२५ वर्षका सबिलको मर्मत सेवा अर्बान्स नेपालमा ६ सयलाई रोजगारी, अष्ट्रेलियामा शाखा खुल्दै



२०७९ जेठ २५ गते १४:०० | Jun 8, 2022


२५ वर्षका सबिलको मर्मत सेवा अर्बान्स नेपालमा ६ सयलाई रोजगारी, अष्ट्रेलियामा शाखा खुल्दै


काठमाडौं। वीरगंजमा जन्मिएका सबिल खान सानै हुँदा आफ्नो आमा र दाजुसँग काठमाडौं आए। उनका बुवा काठमाडौंमा फलफूलको व्यवसाय गर्थे। काठमाडौंमा नै बाल्यकाल बिताएका सबिलले बुद्धनगरस्थित रोजबड स्कुलबाट एसएलसी सकेपछि ब्रिटिस कलेजमा 'ए लेभल' पढ्दै थिए।

Tata
Global Ime

पढाइ सँगसँगै उनले त्यहाँ मोडल युनाइटेड नेसन्सको इभेन्टहरू पनि सञ्चालन गर्थे। सोही क्रममा उनले अमेरिकामा हाईस्कूल पढ्ने मौका पाए। नेपालमा नै केही गर्ने दृढ संकल्प गरेका सबिल हाईस्कूल पढिसकेपछि सन् २०१५ मा  फेरि देश फर्किए।

अमेरिकाको बसाईपछि नेपाल फर्किएर केही वर्ष उनी आफ्नो उच्च शिक्षा र युवा लक्षित इभेन्टहरू गर्नमै व्यस्त भए। त्यही व्यस्तताकै बीच दुई वर्षअघि सबिलको घरमा भएको एउटा घटनाले अर्बान्स नेपालको जन्म भयो। अर्बान्स नेपाल कुनै पनि घर, कार्यलयभित्र आवश्यक पर्ने मर्मत सम्भार साथै सेनिटाइजेसन लगायतका सेवाहरू व्यवस्थित तरिकाबाट प्रदान गर्ने एउटा अनलाइन प्लाटफर्म हो।

घरको समस्या समाधान खोज्दा जन्मेको व्यवसाय

सबिल करिब दुई वर्ष अगाडिको त्यो घटना सम्झन्छन्, 'त्यो दिन बिहान उठ्दा हाम्रो घरको ट्वाइलेट जाम भएको थियो। नजिकैको प्लम्बर बोलाउन जाँदा उहाँ आउन चार घण्टा बढी समय लगाई दिनुभयो। उहाँले आएर पाइप मर्मत गरेपछि पैसा चाहिँ तीन हजार रुपैयाँ माग्नुभयो। न उहाँले जाम हुनुमा मुख्य समस्या के थियो भन्ने जानकारी गराउनु भयो न मर्मत गर्नु अघि अनुमानित खर्च नै बताउनु भयो।'

काम गर्ने शैली र तिरेको पैसा दुवै नै चित्ता नबुझेपछि उनले यसको बारेमा रिसर्च गर्न थाले। अमेरिकामा केही समय बिताएका सबिललाई अमेरिकामा नै भएको जस्तो ह्यान्डीम्यान सेवाहरू प्रदान गर्ने कम्पनीहरू नेपालमा छन् कि छैनन् भन्ने कुराहरू अध्ययन गर्न थाले। र साथै उनले आफ्नो साथीभाईहरु र छिमेकीहरूसँग पनि आफूले भोगेको जस्तै समस्या छ कि छैन भनेर बुझ्न थाले।

सबिल भन्छन्, 'कम्पनीहरूको अध्ययन गर्दा मैले त्यस्ता सेवाहरू प्रदान गर्ने कम्पनीहरू निकै कम भएको पाए। र जति पनि कम्पनी थिए, उनीहरू प्रोफेसनल नभएको पाए। साथीभाईहरु र छिमेकीहरूसँग बुझ्दा पनि उहाँहरूको घर अफिसमा समस्या नै समस्या थियो र उनीहरू मर्मतका लागि जति पनि पैसा तिर्न तयार थिए।'

विदेश आउँदा जाँदा वैदेशिक रोजगारमा जानेको लर्को र पीडा देखेका उनले स्वदेशमा नै राम्रो रोजगार सृजना गर्ने सपना पनि बोकेका थिए। एपेक्स कलेजमा बीबीए अध्ययनरत सबिलले आफ्नो रोजगार सृजना गर्ने चाहना साथै मर्मतसम्भार लगायतका घर कार्यालय आवश्यक परिरहने सेवालाई व्यवस्थित र व्यवसायिक रूपमा अघि बढाउने सोचसहित सन् २०१९ को डिसेम्बर २८ मा एपमार्फत अर्बान्स नेपाल लन्च गरे।

