
काठमाडौं। तरलता संकटको वर्तमान अवस्थामा समेत व्यवसायलाई फराकिलो आकार दिन सफल सीमित वाणिज्य बैंकहरुमध्ये एनएनबि बैंक पनि हो। प्रतिस्पर्धात्मक क्षमताको कुरा गर्दा नाफा र व्यवसाय विस्तारमा अग्रणी बैंकहरुलाई निकै ठूलो चुनौती एनएमबि बैंक दिने गरेको पाइन्छ।
हालैको तेस्रो त्रैमासको तथ्यांक हेर्ने हो भने पनि सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकहरुको पाँचौ स्थान एनएमबिले ओगटेको देखिन्छ। खुद नाफा पोहोर चैतको तुलनामा ६ प्रतिशत बढेको छ। यसका साथै पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकलाई मूल्यांकन गर्दा प्रत्येक आर्थिक वर्ष बैंकको नाफा र व्यवसायिक वृद्धिले सन्तोषजनक फड्को मारेको छ।
निरन्तर बढेको बैंकको व्यापारले बजार मूल्यलाई पनि वास्तविक मूल्य नजिक राख्न सफल छ। यद्यपि प्रमुख परिसूचकले नै ‘डाउन ट्रेन्ड’ समाएको अवस्थामा एकल कम्पनीप्रति लगानीकर्ताको आकर्षणले कुनै महत्त्व राख्दैन। एक साताको अन्तरालमा बैंकको सेयर बजार मूल्यमा ४ रुपैयाँको वृद्धि देखिएको छ। तथापि उच्चतम मूल्य विन्दुबाट सेयर मूल्य ४३ प्रतिशत घटिसक्यो।
एक वर्ष यताकै न्युनतम मूल्यमा एनएमबिको सेयर किनबेच हुँदैछ। ५२ साताको न्यून विन्दुमा कारोबार हुन पुगेको सेयरले लगानीकर्ताको पर्याप्त आकर्षण बटुल्न कतिको संघर्ष गर्छ त्यो भने हेर्न बाँकी नै छ।
प्रभावशालीको सूचीमा पर्ने एनएमबि बैंक निकै न्यून उतारचढावयुक्त सेयर पनि हो। बैंक एक्लैले बजार पुँजीकरणको झन्डै २ प्रतिशत हिस्सा ओगटेको छ। ‘हाइ क्याप’ भएकै कारण पनि बजारको अप्रत्याशित उतारचढावलाई एनएमबिसहित अन्य वाणिज्य बैंकका सेयरले पनि बहिस्कार गर्ने गरेका छन्। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य २९३ रुपैयाँका आधारमा बैंकको कुल बजार पुँजीकरण ५३ अर्ब ८१ करोड ४४ लाख रुपैयाँ अधिक छ।
यस्तै, मासिक बेटा भ्यालु एकभन्दा कम भएको एनएमबि बैंकसमेत हो। यस्ता कम्पनी पोर्टफोलियोमा समावेश गर्दा अधिकांश पोर्टफोलियोकै भोलाटीलिटीलाई कम गर्न सकिन्छ। यस्ता सेयर बिनाको समान पोर्टफोलियोको जोखिम भार पनि अत्यधिक हुने गर्छ।
बैंकले लगानीकर्तालाई लगानीको सुरक्षासहित प्रतिफलको सुनिश्चितता पनि प्रदान गरेको छ। पाँच प्रतिशत अधिक ‘डिभिडेण्ड यिल्ड’ भएका वाणिज्य बैंक अन्तर्गत एनएमबि बैंक समावेश छ। तेस्रो त्रैसामको वित्तीय प्रतिवेदनले बैंकको ‘डिभिडेण्ड यिल्ड’ ८.७५ प्रतिशत छ। यस्तै, वाणिज्य बैंकहरुको औसतभन्दा दुई गुणा पुजीगत प्रतिफल एनएमबिको छ। पछिल्लो तथ्यांक अनुसार बैंकको पुँजीगत प्रतिफल(आरओइ) १४.२० प्रतिशत रहेको देखाउँछ।
पेग रेसियोलाई पनि यदि आधार मानिन्छ भने वास्तविक मूल्य भन्दा सेयर मूल्य कम भएको सेयरमध्ये एनएमबि पनि पर्छ। ०.५२ प्रतिशत पेग भएको यस बैंक अण्डरभ्यालुड स्टकमध्ये हो।
