व्यवस्थापकीय भूमिकामा महिलाहरु विश्वभर रोलमोडल बने, महामारीमा देखाए ‘उत्कृष्ट नेतृत्व’



२०७९ बैशाख १२ गते १४:२० | Apr 25, 2022


व्यवस्थापकीय भूमिकामा महिलाहरु विश्वभर रोलमोडल बने, महामारीमा देखाए ‘उत्कृष्ट नेतृत्व’


काठमाडौं। नेपाल बैंककी निमित्त प्रमुख कार्यकारी समता पन्त भट्ट कोभिड महामारीको समयमा एक दिन पनि बिदामा बसिनन्। कर्मचारीहरुका लागि आलोपालो र वर्क फ्रम होम गराइएको थियो।

Tata
Global Ime

तर उनीलगायत उच्च जिम्मेवारीका कर्मचारीहरु सबै दैनिक नै कार्यालय गए। कोभिडको पहिलो लहर आउँदा समताकै नेतृत्वमा 'क्विक रेस्पोन्स टिम' पनि बनेको थियो, जसले कोभिड संक्रमित कर्मचारीहरुलाई उद्धार गर्ने, उपचारका लागि अस्पताल लैजाने र आवश्यक राहत छिटो उपलब्ध गराउने काम गर्थ्यो।

समतालाई आफ्नो खटाइका कारणले आफूमात्र नभई घर परिवारमा कोभिड संक्रमण होला कि भन्ने असुरक्षाको भाव नआउने होइन तर पनि आफ्नो कामलाई लिएर कतैबाट गुनासो नआओस् भन्ने नै उनलाई लाग्थ्यो त्यसैले दैनिक कार्यालय जाने र खट्ने गरेको उनी सम्झन्छिन्।

कोभिड महामारीका समयमा उच्च व्यवस्थापन तहले गरेको 'इमिडियट रेस्पोन्स'कै कारण युनियन समेत रहेको नेपाल बैंकमा कर्मचारीहरुले कहिल्यै पनि व्यवस्थापनको आलोचना वा गुनासो गरेनन्। समताका अनुसार उच्च तहको खटाइका कारण नै यो सम्भव भएको थियो। जति बेला पनि उपलब्ध हुनु र एक अर्काको दुःखलाई आफ्नै सम्झेर समाधानको उपाय खोज्नु नै त्यसबेलाको आफ्नो उद्देश्य रहेको समताले बताइन्।

खासमा कोभिड महामारीको समयमा नेपालमा मात्र नभई विश्वभर नै समता जस्तै उच्च व्यवस्थापकीय तहमा रहेका महिलाहरुले प्रेरणादायी भूमिका खेले। जोखिममा रहेको अवस्थामा पनि उनीहरुले आफ्नो पद र भूमिकालाई न्याय गर्दै जसरी थप जिम्मेवार र संवेदनशील देखिए, जसबाट उच्च तहमा पुग्ने महिलाहरुप्रति कर्पोरेट क्षेत्रमा थप विश्वासयोग्य वातावरण बनेको छ।  

'महिलामा खट्न सक्ने क्षमता निकै बढी हुन्छ। त्यो खटाइ उनीहरुले विशेष परिस्थितिहरुमा प्रमाणित गरिरहेकै हुन्छन्। दोस्रो उनीहरुको इन्टिग्रिटी। महिलाहरुको स्वभावले नै उनीहरुलाई सफल बनाइराख्न सघाउँछ। उनीहरु कोमल हुन्छन् अरुको दुःखलाई बुझ्ने स्वभाव पनि हुन्छ। हरेक महिला इमानदार र मेहनती हुन्छन् चाहे त्यो उच्च पदमा होस् वा सामान्य तहमा।'

सन् २०१९ को जनवरीदेखि सन् २०२० को डिसेम्बरसम्म अन्तर्राष्ट्रिय संस्था एस एण्ड पी ग्लोबलले युनिभर्सिटी अफ पेरिससँगको सहकार्यमा एक अनुसन्धान गर्यो। उक्त अनुसन्धानले के भन्छ भने – कोभिड महामारीको समयमा उच्च व्यवस्थापकीय तहका महिलाहरुले समयअनुसारको दूरदर्शिता, परिस्थिती अनुकूल हुने क्षमता, संवेदना, दायित्व र विविधतालाई आफ्नो पुरुष सहकर्मीभन्दा उत्कृष्ट ढंगले प्रस्तुत गरे। विश्वमा कोभिड महामारी उत्कर्षमा पुगेका बेला विश्वका ६१ देशका ८ हजार ५ सय कम्पनीहरुमा उक्त अनुसन्धान गरिएको थियो। 

