा परिपक्व पनि भइसकेकाले बुक बिल्डिङलाई अब यथाशीघ्र कार्यान्वयनमा ल्याउने सही समय भएको छ, भलै यसका लाभ-हानिका साथै यसमा जोखिम अन्तरनिहित भएका हुन्। कमिकमजोरी र जोखिमलाई सम्भव भएसम्म न्यून गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डका साथै पुँजीबजारका सबै सरोकारवालाहरुले आ-आफ्नो ठाउँबाट सुधारको भूमिका खेल्नुपर्छ।
बजार र आम लगानीकर्ताले संशय गर्दै आएको बुक बिल्डिङबाट निर्धारण हुने मूल्यलाई 'सही' (फेयर) र पारदर्शी (ट्रान्सपरेन्ट) बनाउन पनि अहिले देखिएका कमजोरी वा उठेका प्रश्नहरुलाई नियामकले सम्बोधन गरेर यो विधिलाई अबिलम्ब अघि बढाएर नेपाली पुँजी बजारमा रियल सेक्टरका राम्रा कम्पनीहरु आउने वातावरण निर्माण गरिदिनु पर्छ।
(बिजमाण्डू प्रालिले आयोजना गरेको 'बुक बिल्डिङ: वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने औजार' विषयक छलफल कार्यक्रममा वैद्यले दिएको प्रस्तुतिमा आधारित)


