
काठमाडौं। साताको चर्चित सेयर नबिल बैंक रह्यो। उच्चतम मूल्य विन्दुबाट नबिलको प्रति कित्ता सेयर मूल्य ४४ प्रतिशत अधिक घटिसकेको छ।
एक हजार रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेको नबिल बैंकमा ब्रोकर, ट्रेडर र लगानीकर्तासँगै अधिकांश बजारको आँखा गाडिएको पाइन्छ। यही एक साताको अन्तरालमा सर्वाधिक खरिद बिक्री भएको सेयर नबिल बैंक नै रह्यो।
बजारको सामान्य बुझाइलाई समर्थन गर्दै विश्लेषण गर्ने हो भने एक हजारको मूल्यभन्दा कममा कारोबार भए लगत्तै नबिल बैंकको सेयर खरिद गरिहाल्नु पर्छ भन्ने आम मानसिकता पनि लगानीकर्तामा भेटिन्छ। ५२ साताकै न्यूनतम मूल्य विन्दु नजिक किनबेच हुँदा लगानीकर्तामा सेयरको बेग्लै आकर्षण पनि छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत सर्वाधिक प्रभावशाली सेयर किन्ने चाहना पनि लगानीकर्ताको हो। प्रभावशाली नबिल बैंक पोर्टफोलियोमा समावेश गर्ने लक्ष्य लिएका लगानीकर्ताहरूका लागि यो अवसर पनि हुन सक्छ। प्रभावको कुरा गर्दा कुल बजार पुँजीकरणको ५ प्रतिशत अधिक हिस्सा नबिलले ओगटेको छ। यो अन्तिम कारोबार मूल्य ९६९ रुपैयाँका आधारमा हो।
एकल नबिलको सेयर एक रुपैयाँले हलचल हुँदा धितोपत्र मापक नेप्से परिसूचकमा नै ०.०५ अंकको परिवर्तन देखिन्छ। त्यस्तै, १० रुपैयाँले परिसूचकमा ०.५ अंकको घटबढ हुन्छ।
वाणिज्य बैंकमध्ये सबैभन्दा मूल्यवान् सेयर पनि नबिल नै हो। बजारमा मूल्य वान कम्पनीहरू पोर्फोलियोमा समेट्न चाहने र समेटिरहेकाको बाक्लै भिड पनि सेयर बजारमा भेटिन्छ।
सुदृढ व्यवस्थापन र सबल व्यवसाय बिस्तारसँगै प्रतिफलको सुनिश्चितताले पनि लगानीकर्तालाई यस बैंकको सेयरप्रति आकर्षित गर्दै आएको छ। वाणिज्य बैंकमध्ये कै ‘लिडर’ को उपमा पनि बैंकले पाएको छ।
आकर्षक वार्षिक प्रतिफल वितरणको सूचीअन्तर्गत समावेश नबिललाई ‘ब्लु चिप’ स्टक पनि भनिन्छ। लगानीको घटीमा पनि ३० प्रतिशत प्रतिफल बैंकले दोस्रो बजारमा सूचीकृत भएदेखि नै वितरण गर्दै आएको इतिहास छ। गत आर्थिक वर्ष मात्रमा बैंकले सेयरधनीलाई पुँजीको ३८ प्रतिशत लाभांश बाँडेको छ।
जोखिम व्यवस्थापनको ढंगले हेर्दा पनि नबिल बैंकप्रति लगानीकर्ता आकर्षण हुनुमा कुनै संकोच मान्नुपर्ने देखिँदैन। सेयर बजारको सबैभन्दा प्रभावशाली भए तापनि परिसूचकको अप्रत्याशित उतारचढावलाई नबिल बैंकको मूल्य गतिविधिले समर्थन गर्ने गरेको छैन । ‘हाइ क्याप स्टक’(ठूलो बजार पुँजीकरण भएको) नबिलको ‘भोलाटिलिटी’ पनि निकै न्यून हुने गरेको छ। मासिक बेटा भ्यालु पनि १ भन्दा कम भएको बैंकको सेयर पनि हो।
व्यवस्थापकीय नेतृत्वसँगै व्यवसाय विस्तारका नयाँ रणनीतिमा अब्बल मानिने वित्तीय संस्था नबिल बैंक लगानीको उत्तम विकल्प लगानीकर्ताले देख्ने गरेका छन्। बलिया आधारभूत पक्ष, लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितताले जो कोही लगानीकर्तालाई यस स्टकले आफूप्रति आकर्षित गर्दै आएको छ।
नेपालका बिजनेस टाइकुन र एकल डलर अर्बपति विनोद चौधरी आफैंले नजिकबाट हेर्ने गरेको विषय पनि लगानीकर्ताबीच सधैं चर्चामा रहेको पाइन्छ। सञ्चालक समितिमा छोरा निर्वाण भए पनि चौधरीले नबिललाई नजिकबाट हेर्ने गरेका छन्। बैंकको महत्त्वपूर्ण निर्णयहरू उनले अध्यक्ष उपेन्द्र पौडेलसँग छलफल गरेर लिने गर्ने गरेका छन्।
मर्जरको रणनीति
नबिल बैंकले नेपाल बंगलादेशलाई गाभ्ने भएको छ। नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता अघि सारेको हो। प्रति सेयर ४३ रुपैयाँका दरले नबिलले गाभ्ने भएको हो।