लामो अनुसन्धानपछि सार्वजनिक गरिएको उक्त प्रतिवदेनले उच्च तहका महिलाहरु कोभिड महामारीको समयमा रोल मोडलका रुपमा प्रेरणादायी भूमिकामा देखिएको खुलाएको छ। सीइओ लेभलका महिलाहरु पुरुष समकक्षीको तुलनामा सकारात्मक संवेदना र विश्वासले भरिएको हुने उक्त अनुसन्धानले देखाएको हो। कोभिड महामारीको समयमा महिलाहरुको नेतृत्वदायी भूमिका र उनीहरुले कम्युनिकेट गर्दा अपनाउने लचकता र समयअनुसारको स्वीकार्य क्षमताका कारण कर्मचारीहरु तथा अन्य सरोकारवालासँग सकारात्मक सम्पर्क स्थापनामा सहयोग पुगेको अनुसन्धान प्रतिवदेनमा उल्लेख छ।

प्रतिवेदनकी प्रमुख लेखक तथा एस एण्ड पी ग्लोबल रेटिङ्सकी वरिष्ठ निर्देशक र विश्लेषण व्यवस्थापक दानियल ब्राण्डाजा भन्छिन्-'विश्वभर तुलनात्मक रूपमा उच्च तहमा महिलाहरुको संख्या कम छ। तर कोभिड महामारीको समयमा उनीहरु जसरी अघि बढे जुन दक्षता र क्षमता देखाए त्यो अत्यन्तै प्रेरणादायी देखिन्छ।'

कर्पोरेट क्षेत्रमा महिला नेतृत्वले देखाउने विविधता, दिगोपना र पुरुष सरह नै अघि बढ्न सक्ने क्षमतालाई कोभिड महामारीको समयले पुष्टि गरेको पेरिस युनिभर्सिटीका एसोसिएट प्रोफेसर गाब्रियल मोरिन बताउँछन्। 'महिलालाई उच्च व्यवस्थापकीय पदमा ठूलो संख्यामा पुर्याउने हो भने त आरक्षण नीति नै चाहिएला तर त्यो तहमा पुर्याउन सके रोल मोडलका रुपमा उनीहरु स्थापित हुन सक्छन् र समाजमा ठूलो प्रेरणादायी छाप छोड्न सकिन्छ भन्नेमा म विश्वस्त छु।'- उक्त अनुसन्धानमा संलग्न रहेका मोरिनले भने। 

उक्त प्रतिवेदन अनुसार विश्वमा सीइओ लेभलमा महिला र पुरुषको दर १९:१ अनुपातमा देखिएको छ। अर्थात १९ जना पुरुष सीइओ बन्दा बल्ल एक जना महिला त्यो स्थानमा पुग्न सकेकी हुन्छिन्।

नर्वे र सिंगापुरमा भने यो संख्या बढी केही देखिन्छ। नर्वेमा १४ प्रतिशत महिला सीइओ लेभलमा पुगेका छन् भने सिंगापुरका १२ प्रतिशत महिला उच्च तहमा पुगेका छन्। यसको विपरीत जापानमा जम्मा ०.८ प्रतिशत महिला कार्यकारी भूमिकामा छन्। ब्राजिम यो संख्या शून्य छ।  

अमेरिकाकै कुरा गर्ने हो भने सन् २०२१ मा त्यहाँको सम्पूर्ण कामदारको ४७ प्रतिशत महिला कामदार रहेकोमा जम्मा ४०.९ प्रतिशत महिला मात्र ब्यबस्थापक तहमा पुगेका छन्।

औद्योगिक क्षेत्रमा संख्या कम देखिए पनि रियल स्टेट र हेल्थ केयर सेक्टरमा उच्च तहमा महिलाको उपस्थिति बढ्दै गएको देखिन्छ। उच्च तहमा महिलाहरुको संख्यात्मक वृद्धि हुनुमा आरक्षण वा 'टिके प्रथा' नभई त्यस भूमिकालाई सबल नेतृत्व दिन सक्ने गरी महिलाहरुले देखाएको क्षमताकै कारण हो।

'देखावटी नहुने र सहयोगी भाव राख्ने महिलाहरु नै माथि जान सक्छन्। तर, भरोसायोग्य बन्ने गरी पर्फर्मेन्स देखाउनुपर्छ। पर्फरमेन्ससँगै कमिटमेन्ट र डेडिकेसन भएमा हरेक महिला रोल मोडल बन्न सक्छन्।'