आम्दानीको स्रोतमा उल्लेख्य सुधारले बढायो तेस्रो त्रैमासमा नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतको वृद्धि हो। गत पोहोर चैतसम्ममा बैंकले २ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको थियो।
निक्षेप संकलनसँगै बढेको ऋण बिस्तार र कर्जा प्रवाहसँगै बढेको ब्याज र कमिसन आम्दानीले बैंकको नाफामा उल्लेख्य मद्दत पुर्यायो।
तेस्रो त्रैमाससम बैंकसँग ग्राहकहरुबाट उठाएको १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ निक्षेप छ। सो अनुरुप बैंकले यस अवधिमा १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा बिस्तार पनि गरेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससँग तुलना गरी हेर्दा निक्षेप संकलन १९ प्रतिशत अधिक बढेको छ भने ऋण प्रवाहमा २० प्रतिशतको वृद्धि देखिन्छ।
परिणामस्वरुप बैंकका आय स्रोतमा उत्साहजनक सुधार देखिएको छ। बैंकको खुद ब्याज आम्दानी एक आर्थिक वर्षको अवधिमा ४१ प्रतिशत बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ३९ प्रतिशत वृद्धि भएको छ। बैंकको सीडी रेसियो भने ८७.५३ प्रतिशत छ। निष्क्रिय कर्जामा पनि सुधार आएको छ।
चैत अन्तिमसम्ममा बैंकले एक अर्ब ३९ करोड रुपैयाँ खुब ब्याज आम्दानी आर्जन गरेको छ। पोहोर चैतमा बैंकको खुद ब्याज आम्दानी ९८ करोड ८८ लाख रुपैयाँमा सीमित थियो। यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१ करोड १४ लाख रुपैयाँमा सीमित खुद फी तथा कमिसन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा १ अर्ब २६ करोड रुपैयाँ अधिक छ।
आम्दानीका स्रोतसँगै बैंकको खर्च पनि बढेका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले कर्मचारी तलब भत्तामा १ अर्ब ९३ करोड रुपैयाँ खर्च गरिसकेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो शीर्षकको खर्च २० प्रतिशत अधिक बढेको हो।
त्यसैगरी, बैंकको सञ्चालन खर्च पनि यस पटक १३ प्रतिशत अधिक बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ६२ करोड रुपैयाँमा सीमित सञ्चलन खर्च यस आर्थिक वर्षको सोही अवधिमा ७० करोड २७ लाख रुपैयाँभन्दा बढी छ।
खर्चका शीर्षकमा उल्लेख्य रकम छुट्याए पनि बैंकले सञ्चालन मुनाफा भने ५ प्रतिशत जति बढायो। चालु आर्थिक वर्षको चैतसम्म आइपुग्दा नाफाको आकार ३ अर्ब ७८ करोड रुपैयाँ अधिक छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ३२ करोड रुपैयाँ छ। यस रकमलाई वार्षिकीकरण गर्दा बैंकले चालु आर्थिक वर्षका लागि बैंकले करिब १० प्रतिशत लाभांश दिने क्षमता राख्छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा बैंकको वितरणयोग्य मुनाफा भने झन्डै ४२ प्रतिशत घटेको पाइयो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। एक आर्थिक वर्षको अवधिमा प्रति कित्ता १.२९ रुपैयाँ प्रति सेयर आम्दानी घटेको छ। यस्तो आम्दानी हाल १९.३५ प्रतिशतमा सीमित भएको पाइन्छ।