सबिलका अनुसार उनले ५० लाख रुपैयाँको लगानीमा अर्बान्स नेपाल स्थापना गरेका हुन्। यसका लागि उनी दक्ष कामदारहरू खोज्दै सीटीइभीटीको कार्यालयमा पनि पुगे। सबिल सम्झन्छन्, 'मैले त्यहाँ तैलेन्द्र आचार्य सरसँग भेटेर आफूले गर्न खोजेको सबै कुराहरू बताएँ र लेबल ३ पास गरेका तालिम प्राप्त कामदारहरु जो वैदेशिक रोजगारीमा जान चाहँदैनन् र काठमाडौंलाई नै कर्मथलो बनाउन चाहन्छन् १० जना जतिको लिस्ट मागें। वहाँले खुसी भएर मलाई एक वर्षको लागि एक लाख जना युवाको लिस्ट दिनु भयो।'

सबिलका अनुसार उनले पहिला प्राप्त लिस्टबाट एक हजार जनालाई सम्पर्क गरे र त्यसमध्ये जम्मा १० जना मात्रै उनीसँग जोडिए। थप सम्पर्क गर्दै जाँदा उनले जम्मा २५ सय कामदारले उनीसँग काम गर्ने इच्छा देखाए। 'नयाँ भएकोले होला धेरैले हामीलाई पत्याएनन्। तर हामीसँग जोडिएका तीनजना कामदारहरूसँग कुरा गरेपछि बल्ल उनीहरुको विश्वास हामीमाथि बढ्यो।'- सबिल बताउँछन्।

संघर्षहरूलाई पन्छाउँदै सफलताको बाटोमा

सुरुवातमा ९ जनाको आइटी टिम र चार जनाको व्यवस्थापन टिम रहेको अर्बान्स नेपालमा हाल ६ सयभन्दा बढी जनशक्ति आबद्ध छ। इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्ट्री सेवाबाट सुरु गरेको अर्बान्स नेपालले लकडाउन भएलगत्तै डिसइन्फेक्सनको समयानुकूल सेवा सुरु गरे र बजारमा राम्रो पकड बनाए।

'हामीले रातभर बसेर सात सयवटा कम्पनीलाई मेल लेख्यौं, तीन सयभन्दा बढी कम्पनीहरुलाई फोन गर्‍यौं। त्यसमध्ये जम्मा १२ कम्पनीहरूले हामीलाई काम दिनु भयो,' सबिल संघर्षका दिनहरू सम्झन्छन्। कोरोना महामारीको बेलामा अर्बान्स नेपालले १२ वटा विद्यालय, बैंक, घर, हस्पिटल, प्रधानमन्त्री निवासका साथै सिंहदरबार लगायतका विभिन्न सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा कार्यालय लगायतका क्षेत्रमा डिसइन्फेक्सनको सेवा प्रदान गरेको सबिलले जानकारी दिए।

डिसइन्फेक्सनको सेवा ल्याएपछि नै सबिलको व्यवसाय 'बुम' भएको हो। त्यसपछि नै अर्बान्स नेपालले बजारमा राम्रो पहिचान बनाउन सफल भयो।

'त्यसबेला हामीसँग राम्रो पुँजी पनि जम्मा भइसकेको थियो। त्यसैले हामीले सीएसआर अन्तर्गत नेपाल संस्थासँगको सहकार्यमा एक सय जति स्थानमा नि:शुल्क डिसइनफेक्ट पनि गर्‍यौं,' उनले सुनाए।

अर्बान्स नेपालले पनि पठाओ जस्तै कमिसन मोडलमा काम गरिरहेको सबिलले जानकारी दिए।

उनका अनुसार सेवा दिने जनशक्तिलाई उनीहरुले सेवा लिने उपभोक्ताहरुसँग कनेक्ट गराइदिन्छन्, जसबापत कम्पनीले २० प्रतिशत कमिसन लिने गर्छ।

तर सुरुवातमा यो मोडल कामदारहरूलाई बुझाउन पनि निकै गाह्रो परेको सबिलको अनुभव छ। उनी भन्छन्, 'धेरै कामदारहरु निश्चित तलब लिएर एक ठाउँमा काम गर्न चाहनुहुन्छ। तर यो अवधारणा अनुसार वहाँहरुले अन्य धेरै स्थानमा पनि काम गर्न सक्नुहुन्छ। बिस्तारै उहाँहरूले हाम्रो कामको मोडलका बारेमा बुझ्नु भयो  र अहिले ६ सयभन्दा बढी प्रोफेसनल्स हामीसँग आबद्ध हुनुहुन्छ।'