नेपाल बैंककी निमित्त कार्यकारी समता भन्छिन्- 'महिलामा खट्न सक्ने क्षमता निकै बढी हुन्छ। त्यो खटाइ उनीहरुले विशेष परिस्थितिहरुमा प्रमाणित गरिरहेकै हुन्छन्। दोस्रो उनीहरुको इन्टिग्रिटी। महिलाहरुको स्वभावले नै उनीहरुलाई सफल बनाइराख्न सघाउँछ। उनीहरु कोमल हुन्छन् अरुको दुःखलाई बुझ्ने स्वभाव पनि हुन्छ। हरेक महिला इमानदार र मेहनती हुन्छन् चाहे त्यो उच्च पदमा होस् वा सामान्य तहमा।'

हाल विश्वभर नै उच्च व्यवस्थापन तहमा महिलाहरुको पहुँच बढिरहेको देखिन्छ। ग्रान्ट थर्नटन इन्टरनेशनलले सन् २०२१ मा गरेको एक अनुसन्धानले के देखाउँछ भने विश्वभर नै उच्च व्यवस्थापन तहमा महिलाहरुको पहुँच ३१ प्रतिशत पुगेको छ, जुन हालसम्मकै बढी हो।

उक्त अनुसन्धान प्रतिवेदनअनुसार विश्वभरका ९० प्रतिशत कम्पनीहरुमा कम्तीमा पनि एक महिला उच्च व्यवस्थापकीय भूमिकामा पुगेको देखिन्छ।

उक्त अनुसन्धान अनुसार कोभिडको समयमा पनि व्यापारिक क्षेत्रमा महिलाहरुको भूमिका नेतृत्वदायी, समावेशी र बढी लचकदार देखिएको थियो। उनीहरुले महामारीको समयमा कर्मचारी तथा कामदारको जीवन सहज बनाउन मद्दत गर्नेदेखि रोजगारी र जीवनशैलीका विविध अप्ठ्याराबीच पनि कामप्रति कसरी आकर्षित गराउने भन्ने प्रयास गरिरहेको पाइएको थियो।

अनुसन्धान अनुसार रोजगारी र करियर डेभलपमेन्टका लागि कोभिड महामारीको समय प्रभावित त रह्यो नै तर पनि यो समयमा उनीहरुले पुरानो समयमा देखिने गरेको लैंगिक असन्तुलन तथा विविध अप्ठ्याराहरुलाई चिर्दै उच्चतम दक्षता देखाउन सके।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह तीन दशकदेखि बैंकिङ क्षेत्र हाँकिरहेका छन्। जतिबेला उनले बैंक ज्वाइन गरे औंलामा गन्न सकिने महिलाहरु मात्र यस क्षेत्रमा प्रवेश गर्दै थिए। तिनैमध्येकै थिइन् अनुपमा खुंजेली जसले निजी क्षेत्रको वाणिज्य बैंकमा पहिलो महिला सीइओका रूपमा सफल कार्यकाल पूरा गरेर महिलाहरुको दक्षतालाई पुष्टि गरिन्।

अनिललाई लाग्छ 'को उत्कृष्ट !' भनेर जेन्डरले निर्धारण गर्दैन त्यो त व्यक्तिको सोच, क्षमता र काम गर्नै शैलीले निर्धारण गर्छ। अनुपमा पनि महिला भएकाले पहिलो सीइओ बनाइदिम् न भनेर कसैले त्यो कुर्सीमा लगेर राखिदिएको होइन्। उनी उत्कृष्ट बैंकर भएरै सीइओ भएकी हुन्। प्रतिस्पर्धामा अरुभन्दा उत्कृष्ट भएकैले उच्च तहमा पुगेकी हुन्।

अनिल भन्छन्-'प्रोफेसनल हुँदा महिला र पुरुष दुवैले आफ्ना च्वाइसेस बनाउनुपर्छ। कति कुरामा चेन्ज र स्याक्रिफाइसेस पनि गर्नुपर्छ। तर त्यही च्वाइस पुरुषले बनाउँदा समाजले स्वीकार्छ भने महिलाहरुले उसैगरी च्वाइस बनाउन थाल्दा समाजले रुचाउँदैन। महिलाहरुको क्षमतामा कहिल्यै प्रश्न होइन, प्रश्न समाजको दृष्टिकोणमा छ।'