चुक्ता पुँजीको बढ्दो आकारको तुलनामा खुद नाफा बढ्न नसक्दा प्रति सेयर आम्दानी घटेको हो। हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ थियो।
चालु आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४२.२१ रुपैयाँ पुगेको छ। र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य २९३ रुपैयाँका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १५.१४ गुणा छ।

त्रैमासिक विवरण र लाभांश घोषणापछि बारम्बार घट्छ मूल्य
बढ्दो माग र आकर्षणको सहायतामा एनएमबि बैंकको सेयर मूल्यले ५१७ रुपैयाँसम्मको यात्रा तय गरेको थियो। प्रमुख परिसूचकसहित उपसूचकको निरन्तर बढ्दो लयले पनि बैंकको सेयर मूल्यलाई सो उचाइमा पुर्याउन मद्दत गर्यो।
यद्यपि वास्तविक मूल्यभन्दा धेरै पर सेयर मूल्य भाग्न सक्दैन। एउटा विन्दुमा गएर लगानीकर्ताको आकर्षण कम्पनी प्रति ओभरभ्याल्युड हुन पुग्छ नै। पर्याप्त नाफा सञ्चित गर्न सफल लगानीकर्ताले आफ्नो पुँजीसहित लाभ सुरक्षा गर्न नाफा बुकिङको रणनीति अपनाउनुपर्ने नै हुन्छ। सोही रणनीतिको परिणाम ५१७ रुपैयाँ पश्चात बिक्रेताको भारी संख्या एनएनबी बैंकको सेयरमा पनि हाबी हुने पुगेको थियो।
५१७ रुपैयाँको बलियो अवरोध निर्माण गर्दै ओर्लिएको सेयर मूल्यले ४०० रुपैयाँमा पहिलो टेवा पाएको प्राविधिक चार्टले देखाउछ। सो समय ४०० रुपैयाँमा किन्न आतुर खरिदकर्ताको बाहुल्यताले मूल्यलाई ४५० रुपैयाँसम्म भने पुर्याएको हो। यद्यपि तीन कारोबार दिनमै हासिल गरेको ५० रुपैयाँको नाफा ट्रेडरहरुले बुक गर्न कुनै खासै समय खर्च गरेनन्। पुनः मूल्यले ४५० रुपैयाँको नयाँ अवरोध निर्माण गरी घट्ने क्रमलाई निरन्तरता दिन पुगेको थियो।
उक्त गिरावट पश्चात लाभांश र पहिलो त्रैमासको वित्तीय विवरणको सिजन चल्दा मूल्यले ३५० रुपैयाँमै खरिदकर्ताको आकर्षण बटुल्यो। धमाधम चालु आर्थिक वर्षको वित्तीय प्रतिवेदन र लाभांश कम्पनीहरुले घोषणा गर्ने समय थियो। उक्त समय हल्ला र चर्चाले ३८५ रुपैयाँको टेवा विन्दुमा केही शक्ति सञ्चित गरेको मूल्यले ४२७ रुपैयाँसम्मको उचाइ हासिल गर्न पुग्यो।
सो समय बैंकले गत आर्थिक वर्षका लागि १२.५० प्रतिशत बोनस र ३.३० लाभांश घोषणा गर्यो। लगत्तै गत असोजको तुलनामा ४२ प्रतिशत अधिक खुद नाफा बढाएको प्रतिवेदन बैंकले सार्वजनिक गरेको थियो।
तर, फाइदा धेरै आउने हल्लैहल्लाका बीच सेयर खरिद गरेका खेलाडीहरुले सूचना सार्वजनिक भए लगत्तै आफनो पोजिसन ‘स्क्वायर अफ’ गरे। केही दिन ४१० रुपैयाँमाथि नै मूल्य रहे तापनि ‘सप्लाई प्रेसर’ले मूल्यलाई ओरालो दिशातर्फ नै धकेल्यो। प्रत्येक कारोबारमा घटेको एनएमबि बैंकको सेयर मूल्यले बुक क्लोज मिति तय भएलगत्तै ३५० रुपैयाँ नजिक टेवा लिन पुगेको थियो।
