
काठमाडौं। ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुलाई ट्वीट ‘एडिट’ गर्न दिने 'अप्सन' को सुविधा दिन गृहकार्य गरिरहेको छ।
ट्वीटरले पहिलोपटक ट्वीट एडिट गर्न दिने गरी आफ्नो वेब इन्टरफेसमा काम गरिरहेको देखिएको छ। भविष्यमा ट्वीटरले एन्ड्रोइड र आइओएस एपमा एडिटको सुविधा दिने बताइएको छ।
केही वर्षदेखि नै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीट पोस्ट भएपछि परिमार्जन गर्न मिल्ने सुविधा ल्याउन माग गर्दै आएका छन्। ट्वीटरले केही समयअघि नै आफूहरु एडिट बटनमा काम गरिरहेको जनाएको थियो। आगामी केही महिना भित्रै ट्वीटरले आफ्ना ट्वीटर ब्लू प्रयोगकर्ताहरुलाई एडिट बटन सुरु गर्ने जनाएको छ।
ट्वीटरमा एडिट बटन बारे काम गरिरहेको जनाउसहित डेभलपर एलेस्यान्द्रो पालुज्जीले स्क्रिनसट सार्वजनिक गरेका थिए। एडिट बटन ट्वीटरमा तीनवटा डट रहेको मेनुमा राखिएको छ। ट्वीट गरिसकेपछि प्रयोगकर्ताहरुले एडिट गर्न मिल्ने गरी त्यहाँ बटन राखिएको बताइएको छ।