बैंकर अनिल नेपालकै प्रथम महिला राजदूत वृन्दा शाहका छोरा हुन्। त्यसकारण उनले उच्च तहका महिलाहरुले प्रोफेसनल करियरमा कसरी सन्तुलन मिलाएर अघि बढ्छन् भन्ने कुराको बाल्यकालदेखि नै अनुभव गर्न पाए।

अनिललाई लाग्छ 'को उत्कृष्ट !' भनेर जेन्डरले निर्धारण गर्दैन त्यो त व्यक्तिको सोच, क्षमता र काम गर्नै शैलीले निर्धारण गर्छ। अनुपमा पनि महिला भएकाले पहिलो सीइओ बनाइदिम् न भनेर कसैले त्यो कुर्सीमा लगेर राखिदिएको होइन्। उनी उत्कृष्ट बैंकर भएरै सीइओ भएकी हुन्। प्रतिस्पर्धामा अरुभन्दा उत्कृष्ट भएकैले उच्च तहमा पुगेकी हुन्।

आमाकै कारण महिलाहरुको काम गर्ने शैली र क्षमतालाई अरुले भन्दा गहिरो गरी बुझेको अनिल सुनाउँछन् -'मेरो मुवाले काम सुरु गर्दाको वातावरण निकै फरक थियो। त्यो बेला महिलाले अक्षर चिन्न पाउनु पनि ठूलो अवसर मानिन्थ्यो। करिअर बनाएरै अघि बढ्नु त धेरैका लागि आश्चर्यको कुरा। तर मैले आफूले थाहा पाएदेखि नै मुवाले काम गरिरहेको देखें। त्यो हिसाबले पनि मेरो लागि महिलाहरुले कसरी काम गर्छन् भन्ने जानकारी सतही मात्र भएन।'

अनिलको भनाइलाई सापटी लिने हो भने विश्वभरकै समाजले आज पनि भन्छ- पुरुषको काम 'काम गर्नु' हो अर्थात घर बाहिर जानु कमाएर ल्याउनु वा कुनै एउटा तोकिएको निश्चित कामको जिम्मेवारी बोकेर हिँड्ने हो। तर महिलालाई केवल 'काम गर्ने' वा 'करिअर बनाउने' मात्र छुट छैन। महिलाले त भान्छा, बालबच्चा, घरपरिवारको जिम्मेवारी नबिर्सिइकनै काममा निस्कनुपर्छ। विश्वभरका महिलाको आजपनि 'मल्टि-टास्किङ' रोल नै छ।

खासमा कोभिड महामारीको समयमा महिलाहरुले अझ उत्कृष्ट रुपमा नेतृत्व लिन सक्नुको कारण उनीहरुको यही 'मल्टिटास्किङ' गुण नै हो भन्छन् अनिल शाह। 'महिलाले केवल पुरुषले जस्तो एउटा काममा मात्र तल्लिन भएर नबसेकै कारण र फरक फरक क्षेत्रमा फरक तरिकाले ब्यबस्थापन गरेर अघि बढ्न सकेका कारण त्यही सीपले उनीहरुलाई कोभिड कालमा पनि सघायो। मल्टि-टास्किङ एबिलिटीकै कारण उनीहरुले अप्ठ्यारो समयलाई पनि चौतर्फी ह्याण्डल गर्न सके जुन कुरा नतिजामा देखियो,' उनले भने।

वर्क कोर्समा पछि आएकोले मात्र महिलाहरुको उच्च तहमा पहुँच कम देखिएको हो भन्छन् उनी। आगामी दिनमा वित्तीय क्षेत्रमा मात्र नभई अधिकांश क्षेत्रहरुमा महिलाको नेतृत्वले उत्कृष्ट नतिजा देखाउनेमा अनिल ढुक्क छन्। 

सन् २०२१ मा ग्रान्ट थर्नर्टनले सार्वजनिक गरेको उमन इन बिजनेस रिपोर्टले पनि कोभिडको संकटकालीन अवस्थामा उच्च व्यवस्थापन तहमा रहेका विश्वभरकै महिलाहरुले समावेशी नेतृत्वको नमुना देखाएको उल्लेख गरेको छ। 

सन् २००४ मा विश्वभर उच्च व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रहेका महिलाहरु पुरुषको तुलनामा जम्मा १९ प्रतिशत थियो। बिगत १७ वर्षमा देखिएको सकारात्मक लहरकै कारण सन् २०२१ मा आइपुग्दा यो संख्या बढेर ३१ प्रतिशत पुगिसकेको छ।