मर्जरका लागि नबिलका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्।
दुवै संस्थाबीच मर्जरको पहल डेढ वर्ष अघिबाटै भएको हो। तर, नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर स्वामित्व कसरी टुङ्ग्याउने भन्ने बारेमा समय लाग्दा मर्जरले गति लिन सकेको थिएन।
आइएफआइसीको स्वामित्वमा रहेको सेयर नबिल बैंकको मुख्य लगानीकर्ता विनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गर्ने टुंगो लागेपछि मर्जरको औपचारिक सहमति बनेको हो।
सारिकाको नाममा भने मर्जरपछि मात्र सेयर नामसारी हुने छ। सारिकाले १५२ रुपैयाँका दरले आइएफआइसीको स्वामित्वमा रहेको सम्पूर्ण सेयर खरिद गर्नेछिन्। अहिले खरिद गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले छेक्छ।
कुनै पनि नेपालीले १५ प्रतिशतभन्दा बढी सेयर किन्न पाउँदैनन्। मर्जरपछि एनबी बैंकको सेयर साढे ८ प्रतिशतमा झर्छ। त्यसैले मर्जरपछि नामसारी हुने गरी सहमति गरिएको छ।
यसअघि संयुक्त मर्जर समितिले तय गरेको ४३ रुपैयाँको अनुपात मूल्यलाई अनुमोदन गर्दै मर्जरको सम्झौता गर्ने निर्णय भएको छ।
मर्जरपछिको बैंकको दृश्य
गत आर्थिक वर्षका लागि ३३.६ प्रतिशत बोनस सेयर अनुमोदन गरेपछि नबिल बैंकको अहिले चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँले बढेर १८ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ। यस्तै, गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस सेयरको लाभांश प्रस्ताव स्वीकृत गरेको नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँले बढेर १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
नेपाल बंगलादेश बैंकलाई नबिलले ४३ रुपैयाँमा किन्न लागेको हो। यस हिसाबले नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा ४ अर्ब ३३ करोड रुपैयाँ थपिने छ। यसो हुँदा चुक्ता पुँजी २२ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ।
पुँजीबाहेक नबिलको जगेडा तथा कोषहरूमा १५ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ। यसबाहेक नेपाल बंगलादेश बैंकको जगेडा तथा कोषहरूमा ५ अर्ब ७७ करोड रुपैयाँ छ। यो पनि जाने छ।
यस हिसाबले मर्जरपछिको नबिल बैकको जगेडा कोष २१ अर्ब ६२ करोड रुपैयाँको हुने छ। चुक्ता पुँजी २२ अर्ब ८२ करोड रुपैयाँ जोड्दा नयाँ बैंकको पुँजी कोष ४४ अर्ब ४४ करोड रुपैयाँको हुने छ। यही सिनर्जी देखेर चौधरी समूहले नेपाल बंगलादेश बैंक खरिद गर्ने निर्णय गरेको हो।
मर्जरपछि नबिल बैंकको व्यवसायको आकार विशाल देखिन्छ। नबिलले संकलन गरेको २ खर्ब ३२ अर्ब निक्षेपमा नेपाल बंगलादेशको ८० अर्ब ५७ करोड रुपैयाँ मिलान हुँदा निक्षेपको आकार ३ खर्ब १२ अर्ब अधिक पुग्नेछ। यस्तै, नबिलको २ खर्ब १५ अर्ब रुपैंया कर्जा लगानीमा नेपाल बंगलादेशको ७४ अर्ब ९० करोड लगानी भित्रिँदा सो बैंकमार्फत कुल २ खर्ब ८९ अर्ब रुपैयाँ अधिकको कर्जा प्रवाह हुने तथ्यांकले देखाएको छ। मर्जर पश्चात् बैकको ग्राहक सङ्ख्या पनि १६ लाख अधिक हुनेछ।
दोस्रो त्रैमासमा नाफामा वृद्धि
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नबिल बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो। खुद ब्याज आम्दानी बढे पनि जोखिम व्यवस्थापन बापतको रकम बढेका कारण बैंकको नाफामा दबाब पुगेको हो।
१८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा तथा कोषहरूमा १५ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले ग्राहकहरूसँग २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको तुलनामा निक्षेप ४ प्रतिशत र कर्जा प्रवाह साढे ८ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब १२ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
