गुल्मी अस्पतालको स्वास्थ्य सूचना प्रणाली थप सुदृढ, बीमा दाबीदेखि अपोइन्टमेन्ट सबै डिजिटल



२०७९ जेठ १९ गते १२:३४ | Jun 2, 2022


गुल्मी अस्पतालको स्वास्थ्य सूचना प्रणाली थप सुदृढ, बीमा दाबीदेखि अपोइन्टमेन्ट सबै डिजिटल



काठमाडौं। जिल्ला अस्पताल गुल्मीले स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ। अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेबमा आधारित प्रणालीमा स्तरवृद्धि गरी बिरामीहरुको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। यसले बिरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुने बताइएको छ। 

Tata
Global Ime

स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु पनि कार्यान्वयन गरिएको छ। 
स्वास्थ्य बीमा बोर्डबाट प्रवर्द्धित स्वास्थ्य बीमामा आबद्व बिरामीहरुको इलिजिबिलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्न र बीमा दाबी पनि इएमआर सफ्टवेयर मार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको कोजेन्ट हेल्थ प्रालिले जनाएको छ। 

बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सूचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने गरी प्रणाली विकास गरिएको छ। यसले समयको बचत हुनुका साथै बिगतमा जस्तो तोकिएको समय सीमा भित्र बीमा दाबी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुने कम्पनीले जनाएको छ।  

त्यसैगरी, डिएचआइएस–२ इन्टिग्रेसनले अब अस्पताल सूचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्मसँग जोडिएको कम्पनीले जनाएको छ। अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सूचना प्रणाली मार्फत डिएचआइएस–२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरु पठाउन पनि सकिने भएको छ। विगतमा जस्तो प्रत्येक शाखाबाट डेटा संकलन गरी डिएचआइएस –२ प्लेटफर्ममा म्यानुअल डेटा इन्ट्रि गर्नुपर्ने झन्झट अन्त्य भएको कम्पनीले जनाएको छ। 

अस्पतालले बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ। यसमार्फत बिरामीहरुले अस्पतालमा कार्यरत आफुले चाहेको डाक्टरसँग मोबाइल वालेट मार्फत् घरमै बसि अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भुक्तानी गर्न सक्ने बताइएको छ।

साथसाथै बिरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसि अनलाइनमार्फत् हेर्न सक्नेछन्। यी सेवाहरु गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्यूट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयर सेवा प्रदान गरिरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा संचालनमा आएको हो। 

कोजेन्ट हेल्थ प्रा.लि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।

कोजेन्ट हेल्थद्वारा निर्मित कोजेन्ट इएमआर, कोजेन्ट इएमआर वेबलगायत इ–अपोइन्टमेन्ट जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।