महादेश अनुसार हेर्दा अफ्रिका विश्वभरकै 'बेस्ट पर्फर्मिङ रिजन' देखिन्छ। अफ्रिकामा २०१७ मा २९ प्रतिशत देखिएको यो संख्या सन् २०२१ मा ३९ प्रतिशतमा पुगिसकेको थियो।

युरोपियन युनियनमा पनि सन् २०१७ मा ३० प्रतिशत रहेको यो संख्या  सन् २०२१ मा आइपुग्दा अझ सुधार भइ ३४ प्रतिशतमा आइपुगेको छ।

यस्तै दक्षिणपूर्वी एशियाली देशहरु आशियान क्षेत्रमा पनि उच्च व्यवस्थापन तहमा ३८ प्रतिशत महिलाहरु पुगेका छन्।

सन् २०१८ मा यो ३९ प्रतिशत रहेकोमा बीचमा सन् २०१९ मा यो संख्या घटेर २८ प्रतिशतसम्म पुगे पनि हाल यो संख्या बढेर ३८ प्रतिशत पुगेको पछिल्लो तथ्यांकले देखाउँछ।

यस्तै ल्याटिन अमेरिका पनि सन् २०१९ को अवस्थाभन्दा निरन्तर सुधारिएर हाल उच्च तहमा महिलाहरुको उपस्थिति ३६ प्रतिशतमा पुगिसकेको छ। सन् २०१७ मा यो संख्या जम्मा २० प्रतिशत थियो।

उत्तर अमेरिकामा सन् २०१७ मा १० प्रतिशतमात्र रहेको यो संख्या सन्  २०२१ मा आइपुग्दा ३३ प्रतिशत पुगिसकेको छ।

सबैभन्दा कम रहेपनि एसिया प्रशान्त क्षेत्रमा महिलाहरुको उच्च तहमा उपस्थिति बढिरहेको तथ्यांक छ। यस क्षेत्रमा हाल महिलाहरुको उच्च तहमा उपस्थिति ३० प्रतिशत देखिएको छ। एसिया प्रशान्त क्षेत्रमा कम भए पनि महिलाहरुको उच्च तहमा प्रवेश सकारात्मक रूपमा वृद्धि भइरहनु नेपालको कर्पोरेट जगतका लागि पनि उत्साहप्रद नतिजा हो। बिगत १० वर्षमा नेपालको कर्पोरेट तथा बैंकिङ सेक्टरमा पनि महिलाहरुको उच्च तहमा प्रवेश सुखद देखिन्छ।

बिभिन्न कर्पोरेट घराना तथा बैंकका उच्च तहमा महिला नेतृत्वले आफूलाई प्रमाणित गरिसकेका छन् भने नयाँ पुस्ता अझ बढी दक्षताका साथ यस क्षेत्रमा आइरहेका छन्।  

नेपालको बैंकिङ क्षेत्रलाई मात्र हेर्ने हो भने पनि यस क्षेत्रमा महिलाहरुको संख्या निरन्तर बढिरहेको छ। गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालको बैंकिङ क्षेत्रमा कार्यरत पुरुषहरुको संख्या २४ हजार ८ सय २१ रहेको छ भने महिलाहरु १५ हजार ६ सय २५ जना छन्। यस अनुसार बैंकिङ क्षेत्रमा महिलाहरुको उपस्थिति करिब ३९ प्रतिशत रहेको छ। 

नेपाल क्रेडिट एण्ड कमर्स बैंककी नायब प्रमुख कार्यकारी बन्दना पाठक कर्पोरेट सेक्टरमा महिलाहरुप्रति पहिले देखिने गरेको 'डाउट' अब कम हुन थालिसकेको महसुस गर्छिन्। व्यवसायिक जगतले महिलाहरुको उच्च तहको उपस्थितिलाई कन्फिडेन्सका रुपमा लिन थालेको उनको भनाइ छ। उनी भन्छिन् –'देखावटी नहुने र सहयोगी भाव राख्ने महिलाहरु नै माथि जान सक्छन्। तर, भरोसायोग्य बन्ने गरी पर्फर्मेन्स देखाउनुपर्छ। पर्फरमेन्ससँगै कमिटमेन्ट र डेडिकेसन भएमा हरेक महिला रोल मोडल बन्न सक्छन्।'