यस्तै अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा ८१ करोड ३४ लाख रुपैयाँ रहेको बैंकको खुद फि तथा कमिसन आम्दानी ०.५१ प्रतिशत बढेर ८१ करोड ७५ लाख रुपैयाँ छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ करोड ९१ लाख रुपैयाँ रिभर्स भएको बैंकको जोखिम व्यवस्थापन बापतको रकम(इम्पेरमेन्ट चार्ज) चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४० करोड १७ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा सञ्चालन मुनाफामा दबाब पुगेको छ ।
यो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ११ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा मुनाफा ८.६० प्रतिशत बढेको पाइन्छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।
सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ। यही रकमलाई वार्षिकी करण गर्ने हो भने यस आर्थिक वर्षका लागि नबिल बैंकले जम्मा साढे १५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ।
नाफा सामान्य बढे पनि बैंकको प्रतिसेयर आम्दानी अर्थात् ईपीएस भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९.९९ रुपैयाँबाट घटेर २३.५९ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ रहेको छ। र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य प्रति कित्ता ९६९ रुपैयाँका आधारमा आम्दानी अनुपात ४१.१ गुणा रहेको छ भने रहेको छ।
यस्तो छ प्राविधिक पक्ष
पछिल्लो डेढ वर्ष एक हजार रुपैयाँको मूल्य विन्दुभन्दा माथि रहेको नबिल बैंकको सेयर मूल्य अन्ततः हजार रुपैयाँको टेवा तोडी तल ओर्लिएको छ। यसमा मुख्य कारण मूल्य समायोजन हो। ३३.६ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले नबिल बैंकको मूल्य समायोजन गरेको हो।
१४४० रुपैयाँको सेयर समायोजनपछि एकै पटक ११ सय रुपैयाँको विन्दुमा ओर्लियो। त्यसपछि १२०० रुपैयाँसम्मको यात्रा भने मूल्यले तय गरेको थियो। तर समायोजित अवसरको लाभ उठाउनेहरूले छोटो समयमै सय रुपैयाँ हात पार्दा १२०० को अवरोध सृजना गरी मूल्य ओरालो लागेको हो।
त्यसपछि भने मूल्यले परिसूचकको घट्दो लयलाई समातेको अनुमान लगाउन सकिन्छ। निरन्तर घटी रहेको नेप्से परिसूचक समान तीव्र गतिमा नबिलको सेयर मूल्य पनि ओर्लिएको छ। ओरालो लाग्दै गर्दा मूल्यले एक हजार रुपैयाँको मूल्य विन्दुमै टेवा लिएको थियो। सो विन्दुमा लगानीकर्ताको माग बैंकप्रति बढेको देखिन्छ। केही दिनको परीक्षणपश्चात् नै मूल्यले ११ सय रुपैयाँको यात्रा तय गर्यो।
तर लगानीभन्दा ट्रेडर मनोविज्ञान नबिलको सेयरमा हाबी हुँदा ११ सय रुपैयाँमा लक्ष्य सीमित रह्यो। बजारमा नाफा बुक गर्ने बढी देखिए। कारणस्वरूप मूल्य पुनः तीव्र गतिमा ओरालो लागेको छ। ११०० को नवीन अवरोध निर्माण गरी फर्किएको सेयर मूल्यले पुनः एक हजार रुपैयाँको टेवा विन्दुलाई परीक्षण गरेको थियो। तर मूल्य समानुपातिक लगानीकर्ताको माग नहुँदा सेयरको मूल्यमा गिरावट निरन्तर देखिन्छ।
केही समय अघिका मूल्य गतिविधि हेर्दा एक हजार देखि ९ सय रुपैयाँको मूल्य क्षेत्रमा सेयर ‘एक्युमुलेट’(सञ्चित) हुने गरेको पाइन्छ। उक्त ‘डिमान्ड जोन’ भित्र उतार चढाव जारी राखी पर्याप्त लगानीकर्ताको माग एकीकृत गरेपछि मूल्यले निकै ठूलो लक्ष्य लिएर बढेको थियो। यसपटक पनि मूल्य गतिविधिले सोही प्रवृत्ति दोहोर्याउने अनुमान गर्न सकिन्छ।
