
काठमाडौं। गैरकानूनी क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ तथा वान एक्स बेट जस्ता अवैध अनलाइन जुवा साइटहरुमा आफ्नो नाम जोडिएर विज्ञापन सामाजिक सञ्जालमा आएपछि आइएमई पेले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
आइएमई पेले क्रिप्टोकरेन्सीदेखि अनलाइन जुवालगायत अवैधानिक गतिविधि गर्ने गराउनेसँग कुनै पनि सहकार्य नरहेको स्पष्ट पारेको छ।
गैरकानूनी गतिविधिमा संलग्न खाताहरुलाई बन्द गरिने चेतावनी समेत आइएमई पेले दिएको छ। कम्पनीको कानुन तथा अनुपालना विभागले सूचना जारी गर्दै आगामी दिनमा यस्ता गैरकानूनी गतिविधिमाथि थप कडाइ साथ अनुगमन तथा निरीक्षण गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाउने जनाएको छ।
आइएमई समूहका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा आइएमई पे क्रिप्टोकरेन्सीमा जोडिएको भन्दै आएको विज्ञापनमा आफूहरुको कुनै संलग्नता नरहेको बताएका छन्। उक्त घटनाबारे आफूहरुले राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको उनले बताए।
यसअघि खल्ती, इसेवा लगायतका अन्य वालेट संचालक कम्पनी र केही बैंकहरुको समेत क्रिप्टो र अनलाइन जुवाका स्पोन्सर्ड विज्ञापनहरुमा भुक्तानी गेटवेका रुपमा नाम राखेर आएको थियो, जसको यस्ता नेपाली भुक्तानी सेवा प्रदायकहरुले खण्डन गरिसकेका छन्। औपचारिक रुपमा सेवा प्रदायकहरु यसमा जोडिएका हुँदैनन्। तर उनीहरुको जानकारीमा नआइकन नै खातावालाहरु वा मर्चेन्टमार्फत त्यसरी भुक्तानी माध्यमका रुपमा विद्युतीय भुक्तानी कम्पनीहरुको नाम उल्लेख गर्ने गरेको पाइएको छ।
त्यसैप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आइएमई पेले बिहीबार गैरकानूनी गतिविधिमा संलग्न खाताहरुलाई बन्द गर्ने चेतावनीसहित त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने भन्दै सूचना जारी गरेको हो।