काठमाडौं। तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेपछि प्राइम कमर्सियल बैंकको मूल्यमा बिक्रेताको तीव्र चाप देखिएको छ। घटेको बैंकको नाफा लगानीकर्तालाई मन्जुर भएन।
गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफामा सामान्य गिरावट आएको छ। तर सेयर मूल्य भने दुई दिनमै दुई रुपैयाँ घटिसक्यो। एक वर्ष यता कै न्यून मूल्य नजिक कारोबार भइरहेको अवस्थामा समेत क्रेताको आकर्षण बटुल्न बैंकको सेयर असफल देखिन्छ।
यद्दपि लगानीमा उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्ने हो भने वाणिज्य बैंकहरुमा गरिएको लगानी उत्कृष्ट र कम जोखिमपूर्ण हुने बताइन्छ। अपवाद बनेका केही अप्ठ्यारा समय बाहेक वाणिज्य बैंकहरुको व्यवसायको आकार सधैं बढ्दो क्रममा रहेको पाइन्छ।
आक्रामक तवरले बिस्तार गरेको व्यवसाय र वितरण गरेको प्रतिफलले पनि सो कुरा पुष्टि गर्छ। व्यवसायिक आयाममा छोटो समयमा मै निकै ठूलो फड्को मारेको प्राइम कमर्सियल बैंक पनि हो।
कुनै समय व्यवसायिक दृष्टिकोणले वाणिज्य बैंकहरुमध्येको कमजोर प्राइम कमर्सियल बैंक हुने गरेको थियो। तर, साबिकको कैलाश विकास बैंकलाई एक्वायर गरे लगत्तै बैंकको व्यापारिक आकार नै बदलिएको छ। अहिलेका टप कमर्सियल बैंकहरुलाई कडा चुनौती दिने भएको छ प्राइम। यसले कैलाश विकास बैंकलाई त्यतिबेला एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको थियो। जस पश्चात् बैंकको व्यवसाय, व्यवस्थापन र ग्रोथको नतिजा नै बेग्लै छ।
गत आर्थिक वर्ष मात्रैका लागि पनि बैंकले कायम चुक्ता पुँजीको १६ प्रतिशत प्रतिफल वितरण गरेको छ। यद्यपि खुम्चिँदो क्रममा रहेका अर्थतन्त्रका सूचक र गहिरिँदो तरलता संकटले प्राइमसँगै अधिकांश वित्तीय क्षेत्रको व्यवसायमा चोट पुर्यायो। कारणस्वरूप बैंकहरुको नाफामा पनि प्रभाव परेको विश्लेषकहरु तर्क गर्दै आएका छन्।

जोखिम व्यवस्थापनको रकम बढ्दा खुद नाफामा दबाब
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशत घटेको हो। पोहोर चैतमा बैंकले २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैकले खराब कर्जा बापत छुट्याउनुपर्ने जोखिम व्यवस्थापनको रकम भने उल्लेख रूपमा बढेको छ। चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले उक्त शीर्षकमा १० करोड रुपैयाँ राखेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५० प्रतिशत अधिक बढेको छ। गत चैतमा यस शीर्षकमा बैंकले ६ करोड ६६ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको फी कमिसन र सञ्चालन मुनाफा घटेको छ। खुद ब्याज आम्दानीमा पनि मात्र सामान्य वृद्धि देखिन्छ। चैत अन्तिमसम्म बैंकले ४ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा मात्र ५.१९ प्रतिशतको वृद्धि हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ४० करोड रुपैयाँ कमाएको थियो।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म ८ करोड ४८ लाख रुपैयाँ खुद फी तथा कमिसन कमाएको छ। यो पोहोर चैतको तुलनामा १८.०९ प्रतिशत घटेको हो। यस्तै, कर्मचारीका साथै सञ्चालन खर्च बढ्दा बैंकको संचालन मुनाफामा पनि कमी आएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ८९ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३.३२ प्रतिशतको कमी हो। गत आर्थिक वर्षको चैतमा यस्तो नाफा ४ अर्ब ३ करोड रुपैयाँभन्दा अधिक थियो।