‘डिमान्ड जोन’को तल्लो रेन्ज ९ सय रुपैयाँसम्ममा बजारमा लगानीकर्ताले बिक्री छोडी खरिदको रणनीति निर्माण गर्ने अब्बल सम्भावना छ। मूल्यले पर्याप्त शक्ति र माग एकीकृत गर्न सकेको अवस्थामा ‘डिमान्ड जोन’को मूल्य क्षेत्रमा नै टेवा लिई उच्चतम विन्दुको लक्ष्यतर्फ लम्कने देखिन्छ।
यद्यपि मूल्यसँगै अधिकांश बजारको लय हेर्न आवश्यक छ। परिसूचकको निरन्तर ओरालोलाई एउटा कम्पनीको मागले मात्र सम्हाल्न सक्दैन। कायम तरलता अभाव र बिग्रिदा अर्थतन्त्रका समष्टिगत सूचकांकमा पनि सुधार आवश्यक छ। तर चुनावी माहौलले प्रणालीमा पैसा भित्राउने विश्लेषण जानकारहरु गर्छन्। आयातमा कडाइ गर्दा रकम पुँजी बजारतर्फ केन्द्रित हुने सम्भावना पनि छ।
क्यान्डल स्टिक विश्लेषण
साताको अन्तिम दिन कारोबार दिन नबिल बैंकको सेयरमा भएको मूल्य गतिविधिले खरिदकर्ताको पुनरागमन संकेत गर्ने ‘इन्भर्टेड बुलिस ह्यामर’ निर्माण गरेको छ। यस प्रकारको क्यान्डल स्टिकलाई ‘इन्भर्टेड बुलिस पिन बार’ पनि भनिने गरिन्छ।
ट्रेन्डको तल्लो विन्दुमा निर्माण भएको सो क्यान्डल स्टिकले जुन ट्रेन्डमा बजार हाल हिँडिरहेको त्यसको ठिक विपरीत ट्रेन्ड समात्ने संकेत गर्छ।
क्यान्डल स्टिक डिमान्ड जोनमा प्रवेश गरिसेको हुँदा क्रमशः लगानीकर्ताको आकर्षणमा सेयर पर्ने अनुमान पनि लगाउन सकिन्छ।
मूल्य बढ्दा कारोबार रकममा पनि वृद्धि देखिएको छ। जुन सकारात्मक लक्षण हो। बढ्दो मूल्यलाई कारोबार रकमले साथ दिँदा, भारी मात्रामा सेयरको माग सृजना भएको बुझ्न सकिन्छ। बढ्दो मूल्यमा पनि खरिदकर्ता किन्न उत्साहित देखिन्छन्।

१४ दिने आरएसआई ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’
यस साताको बिहीबार बैंकको कारोबार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स २४.२३ को स्केलबाट २.३४ प्रतिशत विन्दु बढेर २६.५७ प्रतिशतको स्केलमा पुगेको छ।
ओभर सोल्ड जोनबाट उठ्न प्रयासरत आरएसआई इन्डेक्सले बिक्रेताको प्रभाव बजारमा निरन्तर घट्दै गएको संकेत गर्छ। मूल्यले सकारात्मक प्रदर्शनी दिन भने पर्याप्त शक्ति सञ्चित गरेको छैन। बैंकको सेयरमा बिक्रेताभन्दा अब भने खरिदकर्ता हाबी हुने अनुमान १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्सको स्थितिले जनाएको छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्सले(आरएसआई)ले बजारको प्रस्तुति कतिको शक्तिशाली छ भनेर मापन गर्दछ। यो सूचक ३० प्रतिशतभन्दा तल रहेको अवस्थालाई 'ओभर सोल्ड' अथवा अत्यधिक बिक्री गरिएको भनी बुझिन्छ।
(2)(1).jpg)
लगानीकर्ताको आँखामा नबिल सधैं किन ब्लु चिप स्टक ?
कुनै पनि कम्पनीमा लगानी गरे पश्चात् लगानीकर्ताले दुई प्रकारका लाभको अपेक्षा गरेका हुन्छन्। अल्पकालीन लगानीकर्ताले पुँजीगत लाभमा र दीर्घकालीन लगानीकर्ताले कम्पनीले दिने प्रतिफलमा विश्वास गर्ने गर्दछन्।
लामो समयदेखि निरन्तर आकर्षक लाभांश वितरण गर्दै आएको नबिल बैंक धेरै सेयर लगानीकर्ताको प्रमुख रोजाइमा पर्ने बैंक बन्न सफल भएको छ। आर्थिक वर्ष ७७/७८ मा नबिल बैंकले वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश दिएको थियो।
आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष ७७/७८ सम्म नबिल बैंकले प्रदान गरेको लाभांश इतिहासलाई विश्लेषण गर्दा बैंकले निरन्तर आकर्षक लाभांश सेयरधनीलाई वितरण गर्दै आएको स्पष्ट छ। ११ वर्षको अवधिमा नबिलले २४६.१ प्रतिशत बोनस सेयर र २४५ प्रतिशत नगद लाभांश गरी जम्मा ४९१.१ प्रतिशत लाभांश दिएको छ।
औसतमा बैंकले प्रत्येक वर्ष ४४.६५ प्रतिशत प्रतिफल सेयरधनीहरुलाई वितरण गरेको छ।