कतिपय समयमा सोचे अनुसारको नतिजा नआउने पनि हुन्छ। तर, उच्च तहमा रहने महिलाहरुले हतास र निराश बनिहाल्न मिल्दैन। कोभिड महामारीको समयलाई सम्झिँदै बन्दना भन्छिन्- 'हामीले लकडाउनको समय भनेर बन्द गरेनौं। कठिन अवस्थालाई म्यानेज गरेर ब्रान्चहरु खोल्यौं। क्लाइट र स्टाफको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्यौं। हामी नतिजामुखी हुनुपर्छ भन्ने लक्ष्यलाई बिर्सेनौं।'

बन्दनाका अनुसार आफू अन्तर्गतका सबैको केयर गर्ने गुण पुरुषमा भन्दा महिलामा बढी हुन्छ। महिलाहरुमा 'इम्प्याथी' हुन्छ। अरुको पीडापनि उनीहरु सहजै महसुस गर्न सक्छन्। सबैलाई नेतृत्व दिन सक्ने र विश्वासयोग्य रुपमा काम गर्न गराउन सक्ने भएकाले नै पुरुषमात्र होइन अब महिला पनि कर्पोरेट सेक्टरको लिडर हो भन्ने विश्वास बढेको बन्दनाको अनुभव छ।

'जुनसुकै भूमिका पनि कसरी राम्रोसँग निर्वाह गरौं भन्ने नै महिलाको स्वभाव हुन्छ। उनको त्यो प्यासनलाई  प्रोत्साहन मिल्नु भने जरुरी छ। कर्पोरेट सेक्टरमा समाधान गर्नुपर्ने व्यवस्थापकीय अप्ठ्याराहरु त पुरुष महिला दुवैलाई समान नै हो। उनीहरुको दक्षतामा विश्वास मात्र हुनुपर्यो। त्यो वातावरण बनेमा नेतृत्वदायी भूमिकामा धेरै भन्दा धेरै महिलाहरु पक्कै देख्न पाइन्छ।

लामो समय बैंकिङ क्षेत्रमा बिताएकी इक्रा रेटिङ एजेन्सीकी बिजनेस हेड वर्षा श्रेष्ठ महिलाहरु अल्पकालीन फाइदाका लागि नभई दीर्घकालीन प्रगतितर्फ ध्यान दिएर काम गर्ने स्वभावको हुने बताउँछिन्। 

महिलाहरुमा काममा विश्वसनीय तथा इमान्दारपूर्वक लागिपर्ने गुण भएकैले हाल विश्वभर नै उनीहरु उच्च तहमा पुग्ने क्रम बढिरहेको वर्षाको भनाई छ। उनी भन्छिन्-'महिलाहरु कहिल्यै जिम्मेवारीलाई सर्ट-कट गर्दैनन्। आफूलाई दिएको जिम्मेवारी पूरा गर्दा उत्तरदायी बन्छन् र आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने सोच राखेर नै आफूलाई पुस गर्छन्। किनभने उनीहरुलाई थाहा छ परम्परागत समाजमा महिलाहरुलाई कुनै पनि जिम्मेवारी दिँदा शंकाको दृष्टिकोणले हेर्ने चलन चलिआएको छ। सामाजिक संरचनाकै कारण महिलाहरु पुरुष सरह अवसर पाउनबाट बञ्चित पनि छन्। त्यसैले उनीहरु पाएको खण्डमा आफ्नो क्षमता प्रमाणित गर्न लालायित भइरहेका हुन्छन्।'

तुलनात्मक रुपमा हाल महिलाहरुलाई बिभिन्न आरक्षण तथा सुविधाहरु दिएर सरकारी तथा गैरसरकारी स्तरबाट पनि हरेक क्षेत्रमा अघि बढाउन भइरहेका प्रयासको उनी सराहना गर्छिन्।  

'जुनसुकै भूमिका पनि कसरी राम्रोसँग निर्वाह गरौं भन्ने नै महिलाको स्वभाव हुन्छ। उनको त्यो प्यासनलाई  प्रोत्साहन मिल्नु भने जरुरी छ। कर्पोरेट सेक्टरमा समाधान गर्नुपर्ने व्यवस्थापकीय अप्ठ्याराहरु त पुरुष महिला दुवैलाई समान नै हो। उनीहरुको दक्षतामा विश्वास मात्र हुनुपर्यो। त्यो वातावरण बनेमा नेतृत्वदायी भूमिकामा धेरै भन्दा धेरै महिलाहरु पक्कै देख्न पाइन्छ– वर्षा आशावादी छिन्।