प्रतिफलको अपेक्षामा खरिदकर्ताको ठूलो भीड एनएमबिको सेयरमा देखियो। बुक क्लोजभन्दा अघिल्लो मितिमा बैंकको सेयर ३७८.४० रुपैयाँमा अन्तिम कारोबार भयो। उक्त मूल्यलाई प्रस्ताव गरेको साढे १२ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले समायोजन गर्यो। नतिजास्वरूप मूल्य एकाएक ३३६.३६ रुपैयाँमा ओर्लियो।
समायोजित मूल्यमा केहीबेर आकर्षण देखिनु स्वाभाविक हो। सोही कारण समायोजनपछि सेयर मूल्यले झन्डै ३९० रुपैयाँसम्मको यात्रा तय गर्यो। केही समय सकारात्मक देखिएको नेप्से इन्डेक्सले पनि मूल्यमा उक्त आकर्षण पैदा भएको हो। त्यतिबेला उच्चतम विन्दुबाट ३० प्रतिशत अधिक घटेर २२६० सम्म ओर्लिएको परिसूचकले ‘बाउन्स ब्याक’ लिँदा अधिकांश सेयरमा बिक्रीको माहोल सिर्जना भएको थियो।
यद्यपि, यस अघिक गिरावटमा टेवा बनेको ४०० रुपैयाँको विन्दु ३३६ रुपैयाँबाट उठेको एनएमबिको सेयरका लागि अब भने अवरोधमा परिवर्तन भएको थियो। अवरोध नजिकिए लगत्तै सृजना भएको सेयर सप्लाईले मूल्यलाई पुनः ओरालो दिशातर्फ नै धकेल्यो।
३९० रुपैयाँसम्मको चढावपछि निरन्तर घटिरहेको सेयर मूल्यले ३०० रुपैयाँ नजिक टेवा पाएको देखिन्छ। एक वर्षको सबैभन्दा न्युनतम मूल्य पनि सोही हाराहारी छ। हाल सेयर २९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ३०० देखि २८० रुपैयाँको क्षेत्रमा मूल्यले पर्याप्त खरिदकर्ताको आकर्षण संकलन गर्ने सम्भावना छ।
उक्त ‘डिमाण्ड जोन’मा मूल्यले आवश्यक शक्ति सञ्चित गर्न सकेको अवस्थामा केही समय सकारात्मक लय लिने देखिन्छ। यद्यपि अवरोध विन्दुहरु नजिकै छन्। ३०० देखि २८० रुपैयाँको मूल्य क्षेत्रमा सेयरको पर्याप्त ‘एक्युमुलेसन’ हुन जरूरी छ। विपरीत प्रदर्शनी देखाउँदै ‘डिमाण्ड जोन’ भन्दा पनि मूल्यले क्लोजिङ दिन थालेको अवस्थामा भने थप नकारात्मक प्रस्तुति मूल्यमा देखिनेछ। मूल्यले तल्लो मूल्य रेखामा आफ्नो ‘मेजर सपोर्ट’ खोज्न जानेछ।
यस कारण मूल्यसँगै अधिकांश बजारको लय हेर्न आवश्यक छ। परिसूचकको निरन्तर ओरालोलाई एउटा कम्पनीको मागले मात्र सम्हाल्न सक्दैन। कायम तरलता अभाव र बिग्रिदा अर्थतन्त्रका समष्टिगत सूचकांकमा पनि सुधार आवश्यक छ। तर चुनावी माहोलले प्रणालीमा पैसा भित्र्याउने विश्लेषण जानकारहरु गर्छन्। आयातमा कडाइ गर्दा रकम पुँजी बजारतर्फ केन्द्रित हुने सम्भावना पनि छ।
अब कम्पनीप्रति लगानीकर्ताको माग, नजिकिएका अवरोध र बजारको वर्तमान ट्रेन्ड हेरी लगानीको रणनीति तयार पार्नु पर्नेछ। ‘स्ट्रिक्ट स्टप लस,’ ‘टार्गेट’ र ‘रिस्क रिवार्ड रेसियो’को पर्याप्त मूल्यांकनपछि लगानीको निर्णय लिनु उत्तम विकल्प हुनेछ।


