
काठमाडौं। चिनियाँ स्मार्टफोन उत्पादक भिभोको आधिकारिक वितरक एपेक्स मनोकामना प्रालिले २०२१ मा एक अर्ब २९ करोड ५० लाख रुपैयाँको मोबाइल फोनको व्यापार गरेको छ। कम्पनीले ८७ हजार ९७१ थान फोन बिक्रीबाट यो रकम बराबरको व्यापार एक वर्षमा गरेको हो।
अघिल्लो वर्षको २०२० को तुलनामा कम्पनीको कारोबार २०२१ मा १३ प्रतिशतले उकालो लागेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।
२०२० मा कम्पनीले ७६ हजार ६८६ थान फोन बिक्री गरेको थियो। साविकको बागमती, नारायणी र जनकपुर अञ्चलका लागि भिभोको आधिकारिक वितरक एपेक्स मनोकामना हो।
कम्पनीले २०२० मा एक अर्ब १४ करोड ९० लाख रुपैयाँ र २०१९ मा ८९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो। बागमती, नारायणी र जनकपुरले देशभरको ५७ प्रतिशत बजार ओगट्ने केयर रेटिङ्स नेपालले रेटिङ विवरणमा उल्लेख गरेको छ।
कम्पनीले जनवरी २०२२ सम्म २२ डिलरको नेटवर्क तयार गरिसकेको बताइएको छ। सरकारले ६ सय अमेरिकी डलरभन्दा माथिको फोन आयातमा प्रतिबन्ध लगाएपनि भिभोलाई भने खासै असर नपर्ने बताइएको छ। कम्पनीले ६ सय डलरभन्दा कम मूल्यकै स्मार्टफोन बिक्री गर्ने भएकाले प्रतिबन्धले असर नपर्ने कम्पनीले जनाएको छ।
कम्पनीले ७३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट ए फोर प्लस रेटिङ पाएको छ।
कम्पनीको अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिना हुन् भने उपाध्यक्ष सुधीर प्रसाद तिमिल्सिना हुन्। मुकुन्द युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको निर्देशकसमेत हुन्। सुधीर शुभश्री अग्नी सिमेन्टको निर्देशक छन्।