
काठमाडौं। ट्वीटरको सबैभन्दा ठूला सेयरधनी एलन मस्क व्यवस्थापकहरुको बोर्डमा भने नबस्ने भएका छन्। ट्वीटरका सीइओ पराग अग्रवालले आइतबार ट्वीट गर्दै मस्कले अप्रिल ९ मा बोर्ड प्रवेश गर्ने बारे गरेको निर्णय बदल्दै पुन: नबस्ने घोषणा गरेको लेखेका छन्।
‘मलाई विश्वास छ यो राम्रैका लागि हो,’ अग्रवालले मस्क बोर्डमा नबस्ने बारे गरेको निर्णय बारे प्रतिक्रिया दिँदै भने।
अग्रवालले ट्वीटमार्फत् नै सेयरधनीहरु बोर्डमा भए पनि नभए पनि महत्वपूर्ण सुझाव, सल्लाह सधैं लिने जनाएका छन्।
मस्कले गत साता ट्वीटरको ९.२ प्रतिशत सेयर हिस्सा खरिद गरेका थिए। टेस्लाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मस्कले ट्वीटरको सात करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका थिए।
ट्वीटरका संस्थापक ज्याक डोर्सेसँग २.२५ प्रतिशत सेयर छ। मस्कसँग उनीभन्दा चार गुणा बढी सेयर पुगेको छ।