कामदारहरूलाई कामसँगै ग्रुमिङका लागि पनि कम्पनीले महिनामा दुई पटक तालिम पनि दिने गरेको सबिल बताउँछन् । साथै अर्बान्स नेपालको टि-सर्ट र ढाका टोपी पनि दिने गरेको छ। कामदारहरूको कामको सम्मानका लागि अर्बान्स नेपालले अभियान पनि चलाएको सबिलको भनाइ छ।

अर्बान्स नेपालबाट नै सबिलले नेपाल युवा उद्यमी फोरमको स्टार्टअप अवार्ड साथै अमेरिकामा गुड आइडिया अवार्ड र ग्लोबल स्टुडेन्ट उद्यमशीलता अवार्ड पनि हात परिसकेका छन्। यसले उनलाई काम गर्न थप ऊर्जा मिलेको सबिल बताउँछन्।

वार्षिक करिब ८० लाखको कारोबार गर्दै

सेवाग्राहीले अर्बान्स नेपालको एपमार्फत वा फेसबुक पेज, इन्स्टाग्रामबाट सेवा लिन सक्छन्। इलेक्ट्रिकल, प्लम्बिङ, कार्पेन्ट्री, डिसइन्फेक्सनको सेवासँगै यस कम्पनीले सैलुन एट होम, पेष्ट कन्ट्रोल, अप्लायन्स एण्ड इलेक्ट्रोनिक रिपेयर्स, इन्टेरियर डिजाइनको पनि सेवा दिइरहेको छ। काठमाडौंलगायत पोखरा, चितवन, नेपालगंज, बुटवल, बर्दिबास जस्ता ठाउँहरूमा पनि सेवा उपलब्ध गरिसकेको छ।

कम्पनीले सामान्य समस्याको समाधानका लागि पाँच सय रुपैयाँदेखि १७ लाखसम्मको वार्षिक मर्मत सम्झौताका प्याकेजहरु प्रदान गर्दै आएको छ। सबिलका अनुसार उनीहरुको ७० प्रतिशत कारोबार बिजनेस हाउस र संस्थाहरूसँग हुने गर्छ।

अर्बान्स नेपालले सेवाग्राहीको समस्याको विवरण अनुसार अगाडि नै मर्मत सम्बन्धी आवश्यक जानकारीहरु र अनुमानित खर्च उपलब्ध गराउनुका साथै ग्राहकको समय अनुसार तत्काल सेवा प्रदान गर्दै आएको सबिल बताउँछन्।

उनका अनुसार हाल अर्बान्स नेपालले वार्षिक करिब ८० लाखको कारोबार गर्दै आएको छ। अन्य धेरै किसिमका सेवाहरु जस्तै वेडिङ प्लानर थप गरेर सन् २०२३ सम्ममा अर्बान्स नेपाल अष्ट्रेलियामा पनि लन्च गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

जम्मा २५ वर्षका सबिलको अर्बान्स नेपाल दोस्रो व्यवसाय हो। यो भन्दा अघि उनले साढे दुई करोड लगानी गरेर कुमारीपाटीमा केकेएफसी रेष्टुरेन्ट खोलेका थिए। अहिले अटोपाइलट मोडेलमा चलिरहेको रेष्टुरेन्टमा उनी कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । र आठ महिना अघि मात्रै सबिलले आश्रय बरालसँग मिलेर बालकुमारीस्थित टीभीएस टू ह्वीलरको डिलरशीप पनि सञ्चालनमा ल्याएका छन् । तीनवटा व्यवसाय एकसाथ सम्हालिरहेका सबिलले हाल सात सयभन्दा धेरैलाई रोजगारी दिइरहेका छन्।

उनी भन्छन्-'युवाहरुले केवल सरकारको मुख मात्र ताक्ने वा केही अवसर पाइन्छ कि भनेर रुँगेर मात्र बस्ने होइन। हामी आफैंले पनि के गर्न सकिन्छ भनेर अग्रसर हुनुपर्छ। हामीमा आफू मेहनत नगर्ने र जे कुरामा पनि सरकारलाई मात्र दोष थोपरिरहने प्रवृत्ति देखिन्छ। तर लगातार मेहनत गर्दै जाँदा सफलताका बाटाहरु आफैं खुल्दै जान्छन्।'