सामसङले एकैसाथ ल्यायो ग्यालेक्सी ए सिरिजका ३ वटा स्मार्टफोन, सेटहरु ४७ हजारदेखि माथि



२०७९ बैशाख ११ गते १४:२७ | Apr 24, 2022


सामसङले एकैसाथ ल्यायो ग्यालेक्सी ए सिरिजका ३ वटा स्मार्टफोन, सेटहरु ४७ हजारदेखि माथि



काठमाडौं। सामसङ इलेक्ट्रोनिक्सले 'ग्यालेक्सी ए' सिरिजका तीन फाइभजी स्मार्टफोन सेटहरु एकैसाथ बजारमा ल्याएको छ। ए ७३, ए ५३ र ए ३३ मोडल स्मार्टफोन सार्वजनिक गरेको हो।

Tata
Global Ime

सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजन पार्क, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र कन्टेन्ट क्रिएटर आकृति राजभण्डारीले संयुक्त रुपमा मोबाइल सार्वजनिक गरेका हुन्।

स्थापितले ग्यालेक्सी ए सिरिज बिल्कुलै नयाँ प्रोसेसरबाट उत्पादन गरिएको जानकारी दिए। ग्यालेक्सीको पहिचान ओआइएसयुक्त एआइ क्यामरा, व्यापकता र चिल्लो डिस्प्ले, आइपी ६७ रेटिङ र धेरै समय चल्ने र टिक्ने ब्याट्री भएको उनले जानकारी दिए। 

‘नयाँ ग्यालेक्सी ए सिरिजमा फाइभजी कनेक्टिभिटी, रक्षात्मक ग्रेड सुरक्षा, वातावरण प्रति सचेत, स्टाइलिस र छरितो डिजाइन साथ निर्माण गरिएको छ। सबै उपकरणहरुले मोबाइल अनुभव सधैं नै अद्भूत भएको सुनिश्चित गर्न वान युआइ र चौथो पुस्ताको स्तरोन्नति गरिएको एण्ड्रोइड ओएस र सुरक्षालाई ध्यान दिएको छ,’ स्थापितले भने। 

सामसङले ग्यालेक्सी ए ७३ फाइभजीको मूल्य ७३ हजार रुपैयाँ तोकेको छ। यो स्मार्टफोन खैरो, पुदिना र सेतो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

ग्यालेक्सी ए ५३ फाइभजीको मूल्य सामसङले ५६ हजार रुपैयाँ तय गरेको छ। यो फोन कालो, निलो लगायतमा पाइने बताइएको छ। 
त्यसैगरी, ग्यालेक्सी ए ३३ फाइभजी स्मार्टफोनको मूल्य कम्पनीले ४७ हजार रुपैयाँ तोकेको छ। यो कालो, निलो लगायतका रङमै उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

सामसङले मासिक किस्ता (इएमआई) को सुविधा उपयोग गरेर स्मार्टफोन खरिद गर्न सक्ने जनाएको छ। कम्पनीले तोकेका आफ्ना स्टोरहरुबाट एक्सचेन्ज सुविधा उपयोग गर्दै ग्यालेक्सी सिरिजका नयाँ स्मार्टफोनहरु खरिद गर्न सक्ने छन्।