बैंकसँग ग्राहकबाट उठाएको निक्षेप १ खर्ब ५६ अर्ब २ करोड रुपैयाँ छ। जसमध्ये १ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ बैंकले कर्जा बिस्तार गरेको छ। चैत अन्त्यसम्म बैंकको सीडी रेसियो भने ९९.६२ प्रतिशत छ।
बैकले यस अवधिमा एक अर्ब ४१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा गरेको छ। यस रकमलाई वार्षिकीकरण गर्दा बैंकले चालु आर्थिक वर्षका लागि बैंकले १०.१२ प्रतिशत लाभांश दिने क्षमता राख्छ।
चालु आर्थिक वर्षको चैत मसान्तमा आइपुग्दा बैंकको प्रति सेयर आम्दानी भने ३.९१ रुपैयाँ घटेर १९.४५ रुपैयाँ पुगेको छ। चुक्ता पुँजीको बढ्दो आकारको तुलनामा खुद नाफा बढ्न नसक्दा प्रति सेयर आम्दानी घटेको हो। हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ६५ करोड रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ थियो।
चैत अन्त्यसम्म बैंकको संचित मुनाफा एक अर्ब ४५ करोड रुपैयाँ छ भने जगेडा कोषमा ६ अर्ब ४९ करोड रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १४२.६२ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य २९१ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात १४.९६ गुणा छ।

यस्तो छ प्राविधिक पक्ष
दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरे पश्चात बैकको सेयर मूल्यमा निरन्तर गिरावट आएको देखिन्छ। बैंकले सो पश्चात गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १६ प्रतिशत बोनस लाभांशको सूचना पनि सार्वजनिक गरेको थियो। उक्त सूचनाले पनि सेयर मूल्य बढेन। त्यस पश्चात भने सेयर मूल्यमा मूल्य समायोजनको प्रभाव पर्यो।
नेप्सेले प्राइम बैंकको १६ प्रतिशत बोनस सेयरको आधारमा मूल्य समायोजन गरेको थियो। अघिल्लो दिन ४४३ रुपैयाँमा अन्तिम कारोबार भएको सेयर मूल्य समायोजनपछि ३८१.९० रुपैयाँमा ओर्लिन पुग्यो।
सो पश्चात बैंकको सेयर मूल्य तीव्र गतिमा घटेको समायोजित प्राविधिक चार्टले देखाएको छ। बुक क्लोज र मूल्य समायोजनपछि बिक्रेता प्राइमको सेयरमा हाबी हुँदा चार दिनको कारोबारमै सेयर मूल्य ३१० रुपैयाँमा झर्योन। सो पश्चात भने लगानीकर्ताको माग बैंकको सेयर प्रति क्रमशः बढ्दै गएको देखिन्छ। घटेको सेयर मूल्यलाई खरिदको अवसर स्वरूप लिने बजारमा बढे।
माग बढ्दै जाँदा ३९२ रुपैयाँको टप लगाएर पुनः सेयर मूल्य घटेको थियो। प्राइमको सेयर मूल्य ३८० रुपैयाँको अवरोध पार गरे लगत्तै घट्यो। ३१० रुपैयाँको घटेको मूल्यमा सेयर उठाउनेहरुले ३९२ रुपैयाँ पुग्दा सेयर डम्प गरे। अत्यधिक आपूर्ति र सेलिङ प्रेसरले सेयर पुनः घटेर ३१० रुपैयाँमै पुगेर टेवा लिएको थियो। तर आवश्यक खरिदकर्ताको आकर्षण मूल्यले बटुल्न सकेन। ३१० रुपैयाँमा टेवा लिएको सेयर मूल्य ३३९ रुपैयाँभन्दा बढ्न सकेन।
घट्दो क्रममा यो पटक भने मूल्य ३१० रुपैयाँको टेवा विन्दु भन्दा तल ओर्लिएको छ। हाल २९१ रुपैयाँमा अन्तिम किनबेच भएको प्राइम कमर्सियल बैंकको सेयरले ३१० रुपैयाँदेखि २८० रुपैयाँको डिमाण्ड जोनमा भने कस्तो प्रतिक्रिया देखाउछ त्यो भने हेर्न बाँकी नै छ।


